कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङमाथि सीआईबीको अनुसन्धान

भाद्र २९, २०८१
सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङमाथि सीआईबीको अनुसन्धान

Highlights

  • गुरुङमाथि अनुसन्धान नगरेकामा प्रहरीको आलोचना हुँदै आएको थियो, सीआईबीबाट ललितपुर महानगरपालिका र वाग्मती प्रदेशको सहकारी मन्त्रालयसँग समन्वय गरेर शुक्रबारबाट अनुसन्धान सुरु
  • कांग्रेस उपसभापति गुरुङकी पूर्वपत्नी ज्योति गुरुङसहितका व्यक्ति मिलेर सहकारीको १४ करोड रुपैयाँ ठगी गरेको आरोपमा सोही सहकारीका सञ्चालकहरूले सीआईबीमा जाहेरी दिएका थिए

काठमाडौँ — ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत ठगी प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङमाथि अनुसन्धान अघि बढाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त सहकारीका सञ्चालक बोधविक्रम थापाका तर्फबाट परेको जाहेरी दर्ता गर्दै ठगी प्रकरणमा जोडिएका गुरुङ, उनकी पूर्वपत्नी ज्योति गुरुङ र सहकारीका सञ्चालक तथा कर्मचारीविरुद्ध अनुसन्धान अघि बढाएको जनाएको छ ।

सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङसँग कांग्रेस नेता धनराजले २०७६ मै सम्बन्धविच्छेद गरेको भन्दै आफ्नो संलग्नता इन्कार गर्दै आएका छन् । ज्योति गुरुङ, ठगीमा संलग्न अर्का आरोपित ज्योतिबहादुर भण्डारीसहितका व्यक्ति भने हाल फरार छन् । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले सहकारीका सञ्चालकबाट परेको जाहेरी, वाग्मती प्रदेश सरकार र ललितपुर महानगरपालिकासँग समन्वय गरेर ठगी प्रकरणमा अनुसन्धान थालिएको बताए ।

कांग्रेस उपसभापति गुरुङकी पूर्वपत्नी ज्योति गुरुङसहितका व्यक्ति मिलेर सहकारीको १४ करोड रुपैयाँ ठगी गरेको आरोपमा सोही सहकारीका सञ्चालक थापाले सीआईबीमा जाहेरी दिएका थिए । सहकारी ठगीसम्बन्धी व्यक्तिगत रूपमा आएका जाहेरी दर्ता नहुने भन्दै सीआईबीले सम्बन्धित स्थानीय तह, प्रदेश सरकार वा संघ मातहतको सहकारी, सरकारी, संसदीय छानबिन अध्ययन प्रतिवेदनका आधारमा मात्रै अनुसन्धान गर्न सकिने जनाएको थियो ।

सर्वसाधारणको बचत अपचलनको विषयमा अनुसन्धान नगरेकामा प्रहरीको पनि आलोचना हुँदै आएको थियो । तर, सीआईबीले ठगीसम्बन्धी प्रारम्भिक अध्ययनपछि ललितपुर महानगरपालिका र वाग्मती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयसँग समन्वय गरेर शुक्रबारबाट यो प्रकरणमा औपचारिक रूपमा अनुसन्धान सुरु गरेको हो ।

सीआईबी प्रवक्ता एसपी बोगटीले जाहेरीमाथि प्रारम्भिक अध्ययन गर्दा सहकारीको रकम अपचलन भएको र यसमा सहकारीका सञ्चालक र कर्मचारीहरू संलग्न रहेका यथेष्ट प्रमाण देखिएकोले ललितपुर महानगर र वाग्मती प्रदेश सरकारको समेत सहयोगमा अनुसन्धान सुरु गरिएको बताए । गत भदौ ६ मा मितेरी सहकारीका सञ्चालक समिति अध्यक्ष कुम्भराज गुरुङले सहकारी ठगी प्रकरणमा कांग्रेस नेता गुरुङकी पत्नी ज्योतिसहितका व्यक्ति पनि संलग्न रहेको र यो विषयको जानकार नेता गुरुङ पनि भएको भन्दै सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिमा खुलाएपछि उक्त ठगी बाहिरिएको थियो । त्यसपछि यस प्रकरणको खोजबिन हुँदा ज्योति र कास्कीका ज्योतिबहादुर भण्डारीसहितका व्यक्ति मिलेर २०७५ बाट सहकारीको बचत अपचलन गर्न थालेको र अहिले हिनामिना भएको रकम १२ करोड पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सीआईबी प्रवक्ता बोगटीले मितेरी सहकारी ठगी प्रकरणमा अनुसन्धान अघि बढेको भन्दै पीडित बचतकर्ताहरूलाई उजुरी दिन पनि आह्वान गरे ।

‘यो विषयमा हामीले अनुसन्धान सुरु गरेका छौं । वाग्मती प्रदेश सरकार र ललितपुर महानगरपालिकासँग पनि सहयोग मागिएको छ,’ बोगटीले कान्तिपुरसँग भने, ‘मितेरी सहकारीबाट बचतकर्ताहरू ठगिएको भए सीआईबीमा आएर उजुरी दिन पनि सक्नुहुन्छ । ठगीमा सहकारीका सञ्चालक, कर्मचारी र अरू बाहिरी मानिस जो–जो छन्, उनीहरूलाई कारबाहीको दायरामा ल्याइनेछ ।’

मितेरी सहकारी ब्रिटिस र भारतीय सेनाबाट अवकाश पाएका लाहुरेहरूको पहलमा खोलिएको हो । उक्त सहकारीमा नेता गुरुङकी पत्नी ज्योति २०५७ जेठ १२ मा सहायक स्तरको कर्मचारीबाट प्रवेश गरेकी थिइन् । त्यसको २ महिनापछि साउन २५ मा ज्योति सहकारीको लेखापाल, २०७० वैशाख ४ मा वरिष्ठ लेखापाल र २०७५ वैशाख ४ मा महाप्रबन्धक बनेकी थिइन् ।

महाप्रबन्धक बनेपछि उनले ज्योतिबहादुर भण्डारीलाई सहकारीको रकम मिटरब्याजमा लगाएको पनि खुलेको छ । आफू महाप्रबन्धक भएपछि भण्डारीलाई उनले पटक–पटक सहकारीको रकम मिटरब्याजमा लगाएकी थिइन् । सुरुमा ज्योति गुरुङले सहकारीबाट ३० लाख रुपैयाँ झिकेर ज्योति भण्डारीलाई एक साताका लागि सापटी दिएकोमा भण्डारीले ५ लाख थपेर फिर्ता गरेका थिए ।

दोस्रो चरणमा ४० लाख दिएकोमा त्यसको अर्को साता १० लाख थपेर भण्डारीले रकम फिर्ता गरेको पनि खुलेको छ । एक पटक ५० लाख दिएकोमा ६० लाख फिर्ता भयो । यसरी हप्तैपिच्छे मिटरब्याजमा सहकारीको रकम लगाउँदा आकर्षक पैसा आउन थालेपछि यो क्रम बढ्दै गएर उनले भण्डारीलाई करिब साढे ३ करोड रुपैयाँ मिटरब्याजमा लगाएकी थिइन् ।

तर, उक्त रकम फिर्ता नगरी भण्डारी सम्पर्कविहीन भए । सहकारीका एक सदस्य र अनुसन्धानरत प्रहरी स्रोतका अनुसार पत्नीको यो धन्दाबारे उसैबेला कांग्रेस नेता धनराज जानकार थिए । सहकारीबाट रकम अपचलनको क्रम २०७९ सम्म कायम रहेको भेटिएको पनि प्रहरी स्रोतको भनाइ छ ।

सहकारी प्रकरणको विषय सञ्चालक समिति र सेयरधनीसम्मै बाहिरिएपछि २०७६ मा धनराजले पत्नीसँग आफ्नो सम्बन्धविच्छेद गरेका थिए । त्यसअघि रकम हिनामिना भएको विषयमा धनराज र ज्योति गुरुङसहितलाई उपस्थित गराएर सहकारी सञ्चालकहरूले २०७६ पुस १६ मा छलफल गराएका थिए । तर, त्यसको दुई महिनापछि फागुनमा ज्योति र धनराजबीच सम्बन्धविच्छेद भएको खुलेको छ । सम्बन्धविच्छेद स्वाभाविक नरहेको भन्दै यसमा सूक्ष्म अनुसन्धान हुनुपर्ने माग संसद्मा पनि उठेको छ । उता ज्योतिबाट मिटरब्याजमा रकम लिएर फरार रहेका भण्डारीले सहकारीबाट थप रकम ठगी गर्न सहकारीका सञ्चालकहरूलाई झुक्याएको पनि भेटिएको छ ।

आफूसँग ३१ करोड ११ लाख रुपैयाँ रहेको र यो रकम ल्याउन कमिसन चाहिने भन्दै अरू रकम पनि ठगी गरेको सञ्चालकहरूले नै प्रहरीलाई खुलाएका छन् । यो ठगीका लागि भण्डारीले ग्लोबल आईएमई बैंकमा रकम जम्मा भएको नक्कली भौचर पनि बनाएका थिए । सहकारीका नाममा यति ठूलो रकम आउने लोभमा परेर अरू सञ्चालकहरूले भण्डारीले मागेअनुसार ३ करोड ४४ लाख ७४ हजार ३ सय ३० रुपैयाँ दिएका थिए । तर, पछि सहकारीको रकम पनि जम्मा भएन, कमिसन भनिएको रकम पाएपछि भण्डारी सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार ज्योति गुरुङले भण्डारीलाई मिटरब्याजमा लगाएको भनिएको करिब साढे ३ करोड र पछि अरू सञ्चालकहरूले ठूलो रकम निक्षेप जम्मा हुने लोभमा भण्डारीलाई नै कमिसन दिएको भनिएको साढे तीन करोड गरी करिब ७ करोडको ब्याज र स्याजसहित हाल हिनामिना रकम करिब १२ करोड रुपैयाँ पुगेको देखिएको हो ।

‘ज्योति गुरुङले सहकारीको रकम सापटी दिएबापत भण्डारीले कहिले हप्तैपिच्छे, कहिले १५ दिन र कहिले एक महिनामा मिटरब्याजमा रकम फर्काउने गरेका थिए, पछि साढे ३ करोड रुपैयाँभन्दा बढी रकम लिएपछि भण्डारी भागेको र हालसम्म पनि सम्पर्कविहीन रहेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘सहकारीबाट रकम अपचलन भएपछि ज्योति गुरुङ पनि सम्पर्कविहीन छिन् । अब यसमाथि सूक्ष्म रूपमा अनुसन्धान अघि बढेको छ ।’

प्रकाशित : भाद्र २९, २०८१ ०५:२५
×