कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने मागसहित परेको रिटमा कारण देखाउ आदेश

भाद्र ११, २०८१
सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने मागसहित परेको रिटमा कारण देखाउ आदेश

काठमाडौँ — सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सशस्त्र प्रहरीका १२ अधिकृतहरूले हालेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

नेपाल प्रहरीका २१ अधिकृतहरूले दायर गरेको यस्तै प्रकृतिको रिटमा यसअघि सर्वोच्चका न्यायाधीश हरि फुयालको इजलासले अन्तरिम आदेश जारी गर्दै असोज १० का लागि पेशी तोकेको थियो ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले सशस्त्र प्रहरीका अधिकृतहरूले आफूहरूलाई ३० वर्षे सेवा अवधिका कारण अवकाशमा नपठाउन माग गर्दै दायर गर्दै रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी भएको बताए । घिमिरेकाअनुसार १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश भएको छ ।

आइतबार सशस्त्रका दुई डीआईजी दुर्गा भट्टराई र अभि खत्रीसहित एक एसएसपी र नौ एसपीले ३० वर्षे सेवा अवधि हटाउन र यो प्रावधानका कारण आफूहरूलाई अवकाशमा नपठाउन माग गर्दै रिट दायर गरेका थिए । २०५१ भदौ १६ मा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका उनीहरले २०५८ मा सशस्त्र प्रहरी गठनसँगै सेवा स्थानान्तण गरेका थिए ।

उनीहरूसँगै सेवा प्रवेश गरेका प्रहरी पनि आउँदो १६ गते नै अवकासमा जाने अवस्थामा थिए । तर सर्वोच्चको अन्तरिम आदेशले नेपाल प्रहरीमा भने रिटको किनारा नलागेसम्म सेवा अवधि लम्बिएको छ । यता सशस्त्रमा भने आइतबार न्यायाधीश सारङ्गा सुवेदीको इजलासले १५ दिनभित्र लिखित जवाफ दिन कारण देखाउ आदेश जारी गरेसँगै रिट निवेदनकर्ताहरू सेवा अवधिबाट अनिवार्य अवकाशमा जाने निश्चित भएको हो ।

प्रकाशित : भाद्र ११, २०८१ १६:३०
x
×