कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

कूटनीतिक सम्बन्ध स्थापनापछि ओमानबाट पहिलो उच्चस्तरीय भ्रमण

भाद्र १०, २०८१
कूटनीतिक सम्बन्ध स्थापनापछि ओमानबाट पहिलो उच्चस्तरीय भ्रमण

Highlights

  • ओमानका लागि नेपालकी पूर्वराजदूत शर्मिला पराजुली ढकालले ओमान पश्चिम एसियामा नेपालको महत्त्वपूर्ण मित्र रहेको बताइन् । उनले ओमानबाट नेपाललाई महत्त्व दिँदै पहिलो पटक विदेशमन्त्रीस्तरमा भ्रमण हुन लागेको र यसलाई नेपालले सदुपयोग गर्न सक्नु पर्ने उल्लेख गरिन् ।

काठमाडौँ — ओमानका विदेशमन्त्री सइद बद्र बिन हमाद बिन हमुद बल्सुसैदी सोमबार बेलुकी दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं उत्रँदै छन् । दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएपछि पहिलो पटक ओमानबाट उच्च भ्रमण हुन लागेको हो ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा नेपाल आउन लागेका विदेशमन्त्री बल्सुसैदी मंगलबार बिहान परराष्ट्रमन्त्री राणासँग द्विपक्षीय वार्ता गर्ने छन् ।

त्यसपछि उनी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेर फर्कने छन् ।परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री बल्सुसैदीको भ्रमणका दौरान दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउनको लागि छलफल हुने छ ।

नेपाल र ओमानबीच सन् १९७७ को जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । पश्चिम एसियाको महत्त्वपूर्ण मुलुक ओमानमा नेपालले सन् २०१३ को सेप्टेम्बर १ मा दूतावास खोलेको थियो । त्यसपछि राजदूतको स्तरमा बढुवा गर्दै पहिलो राजदूतका रूपमा शर्मिला पराजुली ढकाललाई पठाएको थियो । नेपाल र ओमान विश्व स्तरका विभिन्न विषयमा समान विचार र धारणा राख्छन् ।

दुवै मुलुक संयुक्त राष्ट्र संघका सदस्य हुन् भने असंलग्न आन्दोलन (नाम) मा पनि दुवै सँगै छन् । दुई मुलुक जी–७७ समूह र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा साथसाथै छन् ।

ओमान नेपालीहरूका वैदेशिक रोजगारीका लागि पश्चिम एसियामा एउटा महत्त्वपूर्ण मुलुक हो । ओमानमा अहिले करिब २४ हजार नेपाली श्रमिक छन् ।

ओमानका लागि नेपालकी पूर्वराजदूत शर्मिला पराजुली ढकालले ओमान पश्चिम एसियामा नेपालको महत्त्वपूर्ण मित्र रहेको बताइन् । उनले ओमानबाट नेपाललाई महत्त्व दिँदै पहिलो पटक विदेशमन्त्रीस्तरमा भ्रमण हुन लागेको र यसलाई नेपालले सदुपयोग गर्न सक्नु पर्ने उल्लेख गरिन् । उनले भनिन्,‘ओमानसँग नेपालले धेरै कुरामा सहकार्य गर्न सक्छ । ग्रीन इजर्जी र फर्टिलाइजरमा नेपालले सहकार्य गरेर फाइदा लिन सक्छ । साथै, ओमानले नेपालको ऊर्जा क्षेत्रमा पनि लगानी गर्ने चाहना व्यक्त गरेको छ ।’

पूर्वराजदूत पराजुलीले ओमानको पश्चिम एसियामा इरान, साउदी अरब, इजरायललगायत सबै मुलुकसँग सुमधुर सम्बन्ध भएको कारण नेपाललाई आवश्य पर्दा सहयोगको लागि आग्रहसमेत गर्न सकिने बताइन् ।

जीसीसीको महत्त्वपूर्ण सदस्य भएको कारण नेपालले उक्त संगठनमार्फत लिन सक्ने फाइदाका लागि पनि सहज हुने उनले बताइन् ।

ओमानबाट पहिलो उच्चस्तरीय भ्रमण हुन लागे पनि नेपालबाट भने चार महत्त्वपूर्ण भ्रमण भइसकेका छन् । सन् १९८६ मा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्या, सन् १९८५ मा परराष्ट्रमन्त्री रणधीर सुब्बा, सन् २०१७ मा उपप्रधान तथा रक्षामन्त्री भीम रावल (व्यक्तिगत भ्रमण) र सन् २०१७ मा प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा ओमानको औपचारिक भ्रमण गरिसकेका छन् ।

प्रकाशित : भाद्र १०, २०८१ १२:१३
x
×