कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

प्रतिनिधिसभामा अवरोध जारी राख्ने माओवादीको निर्णय

भाद्र २८, २०८१
प्रतिनिधिसभामा अवरोध जारी राख्ने माओवादीको निर्णय

काठमाडौँ — माओवादी केन्द्रले आइतबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ । सभामुख देवराज घिमिरेले भदौ १२ को प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको  ‘माओवादीको सशस्त्र हिंसा’ भन्ने शब्द असंसदीय नभएको रुलिङ गरेको विषयलाई लिएर बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो ।

माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले ‘माओवादी जनयुद्ध’ लाई अपमान गर्न खोजिएको उल्लेख गर्दै सभामुखले बुधबार ‘हिंसा’ भन्ने शब्द असंसदीय नभएको भन्ने रुलिङ गरेकोमा त्यो नसच्याएसम्म बैठक चल्न नदिने निर्णय गरेको हो ।

‘जनयुद्ध, गणतन्त्र, संघीयता, संविधानलाई अपमान गर्ने काम भएको छ । सविधानका व्याख्यात्मक टिप्पणीमा जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनबारे स्पष्ट व्याख्या गरिएको छ,’ माओवादी मुख्य सचेतक हितराज पाण्डले भने, ‘हिंसा भन्ने शब्द उल्लेख गरेर जनयुद्धलाई अपमान गर्ने काम भएको छ । संविधानको मर्म विपरीत व्याख्या गएिको छ । संसद्को अवरोधलाई अझ सशस्त्र बनाउने निर्णय भएको छ । यसमा सहमति नभइकन संसद् अघि बढ्न सक्दैन ।’

प्रकाशित : भाद्र २८, २०८१ १७:२३
×