कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

रामेछाप पहिरो [अपडेट] : ६ जनाको शव भेटियो, ४ सम्पर्कविहीन

भाद्र ९, २०८१
रामेछाप पहिरो [अपडेट] : ६ जनाको शव भेटियो, ४ सम्पर्कविहीन

दोलखा — रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ टोकरपुरको लेकखर्क पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुनेहरूमा स्थानीय विद्यालयकी बाल कक्षा शिक्षिका ३० वर्षीया  चण्डिका थापामगर र  उनका १८ महिने छोरा आमस थापा मगर रहेका छन् । 

यस्तै ४० वर्षीया उर्मिला पहरी,१७ वर्षीय सन्दीप पहरी,१८ वर्षीय विज्ञान पहरी र १४ वर्षीय सन्तोष पहरीको पनि शव फेला परेको छ । चण्डिकाको घरबाट १० वर्षीया अन्जना पहरीलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

प्रहरीका अनुसार अझै ४ जना सम्पर्कविहीन रहेका छन् । ७५ वर्षीय फडके पहरी,५५ वर्षीय काले पहरी, ५४ वर्षीया झ्याउकिरी पहरी र २३ वर्षीया विन्दा पहरी सम्पर्कविहीन छन् । पहिरोले ५ वटा घर बगाएको छ । सम्पर्कविहीनहरूको खोजी भइरहेको रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन् ।

प्रजिअ निरौलाका अनुसार ३० घरधुरी रहेको लेकखर्क बस्ती नै पहिरोको जोखिममा रहेको छ । ´हामी पहिरो गएको क्षेत्रमा गइरहेका छौँ,` उनले भनिन' ´३० घर थप जोखिममा परेका छन् । बेपत्ताको खोजी भइरहेको छ ,` घटनास्थल पुगेपछि मात्र सबै विवरण खुल्ने उनको भनाइ छ ।

शनिबार राति भीषण वर्षासँगै बाढी र पहिरोले उक्त क्षेत्रसँगको सडक सञ्जालसमेत टुटेको छ । स्थानीय खोलाहरूमा आएको बाढीले दुईवटा पक्की पुलमा समेत क्षति पुर्‍याएको छ । बाढीले ढाइगाउँ खोला, छाङ खोला तथा घट्टे खोलाको पक्की पुल बगाएको छ । बाढीले रामेछाप र दोलखाको सिमानामा रहेको मिल्ती खोलाको पुलमा समेत क्षति पुर्‍याएको छ ।

प्रकाशित : भाद्र ९, २०८१ १०:१६
x
×