कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

अध्यक्ष दाहालको विकल्प छैन : श्रेष्ठ

अध्यक्ष दाहालको विकल्प छैन : श्रेष्ठ

काठमाडौँ — माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालको विकल्प नभएको बताएका छन् । उपमहासचिव जनार्दन शर्माले दाहालले नेतृत्व हस्तान्तरण गर्नुपर्ने स्थायी समितिमा लिखित प्रस्ताव दर्ता गरेको सन्दर्भमा उनको यस्तो भनाइ आएको हो ।

उपत्यका विशेष प्रदेश शनिबारको परामर्श बैठकमा श्रेष्ठले माओवादीमा तत्काल नेतृत्व हस्तान्तरण संभव नभएको भन्दै शर्माको प्रस्तावको विपक्षमा धारणा राखेका हुन् ।

‘हाल अध्यक्ष प्रचण्डको विकल्प छैन,’ उनको भनाइ थियो, ‘यसको अर्थ कहिल्यै नेतृत्व हस्तान्तरण हुनुहुँदैन भनेको होइन । तर अहिले अध्यक्ष निर्विकल्प हुनुहुन्छ ।’ उनले केन्द्रिकृत नेतृत्वको सामूहिक अभिव्यक्ति नै दाहाल भएको दाबी गरे ।

बैठकमा उपमहासचिव शर्माले आफूले पार्टी फुटाउन खोजेको नभई बलियो बनाउन लिखित प्रस्ताव राखेको बताए । अध्यक्ष दाहाल र आफू करिब चार दशकदेखि एउटै पार्टीमा भएको उल्लेख गर्दै उनले पार्टी फुटाउन खोजेको भ्रम सृजना गरिएको बताए । ‘अध्यक्ष र म ४० वर्षदेखिसँगै छौं । एकअर्काबारे राम्ररी थाहा छ,’ उनले भने, ‘मैले पार्टी फुटाउन खोजेको होइन, बनाउन खोजेको हो । पार्टी फुटाउँछ भन्ने कसैले भ्रम सृजना गरेको हो ।’

बैठकमा अध्यक्ष दाहालले पार्टी पुनर्निर्माणका लागि सबैका सुझाव लिएर केन्द्रीय समितिमा समृद्ध राजनीतिक प्रतिवेदन तयार गर्ने बताए । ‘पार्टीमा विभिन्न मत आएका छन्, ती मतलाई समेटेर समृद्ध प्रतिवेदन तयारी गरी केन्द्रीय समितिमा राख्नेछु,’ उनको भनाइ थियो, ‘पार्टी निर्माणका लागि सही सुझावलाई लिन सातै प्रदेश, मोर्चाको परामर्श बैठक गरिएको हो ।’ उनले सबै वामलाई मिलाएर बलियो शक्ति बनाउने दाबीसमेत गरे ।

प्रकाशित : भाद्र ८, २०८१ २१:०१
x
×