कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मानसरोवरको जल लिन हिँडेका नेपाली चीनको कठान चेकप्वाइन्टबाट फर्काइए

मानसरोवरको जल लिन हिँडेका नेपाली चीनको कठान चेकप्वाइन्टबाट फर्काइए

Highlights

  • मानसरोवरका लागि १२ दिन पैदल हिँडेर कठान चेकप्वाइन्ट पुगेको बझाङको जयपृथ्वी नगरपालिकाका स्थानीयको समूहलाई चीनको पुराङ काउन्टीबाट खटिएका सुरक्षाकर्मीले फर्काइदिएका हुन् ।
  • सीमा नाकाबाट ३० किलोमिटर पर ताक्लाकोटसम्म मात्रै आउजाउ गर्न चिनियाँ पक्षले स्वीकृति दिएको छ । यसलाई बेवास्ता गर्दा उहाँहरु बीच बाटोमै रोकिनुभएको हो : विश्वामित्र कुइँकेल, प्रमुख जिल्ला अधिकारी, बझाङ

काठमाडौँ — चिनियाँ प्रशासनले बझाङको उरै नाका हुँदै मानसरोवर हिँडेका नेपालीलाई बीच बाटोबाटै फिर्ता पठाइदिएको छ । बझाङका विभिन्न गाउँबाट चिनियाँ बजार ताक्लाकोट हुँदै मानसरोवर जान भनेर हिँडेका नेपालीलाई ‘माथिको आदेश’ भन्दै चिनियाँ प्रशासनले कठानबाट अघि बढ्न नदिएको हो ।

कठान नेपालको उरै नाकाबाट नजिकै रहेको चिनियाँ स्थानीय प्रशासन ‘पुराङ काउन्टी’ अन्तर्गतको चेकप्वाइन्ट हो । उरै नाकाबाट प्रवेश गर्ने सबैको कठान चेकप्वाइन्टबाट खानतलासी गरेर मात्रै अघि बढ्न दिने गरेको छ ।

बझाङका प्रमुख जिल्ला अधिका विश्वमित्र कुइँकेलले चिनियाँ पक्षले नेपाली नाकाबाट ३० किलोमिटर दुरी आसपास जान मात्रै अनुमति दिएको र त्यसभन्दा अगाडि जान खोज्ने सबैलाई फिर्ता पठाइदिएको जानकारी दिए । चिनियाँ प्रशासनले ताक्लाकोटभन्दा अगाडि बढ्ने गरी प्रवेश पत्र नदिन अनौपचारिक रुपमा भनेको र यो विषय स्थानीयलाई पास जारी गर्दा प्रशासनले पनि अवगत गराएको, तर त्यसलाई बेवास्ता गरेर अघि बढ्न खोज्नेहरुलाई चिनियाँ पक्षले फिर्ता पठाइदिएको उनले बताए ।

‘दुई देशबीच सीमा जोडिएका जिल्लाका बासिन्दालाई एकअर्का देशको ३० किलोमिटर दुरीसम्म आउजाउ गर्न स्थानीय प्रशासनबाट प्रवेश अनुमति (पास) जारी हुँदै आएको छ, त्यही अनुसार बझाङ प्रशासनले उरै नाका हुँदै ताक्लाकोटसम्मको मात्रै पास जारी गरेको थियो,’ प्रजिअ कुइँकेलले कान्तिपुरसँग भने, ‘तर प्रशासनले दिएको पासको दुरीभन्दा अगाडि बढ्न खोज्दा चिनियाँ प्रशासनले जान नदिएको हो ।’

यो विषयबारे गृह मन्त्रालयलाई पनि जानकारी गराइएको प्रजिअ कुइँकेलले बताए । ‘३० किलोमिटरभन्दा अगाडि जानको लागि भिसा लगाएर र प्रक्रिया पुर्‍याएर जानुपर्ने कुरा चिनियाँ पक्षबाट आएको छ, त्यसभन्दा यताको हकमा हामीले ताक्लाकोट बजारसम्म जानलाई पासको व्यवस्था गर्दै आएका छौं,’ कुइँकेलले भने, ‘चिनियाँ पक्षले आफ्नो तर्फ के–कसरी सुरक्षा बन्दोबस्ती मिलाउने हो, उनीहरुको कुरा भयो । मानसरोवरका लागि हिँडेका नेपालीलाई बीच बाटोबाटै फिर्ता गरेकोबारे गृह मन्त्रालयलाई पनि जानकारी गराइसकेका छौं ।’

बझाङबाट ताक्लाकोटसम्म जान तिब्बतको पुराङस्थित काउन्टी (स्थानीय प्रशासन)ले हरेक महिना ८ देखि ११ र २० देखि २३ तारिखसम्म ८ दिन स्वीकृति दिँदै आएको छ । प्रजिअ कुइँकेलका अनुसार चिनियाँ पक्षले प्रवेश अनुमति दिएको छेको पारेर पास जारी गर्दै आएको छ । उरै नाका हुँदै मानसरोवरका लागि गएका बझाङको जयपृथ्वी नगरपालिका, १ कैलाशका चन्द्रबहादुर सिंहले आफूहरु देवीदेवता र कुलपूजा गर्न मानसरोवरको पानी चाहिने भएर त्यसतर्फ गएको तर चिनियाँ प्रशासनले ताक्लाकोटभन्दा वरै कठान भन्ने ठाउँबाटै फिर्ता पठाइदिएको बताए ।

साउन ९ गते बझाङबाट हिँडेका सिंहसहितका स्थानीयलाई २२ गते चीनतर्फको चेकप्वाइन्ट कठान भन्ने ठाउँबाट फिर्ता पठाइएको हो । ‘मष्टा देवीदेवताका लागि मानसरोवरकै जल चढाउनुपर्ने परम्परा छ, त्यसकै लागि हामी समूहमा ताक्लाकोट हुँदै मानसरोवरका लागि हिँडेका थियौं, तर चिनियाँ प्रशासनले बझाङको साइपालदेखि ३० किलोमिटर अगाडि चीनको कठान भन्ने ठाउँको चेकप्वाइन्टबाटै फर्काइदियो,’ चन्द्रबहादुरले कान्तिपुरसँग भने, ‘हामी साउन २२ गते बिहान कठान पुगेका थियौं, चिनियाँ सुरक्षाकर्मीले प्रवेश पनि दिएनन्, हामीसँग भएका मोवाइलका कतिपय फोटाहरु पनि मेटाइदिए ।’

त्यसपछि आफूहरुले हुम्लाको हिल्सा नाकाबाट पनि मानसरोवर जाने प्रयास गरेको, तर अर्को जिल्लाबाट जारी भएको पासले प्रवेश नपाउने भन्ने थाहा पाएपछि घर फर्किएको उनले बताए । उरै नाकाबाट हुम्लाको हिल्सा पुग्न एक दिन पैदल हिँड्नुपर्छ । दार्चुलाको तिंकर पनि साइपालबाट एक दिनमै पुग्न सकिन्छ ।

धार्मिक र सांस्कृतिक परम्परा अन्तर्गत मानसरोवरको जल मष्टा देवीदेवतालाई चढाउनै पर्ने तर यसका लागि मानसरोवर जान यसरी अवरोध हुनु दुःखद भएको चन्द्रबहादुरको भनाइ छ । यसका लागि प्रशासनले सहजीकरण गरिदिनु पर्नेमा यसो हुन नसकेको उनले दुःखेसो पोखे ।

यता प्रजिअ कुइँकेलले भने नेपाल र चीनबीच सीमा क्षेत्रबाट ३० किलोमिटर मात्रै आउजाउ गर्न पाइने सहमति अनुसार नै प्रशासनले पास जारी गर्दै आएको र चिनियाँ पक्षले मानसरोवरका लागि नपठाउन भनेको कुरा पास लिन आउनेलाई जानकारी गराउँदा गराउँदै पनि अघि बढ्न खोज्दा स्थानीयले दुःख पाएको दाबी गरे ।

चीनसँग नेपालको बझाङसहित १५ जिल्लाको सीमा जोडिएको छ । करिब १ हजार ४ सय १४ किलोमिटर दुरीमा दुई देशबीच सीमा कायम छ । यसमध्येको एउटा अन्तर्राष्ट्रिय सीमा नाका बझाङको उरै हो । पछिल्लो समय चीनतर्फका १४ वटा नाका खुलाउन र यसबाट आउजाउ गर्न ५ वर्षे प्रवेश पासको प्रबन्ध मिलाउने गरी गृह मन्त्रालयले कार्यविधि नै जारी गरेको छ । यो कार्यविधि लागु भइसकेको छैन ।

हाल चिनियाँ प्रशासनसँग समन्वय गरेर उत्तरी सीमा जोडिएका जिल्ला प्रशासन कार्यालयहरुले ३० किलोमिटर दुरीभित्र पर्ने चिनियाँ बजारसम्म जानलाई मात्रै पास जारी गर्ने गरेका छन् ।

यसबाहेक यदाकदा व्यवहारिक पक्षलाई हेरेर चिनियाँ प्रशासनले त्यसभन्दा परको बजारसम्म पनि पहुँच दिने गरेकोमा पछिल्लो पटक कोभिड महामारीका बेला यस्ता परम्परागत सीमानाकाबाट आउजाउ ठप्प पारेको थियो । अहिले फेरि सुरक्षाको कारण देखाएर चिनियाँ प्रशासनले नेपालीलाई ३० किलोमिटरसम्म जान पनि कडाइ गर्दै आएको हो ।

प्रकाशित : भाद्र ८, २०८१ १६:२२
×