कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

एमपक्स रोकथाम गर्न नाकामा छैन कडाइ

भाद्र ७, २०८१
एमपक्स रोकथाम गर्न नाकामा छैन कडाइ

Highlights

  • सुदूरपश्चिमको मुख्य चाड गौरा नजिएसँगै सीमा नाकामा आवतजावत बढेको छ ।

कञ्चनपुर, दार्चुला — अफ्रिकी मुलुकमा एमपक्सको संक्रमण तीब्र गतिमा फैलिँदै गएको छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसँगै सरकारले पनि नाकामा रोकथामका लागि नाकाहरु कडाइ गर्ने भनेको छ । तर त्यसअनुसार सीमा नाकाहरुमा केही हुन सकेको छैन ।

पश्चिमी नाका गड्डाचौकी भएर भित्रिनेको सामान्य जाँच समेत हुन सकेको छैन । भारतबाट भित्रिनेहरु हेल्थ डेस्कमा समेत नपुगी आउने गरेका छन् । ‘हामीले स्क्रिनिङ गरिरहेका छौं, तर कतिपय नआएरै जान्छन्,’ गड्डाचौकीस्थित हेल्थ डेस्ककी स्टाफ नर्स सुनिता विकले भनिन्, ‘दैनिक ३०/४० जनाको स्क्रिनिङ भइरहेको छ ।’

अहिले गड्डाचौकी भएर दैनिक तीन/चार सय जनाको संख्यामा भित्रिरहेका छन् । यो नाकाबाट महेन्द्रनगरदेखि दिल्ली र देहरादूनसम्म मैत्री बससेवा पनि सञ्चालनमा छन् । करिब एक दर्जन बसमा आउने यात्रु पनि जाँच नगरीकनै भित्रिने गरेका छन् ।

कतिपय यात्रु तेस्रो मुलुकाबाट दिल्ली विमानस्थल हुँदै यहाँ आउने गरेका पनि छन् । यसले समेत जोखिम उच्च रहेकाले नाकामा जाँचमा कडाइ गर्नुपर्ने आवश्यकता छ । ‘नाकामा स्क्रिनिङ गर्ने भन्ने परिपत्र आएको छ, हामीले त्यही अनुसार गरिरहेका छौं’, हेल्थ डेस्क प्रमुख प्रेमसिंह भण्डारीले भने, ‘ज्वरो आएका र शरीरमा फोका दखिएकालाई निगरानीमा राख्ने भनेको छ ।’

उनले हालसम्म त्यस्तो शंकस्पद बिरामी यो नाका भएर नआएको बताए । अहिले शंकास्पद बिरामी आएमा पनि परीक्षणका लागि आवश्यक साधनस्रोत नभएको भण्डारीले बताए । त्यसकारण हेरेरै पहिचान गर्नुपर्ने अवस्था रहेको उनले बताए । परीक्षणका लागि किट तथा आवश्यक सामग्री आएमा त्यसपछि सहज हुने उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी सिद्धराज भट्टले एमपक्स रोकथामका लागि स्थानीय तह र जिल्ला प्रशासनसँग समन्वय गरी आवश्यक गतिविधि अगाडि बढाउने परिपत्र भएको बताए । उनले प्रदेशको सामाजिक विकास मन्त्रालयबाट आएको परिपत्र अनुसार समन्वय भइरहेको बताए । ‘नाकामा स्क्रिनिंग र जाँच पनि भइरहेको छ,’ भट्टले भने, ‘रोकथामका लागि सतर्कता अपनाउने विषयमा पनि समन्वय भइरहेको छ ।’ उनले स्वास्थ्य कार्यालयबाट स्थानीय तह र जिल्ला प्रशासनसँग समन्वय भइरहेको बताए ।

गौरा मनाउन परदेशबाट फर्कँदै

सुदूरपश्चिमको मुख्य चाड गौरा नजिएसँगै सीमा नाकामा आवतजावत बढेको छ । सातायता रोजगारी र पढाइका सिलसिलामा बाहिर गएकाहरु गौराको मौका पारेर थातथलो फर्कन थालेका हुन् ।

शुक्रबारबाट सुरु हुने गौरा पर्वका लागि परदेशिएकाहरु धमाधम घर फिर्ता हुन लागेपछि नाकामा भीडभाड बढेको छ । जिल्लामा करिब एक दर्जन नाका भारतसित जोडिएका छन् । दिनहु अहिले सीमामा मानिसको ओहोरदोहोर बढेको महाकाली नगरपालिका–३ का विवेक भट्टले बताए । भारतका ठूला सहरमा रोजगारीका लागि गएकाहरु चाडपर्वको समय मिलाएर एक/दुई वर्षको अन्तरमा घर फर्कन्छन् । खेतीपातीको काम सकेर मजदुरीका लागि गएकाहरु पनि चाँड मनाउन घर आउने गरेका छन् ।

साता दिनसम्म मनाइने मुख्य चाँड गौराको समयमा परिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाउने चलन छ । दसैंतिहार भन्दा पनि गौरामा आफन्तहरु घर पुग्ने चलन रहेको दुहुँ गाउँपालिका–३ का सुरेन्द्रबहादुर बमले बताए । जिल्लाको मुख्य नाका सदरमुकाम खलंगास्थित पुलघाटसँगै अन्य नाकामा पनि आवतजावत बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भाद्र शुक्ल वा कृष्ण पक्षमा मनाइने यो पर्वका लागि बसाइँसराइ गरेर तराइ तथा अन्य सहरतिर गएकाहरु पनि पुर्ख्यौली थातथलोमा फर्कने गरेका छन् । गौरालाई सामाजिक सद्भावको पर्वका रुपमा मनाइने गरेको महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताए ।

यहाँका ग्रामीण भेगबाट अधिकांश पुरुष मकै र धान रोपाइँको काम सकेर ज्यालादारीमा काम गर्न भारततिर जान्छन् । भारतमा निर्माणको काम, भारी बोक्नेलगायतका काममा दुई तीन महिना बिताएर पर्व मनाउन घर आउने गरेका छन् ।

प्रकाशित : भाद्र ७, २०८१ १९:३८
x
×