कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

रास्वपालाई लामिछानेको निरंकुशताबाट जोगाउन लागिपरेको छु : डा. ढकाल

रास्वपालाई लामिछानेको निरंकुशताबाट जोगाउन लागिपरेको छु : डा. ढकाल

Highlights

  • ‘तपाईं (लामिछाने) ले सहकारी ठगी गर्नु भएको छ, तपाईंले मन्त्री हुँदा भ्रष्टाचार गर्नु भएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु’ : डा. मुकुल ढकाल

काठमाडौँ — रास्वपाबाट कारबाहीमा परेका पूर्वमहामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई एक अपराधीको रुपमा आफूले प्रणाणित गर्न सक्ने दाबी गरेका छन् । लामिछानेलाई नै सम्बोधन गरेर भदौ ७ मा पठाएको पत्रमा ढकालले लामिछाने एक अपराधी हो भनेर आफूले प्रमाणित गर्न सक्ने बताएका हुन् ।

‘तपाईं (लामिछाने) ले सहकारी ठगी गर्नु भएको छ, तपाईले मन्त्री हुँदा भ्रष्टाचार गर्नु भएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु,’ रास्वपाले पुनः स्पष्टीकरण सोधेपछि ढकालले जवाफमा पेस गरेको पत्रमा भनिएको छ, ‘सहकारी मुद्दामा तपाई ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्नुहुन्छ, भ्रष्टाचार मुद्दामा पनि जेल जान सक्नुहुन्छ ।’

रास्वपाको केन्द्रीय समितिको बुधबार बसेको बैंठकले ढकाललाई अन्तिपटक फेरि स्पष्टकीकरण सोधेको थियो । ढकालले लामिछानेलाई सम्बोधन गरेर लेखेको पत्रमा भनिएको छ, ‘राहदानी दुरुपयोगमा तपाईं (लामिछाने) कहिले निर्वाचनमा भाग लिन पाउनुहुन्न । यीसँगै अन्य धेरै ठाउँमा किर्ते, ठगीमा संलग्न हुनुहुन्छ । आफू ठगी, भ्रष्टाचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाईं दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ । आम पार्टी सदस्य एवं नेतागणका राजनीतिक भविष्यलाई तपाईंले कसरी आफ्नो निहित स्वार्थका लागी प्रयोग गरिरहनु भएको छ, म त छर्लङ्गै छु र पार्टीमा तपाईंले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो ।’

लामिछानेले आफ्नो वाक कलाको भरमा जनतालाई भ्रमित पारिरहेको ढकालको आरोप छट ।‘प्रश्न गर्नेलाई कारबाहीको डन्डा चलाउने दुस्साहस गर्दै हुनुहुन्छ । यसले नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ । आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन्,’ ढकालले लेखेका छन् ।

ढकालले लामिछानेलाई आफूमाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी उल्टै स्पष्टीकरणको पत्र पठाएको उल्लेख गरेका छन् । उनले साउन ३१ मा लामिछानेलाई सम्बोधन गरी आफूलाई गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रतिलिपि माग गरिएको तथा साउन २८ मा लेखिएको पत्रका बारेमा पनि स्मरण गरेका छन् ।

‘मेरो माग बमोजिम प्रमाणहरूको प्रतिलिपि माग गरिएको पत्र दर्ता गरी सो बमोजिम कागजात उपलब्ध गराउनको सट्टा यसरी फेरी स्पष्टीकरण सोध्नाले तपाईंले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरङ्कुश शासन चलाइरहेको स्पष्ट हुन्छ । मेरो माग बमोजिम कागजात उपलब्ध गराउनु हुन पुनः अनुरोध गर्दछु,’ ढकालले लेखेका छन् ।

ढकालले आफूले पार्टीको विधान र आचारसंहिता विपरीत कार्य नगरेको दाबी गरेका छन् । उनले पत्रमा लेखेका छन्, ‘बरु पार्टी जोगाउन म लडिरहेको छु । आज पार्टीलाई तपाईं रवि लामिछानेको निरङ्कुशता, व्यक्ति केन्द्रित व्यवहार र सोचबाट जोगाउन लागिपरेको छु । तपाईं उपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु होइन । प्रश्नका माध्यमबाट पार्टी शुद्धीकरण गर्न पाउने नेपालको संविधानले नै दिएको मेरो लोकतान्त्रिक र राजनीतिक अधिकार हो ।’

ढकालले आफूहरूले पार्टी स्थापना गर्दा लोकतान्त्रिक पार्टीको परिकल्पना गरेको तर २ वर्ष नबित्दै पार्टीको लोकतन्त्र शब्दमा मात्र सीमित भएको उल्लेख गरेका छन् । ‘तर नेपाली जनताले पटक पटक बलिदानी र त्याग गरेर ल्याएको लोकतन्त्र तपाईाको निरङ्कुशतासँग हार्दैन । सिंहको मुटु छ भनेर भाषण गर्नुभयो तर फिस्टो चराको जत्रो पनि मुटु देखिएन,’ ढकालले लामिछानेलाई लेखेका छन्, ‘उल्टै भ्रष्टाचारमा लिप्त हुनुभयो । तपाईजस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई मुक्त गराउन लड्नु, पार्टीको हितमा हो, पार्टी विपरीत होइन । यसरी म पार्टी र जनताको हितका लागि लडिरहादा पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नु सरह हुनेछ । पार्टी विपरीत म होइन तपाईं लाग्नु भएको छ ।’

पार्टीलाई स्वार्थको झुन्डबाट बचाउन आफूले कदम चालेको ढकालको दाबी छ । ढकालले उक्त जवाफको बोधार्थ निर्वाचन आयोगमा समेत पठाएका छन् ।

रास्वपाले महामन्त्री ढकाललाई पदमुक्त गरिएको जानकारी गराउँदै त्यसलाई दल दर्ता किताबमा अभिलेखीकरण गर्न गत साउन १७ मा निर्वाचन आयोगमा पत्राचार गरेको थियो । तर ढकालले आफूलाई गरिएको कारबाहीको प्रक्रिया नै त्रुटिपूर्ण रहेको जिकिर गर्दै आयोगमा निवेदन दिएका थिए । त्यस बारेमा निर्वाचन आयोगले आवश्यक सम्पूर्ण प्रक्रिया बुझेर काम गरिरहेको आयोगका एक अधिकारीको भनाई छ ।

इलाममा गत वैशाखमा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए । उक्त प्रतिवेदनमा सभापति लामिछानेको कार्यशैली र पार्टी सञ्चालन विधिमाथि आलोचना गरिएको थियो । आन्तरिक दस्ताबेज मिडियामा लगेर सार्वजनिक गरेको आरोप लगाउादै रास्वपाले ढकाललाई असार १२ मा सामान्य स्पष्टीकरण सोधेको थियो ।

जवाफ दिन २१ गतेसम्म समय दिइएकामा असार १९ मै ढकाललाई पदबाट निलम्बन गरिएको थियो भने असार २५ मा पदबाट बर्खास्त गरियो । ढकालले भने ३२ पृष्ठको प्रतिवेदनबाट आफूले दुई वटा बुँदा मात्रै बाहिर बोलेको र त्यसैलाई लिएर आफूमाथि कारबाही गरिएको बताएका छन् ।

प्रकाशित : भाद्र ७, २०८१ १९:४७
x
×