कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

आँबुखैरेनी बस दुर्घटना : मृतकको पोष्टमार्टम पोखरामा

भाद्र ७, २०८१
आँबुखैरेनी बस दुर्घटना : मृतकको पोष्टमार्टम पोखरामा

तनहुँ — तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहिरोमा शुक्रबार बस दुर्घटनामा परी मृत्यु भएकाहरुको पोष्टमार्टम पोखरामा हुने भएको छ ।

बसमा सवार ४३ मध्ये दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये २६ जनाको शव आँबुखैरेनी अस्पतालमा संकलन भएको थियो भने एक जनाको उपचारको क्रममा चितवनमा मृत्यु भएको थियो । मृत्यु हुनेहरु सबै भारतीय नागरिक भएका कारण अहिले केहीबेरअघि नेपालस्थित भारतीय दूतावासका प्रतिनिधि आँबुखैरेनी पुगेका छन् ।

अब शवहरु पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनका अनुसार पोष्टमार्टमपछि दूतावासमार्फत् शव आफन्तलाई जिम्मा लगाइने छ ।

भारतको गोरखपुरबाट पर्यटक लिएर आएको बस भदौ ४ गते बेलहिया नाकाबाट नेपाल प्रवेश गरेको थियो । भैरहवाबाट पोखरा पुगेका भारतीय पर्यटकहरू शुक्रबार बिहान काठमाडौंका लागि पोखराबाट हिँडेका थिए । उनीहरू सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान साढे ११ बजे मर्स्याङ्दी नदी किनारमा खसेको थियो ।

दुर्घटनामा घाइते १६ जनालाई उपचारकालागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनीहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बसमा सवार सबै यात्रुहरु भारतीय हुन् ।

प्रकाशित : भाद्र ७, २०८१ १९:१९
x
×