प्रमुख गन्तव्य मुलुकमा श्रमिक कटौतीको असर, नेपालीका लागि खुम्चिँदै अवसर

२०७९/८० मा पहिलोपटक श्रम सम्झौता गरेर २ लाख १९ हजार नेपाली मलेसिया गएका थिए । जुन वैदेशिक रोजगारमा जाने कुल नेपालीको २८.३९ प्रतिशत थियो । गत आर्थिक वर्ष भने ८१ हजारमा झरे । यसपटक मलेसिया जाने कुल संख्याको करिब ११ प्रतिशत मात्रै ।

श्रावण ८, २०८१

होम कार्की

Impact of labor cuts in major destination countries, shrinking opportunities for Nepalis

काठमाडौँ — प्रमुख श्रम गन्तव्य देश कतार र मलेसियाले गरिरहेको श्रमिक कटौतीको प्रत्यक्ष असर नेपालमा परेको छ । रोजगारीको अवसर खुम्चिँदै जाँदा श्रमका लागि बिदेसिने नेपालीको संख्या घटिरहेको छ । गत आर्थिक वर्षमा मात्र रोजगारीका लागि बिदेसिनेको संख्यामा ३.८९ प्रतिशतले कमी आएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार ३ सय २७ थियो । गत आर्थिक वर्षमा भने ७ लाख ४१ हजार २ सय ९७ मात्रै रोजगारीका लागि विदेश गए ।

गत आर्थिक वर्षमा पुरानै रोजगारदातासँग करार नवीकरण गरी फर्केका श्रमिकबाहेक नयाँ श्रम स्वीकृति (पहिलो पटक करार सम्झौता) लिई वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ६० हजार मात्र छ, जसमा खाडी र मलेसिया जाने मात्रै ३ लाख ६० हजार छन् । त्यसबाहेक युरोप र पूर्वी एसियामा एक लाख जना गएका छन् । श्रम नवीकरण गरी उही कम्पनी र स्वदेश फर्केका श्रमिकको संख्या २ लाख ८१ हजार छ । ‘कतार र मलेसियाजस्ता देशले अघिल्ला वर्षमा जसरी श्रमिक लिन छाडेका छन्,’ विभागका प्रवक्ता गुरुदत्त सुवेदीले भने ।

नेपालका लागि सबैभन्दा बढी रोजगारी दिने मुलुकमा हाल संयुक्त अरब इमिरेट्स (यूएई) पर्छ । यूएईले गत वर्ष संस्थागत र व्यक्तिगत गरी १ लाख ३१ हजारलाई रोजगारी दिएको थियो । मलेसियामा ८१ हजार, साउदी अरबमा ७३ हजार, कतारमा ४० हजार, कुवेतमा २८ हजार, क्रोएसियामा १४ हजार, दक्षिण कोरियामा १२ हजार ८ सय, रोमानियामा १२ हजार ७ सय, जापानमा १० हजार ५ सय र माल्दिभ्समा ६ हजार जना गएका छन् । २०७९/८० को तुलनामा गत आर्थिक वर्ष मुख्य गन्तव्यमध्ये यूएई, साउदी अरब र क्रोएसिया जाने नेपाली श्रमिकको संख्या बढेको हो । मलेसिया र कतारसँगै कुवेत जानेको संख्या पनि घटेको छ ।

मलेसिया निर्यातमा आधारित औद्योगिक अर्थतन्त्र भएको देश हो, अन्तर्राष्ट्रिय व्यापारमा आएको कमीले मलेसिया जानेभन्दा फर्किने श्रमिक मात्रै छन् ।– डिल्लीप्रसाद पौडेल, मलेसियाका लागि पूर्वनेपाली राजदूत

नेपाली श्रमिक बिदेसिने क्रम घट्नुको मुख्य कारण त्यहाँका उद्योग, कलकारखाना तथा सेवा क्षेत्रमा भएको व्यापक श्रम कटौती रहेको विज्ञहरूले जनाएका छन् । मलेसियाका लागि पूर्वनेपाली राजदूत डिल्लीप्रसाद पौडेलले दुई महिनादेखि मलेसियाले सबै स्रोत देशबाट श्रमिक लैजान बन्द गरेको बताए । ‘मलेसिया निर्यातमा आधारित औद्योगिक अर्थतन्त्र भएको देश हो । अहिले अन्तर्राष्ट्रिय व्यापारमा आएको कमीको मलेसियामा प्रत्यक्ष असर परेको छ । मलेसियाले उत्पादन गरेको सामानको अन्तर्राष्ट्रिय बजारमा बिक्रीवितरणमा निकै कमी आएको छ । उद्योगहरूले आफूसँग भएका श्रमिकलाई जसोतसो टिकाइराखेका छन्,’ अघिल्लो सरकारको राजदूत फिर्ता गर्ने निर्णयअनुसार गत बुधबार नेपाल फर्केका पौडेलले भने, ‘अहिले मलेसिया जाने श्रमिक छैनन् । मलेसियाबाट फर्किने श्रमिक मात्रै छन् ।’

Impact of labor cuts in major destination countries, shrinking opportunities for Nepalisयूईएको दुबई सहर । तस्बिर : रोयटर्स

आर्थिक वर्ष २०७९/८० मा पहिलोपटक श्रमसम्झौता गरेर २ लाख १९ हजार नेपाली मलेसिया गएका थिए, जुन वैदेशिक रोजगार जाने कुल संख्याको २८.३९ प्रतिशत थियो । गत आर्थिक वर्ष भने त्यो संख्या ८१ हजारमा झर्‍यो । यो वैदेशिक रोजगारीमा जाने कुल संख्याको करिब ११ प्रतिशत मात्रै हो । आगामी वर्ष झन् गिरावट आउने अनुमान पूर्वराजदूत पौडेलको छ । ‘मलेसियामा तुरुन्तै रोजगारी बढ्ने अवस्था देखिइँदैन,’ उनले भने ।

नेपालीका लागि अर्को मुख्य श्रमगन्तव्य कतारमा २०७९/८० मा पहिलोपटक श्रमसम्झौता गरेर ४० हजार ५ सय १७ नेपाली रोजगारीका लागि गएका थिए । गत आर्थिक वर्षमा ४० हजार नेपाली गए । यो संख्या आगामी वर्ष अझै घट्ने अनुमान छ । पूर्वराजदूत नरेशविक्रम ढकालले कतारमा ठूलो संख्यामा नेपाली श्रमिकका लागि रोजगारीको अवसर तत्काल उपलब्ध हुने स्थिति नरहेको बताए । ‘२०२२ को फिफा विश्वकपपछि कतारले नयाँ आयोजना बनाएको छैन । पहिलाजस्तो ठूला आयोजनाहरू तत्काल सुरु भइहाल्ने परिस्थिति पनि छैन । भएको रोजगारीसमेत गुमिरहेको छ,’ उनले भने, ‘निर्माण क्षेत्रमा रोजगारी छैन । बरु सेवा क्षेत्रमा देखिन्छ । जति छ, त्यो पनि पहिलेदेखि बसिरहेका नेपालीले गरिरहेका छन् ।’ उनका अनुसार कतारमा रहेका कम्पनीहरूले साउदी अरबतर्फ श्रमिक पठाउन थालेका छन् । ‘अदक्ष र अर्धदक्ष श्रमिकलाई पहिलाजस्तो अवसरको सम्भावना छैन,’ उनले भने ।

जबसम्म जलविद्युत्, पर्यटन, कच्चा पदार्थमा आधारित सिमेन्ट, औषधिसहित आईटी क्षेत्रको विकास गराउन सक्दैनौं तबसम्म नेपालमा रोजगारी दिन सकिँदैन । – विश्व पौडेल, पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग

पछिल्लो समय यूएईमा सेवा क्षेत्रका लागि जाने नेपालीको संख्या बढेको छ । व्यक्तिगत पहुँचमा जान सहज भएपछि यूएई जानेले म्यानपावर कम्पनीमा मात्रै भर पर्नुपर्दैन । नेपाल पत्रकार महासंघ यूएईका सभापति मेघराज सापकोटाका अनुसार श्रम स्वीकृति र भिजिट भिसामार्फत त्यहाँ श्रमिकको संख्या बढेको छ । ‘यूएईमा विदेशी लगानी बढेको छ । जसले सेवा क्षेत्रमा थप अवसर सिर्जना हुन थालेको छ,’ उनले भने । पछिल्लो समय यूएईले आप्रवासी कामदारसम्बन्धी नीतिमा संख्यात्मक सन्तुलनलाई प्राथमिकतामा राखेकाले नेपालीका लागि अवसरको ढोका खुलेको उनले बताए ।

Impact of labor cuts in major destination countries, shrinking opportunities for Nepalisयूएईको निर्माण क्षेत्रमा काम गर्दै नेपालीसहित आप्रवासी कामदार । फाइल तस्बिर : कान्तिपुर 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलले प्रमुख गन्तव्य देशमा रोजगारीको अवसर खुम्चिए पनि समग्रमा क्षेत्रीय सन्तुलन कायम रहेकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । ‘नेपालीका लागि वैदेशिक रोजगारीको अवसर अझै कायम देखिन्छ । कतार र मलेसियाजस्ता प्रमुख देशमा अवसर खुम्चिए पनि यूएई, कुवेतजस्तो देशमा ह्वात्तै बढेको छ । यसले खाडी क्षेत्रभित्र रोजगारीको अवसरलाई सन्तुलनमा राखेको देखिन्छ,’ उनले भने, ‘योबाहेक रोमानिया, क्रोएसिया र जापानजस्ता देशमा अवसर बढ्दै गएको छ ।’

पौडेलका अनुसार उच्च तह र उच्च आम्दानीभन्दा अदक्ष र अर्धदक्ष श्रमिकले पाउने अवसर महत्त्वपूर्ण रहेको बताए । ‘हामीसँग अदक्ष र अर्धदक्ष प्रकृतिको जनशक्तिको संख्या बढी छ । यो प्रकृतिको जनशक्तिसँग सीप छैन, भाषा छैन, न्यून आम्दानी छ,’ उनले भने, ‘हाम्रो आन्तरिक श्रम बजारमा यो प्रकृतिको जनशक्तिलाई रोजगारीको अवसर छैन । उनीहरूले वैदेशिक रोजगारीमा अवसर पाइरहेका छन् ।’ स्थानीय तहमार्फत बेरोजगारको सूचीमा सूचीकृत ८ लाख ८५ हजार जनासँग सीप छैन । ‘सीप नभएका युवालाई रोजगार दिने बजार चाहिएको छ,’ पौडेलले भने, ‘जबसम्म जलविद्युत्, पर्यटन, कच्चा पदार्थमा आधारित सिमेन्ट, औषधिसहित आईटी (सूचना प्रविधि) क्षेत्रको विकास गराउन सक्दैनौं, तबसम्म श्रम बजारमा उपलब्ध जनशक्तिलाई मर्यादित रोजगारी दिन सकिँदैन ।’ 

स्वदेशमा रोजगारी सिर्जना नहुने, विदेशमा पनि श्रमिक कटौती हुन थालेपछि यसको असर नेपालको अर्थतन्त्रमा पर्ने जोखिम छ । राष्ट्र बैंकका अनुसार गत जेठसम्म रेमिट्यान्स आप्रवाह १३ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । त्यही कारण मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चितिले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको महत्त्वपूर्ण योगदान छ । वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहँदा मुलुकमा लगानीको वातावरणमा जोड दिनुपर्ने विज्ञको सुझाव छ । ‘मुलुकमा लगानीका लागि वातावरण नै हुन सकिरहेको छैन । पहिलाभन्दा राजस्व संकलन खराब भएको छ । यस्तो अवस्थामा मुलुकभित्र कसरी रोजगार सिर्जना हुन सक्छ ?’ पौडेलले भने, ‘यस्तो अवस्थामा हाम्रो जनशक्तिको आश्रय वैदेशिक रोजगारीमा बढ्छ । त्यस्तो हुन नदिन निजी र सरकारी लगानी नै बढाउनुपर्छ ।’

Impact of labor cuts in major destination countries, shrinking opportunities for Nepalisत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसिया जाने क्रममा नेपाली कामदारहरू । फाइल तस्बिर : कान्तिपुर

माइग्रेसन ल्याबकी संस्थापक निर्देशक उपासना खड्का वैदेशिक रोजगारीका सन्दर्भमा कति जना विदेश गइरहेका छन् भनेर मात्र हेर्न नहुने बताउँछिन् । ‘उनीहरूले कस्तो रोजगारी पाए ? उनीहरूका रोजगारदाता कस्ता छन् ? सेवा–सुविधा कति छ ? सीप विकास गर्ने अवस्था छ कि छैन ? भविष्यमा थप वृत्ति विकास हुन्छ कि हुँदैन भनेर हेर्नुपर्छ,’ उनले भनिन्, ‘सबै वैदेशिक रोजगारीलाई एउटै डालोमा नराखेर बढी लाभदायक हुने रोजगारीको संख्यालाई बढाइनुपर्छ । वैदेशिक रोजगारीको अवसर पाएका युवाले आकर्षक कमाइ गर्ने, नयाँ सीप सिक्ने, उन्नति गर्ने र नेपाल फर्केर पनि आर्थिक तथा सामाजिक रूपमा योगदान दिने भए लाभदायक हुन्छ ।’

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीका लागि नेपाली खाडीमा मात्रै केन्द्रित हुन नहुने बताए । ‘नेपालले पहिलेदेखि नै खाडीको विकल्प खोज्नुपर्छ भनिरहेको हो । एउटा क्षेत्रमा असर देखिनेबित्तिकैको परिणाम नेपालले भोग्नुपर्छ,’ उनले भने, ‘अब राज्यले युरोपमा श्रमिक पठाउन सहजीकरण गर्नुपर्छ । संस्थागत मागपत्र स्वीकृति गर्ने नीति लिनुपर्छ ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully