कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

देउवालाई चौधरीको सुझाव : चार महिनापछि 'छल गर्‍यो मायाले...' गीत गाउन नपरोस्

देउवालाई चौधरीको सुझाव : चार महिनापछि 'छल गर्‍यो मायाले...' गीत गाउन नपरोस्

काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउँदै गर्दा सचेत रहन कांग्रेस सभापति शेरबहादुर देउवालाई संसद्मा आग्रह गरिएको छ । एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले कांग्रेस सभापति देउवालाई समयमै सचेत भएर बस्न सुझाएका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा शुक्रबार राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै एकीकृत समाजवादीका प्रमुख सचेतक चौधरीले संविधानमाथि र संसद्माथि प्रहार हुने अवस्था आएमा साक्षी नबस्न पनि आग्रह गरे ।

'कांग्रेस सभापतिलाई आग्रह गर्न चाहन्छु, नेपालको लोकतान्त्रिक व्यवस्थालाई कमजोर हुने गरी, संसद् विघटन हुने गरी साक्षी नबस्नुहोला । यो १०० प्रतिशत त्यो ठाउँमा पुग्छ,' चौधरीले भने, 'चार महिनाछि बहालवाला प्रधानमन्त्रीको जस्तो हालत नहोस् । यो 'छल गर्‍यो मायाले...' भन्ने गीत छ, त्यो गुनगुनाउन नपरोस्, बुढानीलकण्ठको निवासमा बसेर ।' कांग्रेस र एमालेको सरकार धेरै नटिक्ने पनि चौधरीको भनाइ थियो ।

वर्तमान सत्तारुढ गठबन्धन भत्किनुको दोष कांग्रेस सभापति देउवा नदिन चौधरीले दाहाललाई आग्रह गरेका छन् । देउवासँगको सम्बन्धलाई सन्तुलनमा राखिरहन भन्दै चार महिनापछि परिस्थिति दाहालको अनुकूल हुने उनको भनाइ थियो ।

‘आज परिस्थिति जस्तो भए पनि कांग्रेसका सभापतिलाई दोषी तपाईं कत्ति पनि नदेख्नु होला । उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला । चार महिनामै परिस्थिति अनुकूल भई त हाल्छ, १०० प्रतिशत । आजको मितिले चार महिना गनेरै बसौं । चार महिनामा अनुकूल परिस्थिति तपाईंकै पक्षमा हुन्छ,' चौधरीले भने, 'त्यसैले सबैसँग बराबरमा रहेर व्यवहार गर्नुहोला यो मेरो अनुरोध छ ।'

प्रमुख सचेतक चौधरीले दुई ठूला दल मिल्दा असंवैधानिक काम पनि संवैधानिक हुन्छ ? भनि प्रश्नसमेत गरेका थिए । आगामी सरकार संविधानको धारा ७६(३) बमोजिम गठन हुने पनि उनको दाबी थियो । कांग्रेस र एमालेलाई असंवैधानिक काम नगर्न उनले आग्रह गरे ।

प्रकाशित : असार २८, २०८१ १६:३८
x
×