कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सुन तस्करीमा महरालाई उन्मुक्ति

आश्विन २२, २०८०
सुन तस्करीमा महरालाई उन्मुक्ति

Highlights

  • सीआईबीले सरकारी वकिलको कार्यालयमा पेस गरेको आरोपपत्रमा सुन तस्करसँग फोन सम्पर्क भएको कल डिटेल रेकर्ड पेस, पूर्वसभामुख महराद्वारा सामान छुटाउन पहल गरेको स्वीकार
  • महराका छोरा राहुलसहित तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ, लोकेन्द्र पौडेल र फरार रहेका निमा गुरुङविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा चलाउन राय

काठमाडौँ — विद्युतीय चुरोट (भेप) मा लुकाएर भित्र्याइएको सुन तस्करी प्रकरणमा जोडिएका पूर्वसभामुख एवं सत्तारूढ माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा उन्मुक्ति दिने गरी प्रहरीले राय प्रतिवेदन तयार पारेको छ ।

महरामाथिको अनुसन्धान रोक्न सुरुमै प्रधानमन्त्री पुष्पकमल दाहालबाट दबाब परे पनि बाध्य भएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई अनुसन्धानको दायरामा भने ल्याएको थियो । तर अनुसन्धान टुंग्याउँदा उनलाई चोख्याएर प्रतिवेदन तयार पारिएको हो । जबकि सीआईबीले यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गरेको आरोपपत्रमा महरा बाबुछोराको सुन तस्करसँग टेलिफोन सम्पर्क भएको कल डिटेल रेकर्डसमेत उल्लेख छ ।

तर यस पटक प्रहरीले महराका छोरा राहुललाई मात्र संगठित अपराध र भन्सार छलीको कसुरमा मुद्दा चलाउन रायसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको हो । राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत भदौ १३ मा पक्राउ गरेको थियो ।

पूर्वसभामुख महरासँग गत असोज १५ मा सीआईबीले कार्यालयमा बोलाएर बयान कागज गराएको थियो । भेपमा लुकाएर सुन ल्याउने गिरोहका नाइके दावाजिनसँग निकट पूर्वसभामुख महरालाई भने तथ्य र प्रमाणले पुष्टि नगरेको भन्दै सीआईबीले उन्मुक्ति दिएको छ । पूर्वसभामुख महरासँग सीआईबीले सोधपुछ मात्रै गरेर छाडेको हो । सीआईबीका एसएसपी दिनेश आचार्यका अनुसार भेप प्रकरणमा अहिलेको अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणबमोजिम ४ जनालाई प्रतिवादी र अरू ६ जना चिनियाँलाई पछि पक्राउ परेका बखत हुने गरी मुद्दाको अभियोजन गर्न रायसहित प्रतिवेदन बुझाइएको छ ।

भेप प्रकरणमा जोडिएका अरू आरोपित हाल फरार रहेको र उनीहरू पक्राउ परेका बखत थप खुलेमा त्यहीअनुसार हुने गरी हाललाई ४ जनामाथि मात्र मुद्दा चलाउनुपर्ने सीआईबीको राय छ । अहिलेको अनुसन्धानमा पूर्वसभामुख महराको तस्करीमा संलग्नता नभेटिएकाले तथ्य र प्रमाणले खुलेकालाई मात्रै प्रतिवादी बनाइएको आचार्यको दाबी छ ।

जबकि पूर्वसभामुख महराले दुबईबाट ली हासङले सुटकेसभित्र ल्याएका भेप भन्सारमा जफत भएपछि दावाजिनले छुटाउन आग्रह गरेको स्वीकार गरिसकेका छन् । ‘सामान भन्सार रोकिए, तीन दिन भयो, के भएको हो बुझिदिनुपर्ने भयो भनी मलाई भनेको तथा मैले भन्सारमा के कसो भएको हो, कानुनबमोजिम के गर्न मिल्छ हेरिदिनुहोला भनी फोन गरेको हो,’ महराको बयान कागजमा उल्लेख छ, ‘दावाजिन वाङसँग मेरो पुरानो चिनजान हो, उनलाई म फलफूल व्यापारीका रूपमा चिन्छु । योबाहेक निजसँग अन्य कुनै विषयमा कुराकानी हुने र अन्य कुनै किसिमको सम्बन्ध पनि छैन ।’

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले सीआईबीबाट शुक्रबार रायसहितको प्रतिवेदन आएको बताए । प्रतिवेदनमा महरालाई बयान कागजका रूपमा उल्लेख गरिएको र प्रतिवादीको सूचीमा नराखिएको बताए ।

‘सीआईबीले भेपको आवरणमा भएको सुन तस्करीसम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ । पक्राउ परेका तीन जना र एक फरारलाई सूचीमा राखेर प्रतिवेदन ल्याइएको छ,’ उनले कान्तिपुरसँग भने, ‘प्रतिवेदन अध्ययनका क्रममा छ, सम्भव भएसम्म मंगलबारसम्म अभियोगपत्र अदालतमा पेस गरिसक्छौं ।’

सीआईबीले भेप प्रकरणमा पूर्वसभामुख महराका छोरा राहुलसहित तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ सुन तस्करका सहयोगी लोकेन्द्र पौडेल र फरार रहेका निमा गुरुङविरुद्ध ९ केजी ११.५२४ ग्राम सुन तस्करी अभियोगमा ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरेर संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा चलाउन राय दिएको हो । राहुललाई चिनियाँ तस्करको सहयोगीका रूपमा प्रतिवादी बनाउन भनिएको छ । भेपको सुनमा प्रतिवादी बनाइएका दावा छिरिङ ६१ केजी सुन र त्यसको अनुसन्धानबाट खुलेका थप तस्करी प्रकरणमा हाल पुर्पक्षका क्रममा कारागारमै छन् ।

सीआईबीले दावा छिरिङसँग कारागारबाटै झिकाएर बयान लिएको थियो । भेप प्रकरणमा चिनियाँ गिरोहका दावाजिन वाङ, आसिन पेङ, ली फेङ पेङ, झाङजिन च्वाँ, ली हसङ र लिन नामका अर्का चिनियाँ गरी ६ जनालाई सीआईबीले फरार सूचीमा राखेको छ । हाल फरार विदेशीका हकमा नेपालमा पक्राउ परेका बखत अनुसन्धानबाट खुलेबमोजिम हुने गरी मुद्दाको अभियोजन गर्नॅपर्ने सीआईबीको राय छ । दावाजिन ६१ केजी सुन प्रकरणमा पनि फरार छन् ।

२०७९ पुस १० मा दुबईबाट चिनियाँ तस्करले ल्याएको ७ सय ३० थान भेप शंका लागेर त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । गोदाम सिल गरेर भेप राखिएपछि सुन तस्कर दावाजिनसहितको समूहले महरामार्फत छुटाउन भन्सार कार्यालयका अधिकारीलाई दबाब दिएका थिए । पूर्वसभामुख महरा र उनका छोरा राहुलले राज्य शक्तिको दुरुपयोग गरी सुनसहितका भेप छुटाउन चलखेल गरेका थिए । भन्सारले भेप लिलामीमा लैजाने निर्णय लिएपछि लिलामी सकार्न पनि चिनियाँ तस्करले महराका बाबुछोरामार्फत दबाब दिएका थिए । त्यस क्रममा महरा–बाबुछोराले नै भन्सारका कर्मचारीदेखि चिनियाँ सुन तस्करसम्मलाई २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलिसकेको छ ।

सीआईबीलाई दिएको बयान कागजमा आफूले सामान छुटाउन आग्रह गरेको स्विकारेका पूर्वसभामुख महराले भेपमा सुन थियो भन्ने आफूलाई थाहा नभएको जिकिर गरेका छन् । पछि भन्सार गोदामबाटै सुनसहितका भेप चोरिएपछि मात्र चिनियाँले सुन लुकाएर ल्याएको खुलेको थियो । त्यसपछि यो विषयको अनुसन्धान गर्न भन्सार प्रमुख अरुण पोखरेलले सीआईबीसमक्ष पत्र पठाएका थिए । त्यसको अनुसन्धान गर्ने क्रममा महरा बाबुछोराको सुन तस्करसँग सम्बन्ध खुलेको थियो । तर २०८० असार २७ मा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गर्दा महरा बाबुछोरालाई प्रतिवादी बनाएको थिएन ।

सीआईबीलाई दिएको बयानमा राहुलले आफू सन् २०१२ मा चीनको छन्दु जाँदा दावाजिनसँग चिनजान भएको जिकिर गरेका छन् । ‘दावाजिनले चीनबाट फलफूल आयात गरी बिक्री गर्ने काम गर्दै आएको छु भनेका थिए । ६ महिना छेन्दुमा बसेर नेपाल फर्किएपछि दावाजिनसँग बेलाबखत फोनमा सामान्य कुराकानी हुन्थ्यो,’ राहुलले बयानमा भनेका छन्, ‘मलाई हाल यकिन मिति याद भएन, दावाजिनले मेरो मोबाइलमा कल गरी भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ, के भएको हो निकाल्न मिल्छ/मिल्दैन बुझिदिनुपर्‍यो भनी अनुरोध गरेका कारण मैले प्रमुख भन्सार अधिकृतलाई फोन गरी भेप एयरपोर्टमा रोकिएछ, के भएर रोकिएको हो भनी सोधपुछ गर्दा भेप जफत भएको छ, भन्सार तिरेर पनि फिर्ता दिन मिल्दैन, यो लिलामी प्रक्रियामा अगाडि बढ्छ भनेका थिए । त्यसपछि पनि दावाजिन वाङले मलाई पटक–पटक फोन गरी उक्त भेपको के भइरहेको छ बुझिदिनुपर्‍यो भनेका थिए ।’ राहुलले आफूले प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई कार्यकक्षमै गएर जफत भएको भेप के गर्न सकिन्छ भनेर कुराकानी गरेको स्विकारेका छन् । भेपको सुन तस्करी अनुसन्धान अघि बढेपछि राहुलले आफ्ना चार वटा मोबाइल लुकाएका थिए । पटक–पटक ती मोबाइल सीआईबीले माग्दा हराएको भनेर पन्छिएका थिए ।

‘मैले प्रयोग गरेको मोबाइल आइफोन १३ प्रोम्याक्स फुटेर बिग्रियो । दुई–तीन पटक बनाउँदा पनि नबनेपछि घरमा फ्यालेको थिएँ । आइफोन १४ प्रोम्याक्स मेरो साथी गोपाल शर्माको हो । उक्त मोबाइल मैले उसैलाई नै फिर्ता गरेको हो । हुवाईको फोन मैले घरमा नै राखेको थिएँ । मेरो आफन्तले घरमा खोज्दा ती फोन फेला नपरेको भनी मलाई जानकारी गराएकाले मैले उक्त मोबाइलहरू उपलब्ध गराउन सक्दिनँ,’ उनले बयानमा भनेका थिए । तस्करीको पोल खुल्ने डरले राहुलले मोबाइल लुकाएको एक अनुसन्धान अधिकारीको भनाइ छ ।

महरासँग सम्बन्ध खुलेका दावाजिनसहितको गिरोहले ११ महिना अवधिमा मात्रै ३ सय ६३ केजी सुन तस्करीबाट भित्र्याएको खुलेको थियो । सञ्चारमाध्यम र जनस्तरको दबाबका कारण मात्र अनुसन्धानको दायरामा तानिएका उनीहरूमाथि त्यसपछि मात्र सीआईबीले संगठित अपराधका दफासहित पुनः अनुसन्धान अघि बढाएको थियो ।

प्रकाशित : आश्विन २२, २०८० ०७:०९
x
×