कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

सात महिनामा सरकारले वरको सिन्को पर पनि सारेन : केपी ओली

सात महिनामा सरकारले वरको सिन्को पर पनि सारेन : केपी ओली

Highlights

  • 'एमाले अब सरकार बनाउनेतिर ध्यान नदिएर 'मिसन २०८४' अर्थात् आगामी निर्वाचनमा बहुमत ल्याउने अभियानमा केन्द्रित छ'

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले झुट बोलेर जनतालाई झुक्याउने काम गरिरहेको आरोप लगाएका छन् । सात महिनाको अवधिमा सरकारले 'वरको सिन्को पर पनि नसारेको' भन्दै ओलीले सरकारका गतिविधिप्रति आक्रोश व्यक्त गरे ।

ओलीले भनेका छन्, 'सात महिना त सिद्धियो । यो सरकारले के गर्‍यो त ? वरतिरको सिन्को परतिर के सार्‍यो ? केही पनि गरेको छैन राम्रो काम । यसले के गर्‍यो ? ढाँट्छ, छक्याउँछ । मिटरब्याजीहरूको सम्बन्धमा जेठ २४ गते विधेयक पास गर्न दिएनन् भनेर गृहमन्त्री कड्किए । यिनीहरुनै हुन, जसले वैशाख २४ गते पेस गर्नुपर्ने कुरा असार ५ गते पेस गर्छन् संसद्‍मा । के हेरेर बसे ? राष्ट्रिय सभामा असार ५ गते पेस गर्छन, वैशाख २४ गते गर्नुपर्ने त्यो अध्यादेश सम्बन्धी प्रतिस्थापन विधेयक । वैशाख २४ देखि असार ५ सम्म के हेरेर बसे ? अथवा बिल्कुल उदासिन, लापरबाही र यिनीहरु सामन्तको पक्षमा भएका हुनाले यिनीहरुले त्यो गरेका हुन् ।'

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको वाग्मती प्रदेश संगठन कमिटीको सातौं बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस क्रममा उनले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिसनमा लागेको बताएका थिए ।

साथै कांग्रेससँग मिलेर सरकार बनाउने चर्चा भइरहँदा उनले एमाले अहिले सरकारमा सहभागी नहुने बताएका थिए । मिटरब्याज सम्बन्धी कानुन निर्माणको सन्दर्भमा उनले वर्तमान सरकारले नै चासो नदिएको पनि आरोप लगाएका थिए ।

'६० दिनभित्र अध्यादेश वा त्यसलाई प्रतिस्थापन गर्ने विधेयकको म्याद सिद्धिन्छ । २० गते सिध्याए । प्रचण्डजी एण्ड कम्पनीको ७ गठबन्धन, १० गठबन्धन कतिको गठबन्धन हो । यो गठबन्धनको सरकारको हो । यसलाई असफल पारिसक्यो । हिजो ६० दिन कटेको ५ दिनपछि फेरि विधेयक पारित गरौं भने । ६० दिनमा त्यो रद्द भइसक्छ । अर्को विधेयक ल्याउनुपर्छ । यिनीहरुलाई कानुन, संविधानको मतलब होइन । खाली जनता छक्याउने, अनि त्यहाँ त हामीले यो संविधान बमोजिम मिल्दैन भन्नेबित्तिकै कुदेर माइतीघर मण्डलामा पुग्ने र एमालेले हुन दिएन भन्ने ! यो सबै जनता ठग्ने चाल हो,' अध्यक्ष ओलीले भने ।

सरकारले अन्तिम अवधिमा मिटरब्याज सम्बन्धी विधेयक संसद्‍मा पेस गरे पनि संघीय संसद्‍को २० गतेको बैठकले पारित गर्ने तयारी भएको थियो । यद्यपि त्यस दिन एमाले लगायतका दलको विरोधका कारण प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको थियो । जसकारण उक्त विधेयक निस्क्रिय बनेको छ । सोही सन्दर्भलाई लक्षित गर्दै अध्यक्ष ओलीले मिटरब्याज सम्बन्धी कानुन निर्माणमा सरकार गम्भीर नबनेको आरोप लगाएका हुन् । यसैबीच ओलीले अब एमाले सरकार बनाउनेतिर ध्यान नदिएर मिसन २०८४ मा केन्द्रित रहेको बताएका छन् ।

प्रकाशित : असार २६, २०८० १६:२९
×