कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

कांग्रेस केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक बस्दै

Highlights

  • देउवाले केन्द्रीय समिति बैठकअघि नै पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् । जवकि पार्टीको विधानले यस्तो संरचनागत छलफललाई वैधानिकता प्रदान गरेको छैन ।

काठमाडौँ — प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक एक वर्षपछि बुधबारका लागि बोलाइएको छ । पार्टीमा आफूविरुद्ध सम्भावित प्रतिरोध रोक्न एक वर्षसम्म केन्द्रीय समिति बैठक नै नबोलाएका सभापति शेरबहादुर देउवाले बुधबार बस्ने केन्द्रीय समिति बैठकमा समेत आफूविरुद्ध चर्को बोली र होहल्ला होस् भन्ने चाहेका छैनन् ।

जसअनुसार सभापति देउवाले केन्द्रीय समिति बैठकअघि नै पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् । जवकि पार्टीको विधानले यस्तो संरचनागत छलफललाई वैधानिकता प्रदान गरेको छैन ।

यसबीचमा पटकपटक पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेर केन्द्रीय समितिमा हुनुपर्ने छलफल टारेका उनले यसपटक पनि केन्द्रीय समितिमा आफ्नो इच्छा अनुसारका एजेण्डामा मात्रै छलफल हुने परिस्थिति निर्माण गर्न चाहेका छन् । बुधबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । तर मंगलबारसम्म पनि केन्द्रीय समितिका एजेण्डाबारे केन्द्रीय सदस्यहरूलाई जानकारी दिइएको छैन । बैठकका एजेण्डाका विषयमा सभापति देउवाले सोमबार साँझ महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए ।

सो छलफलमा सभापति देउवाले दुई महामन्त्रीलाई एजेण्डा तयार गरेर ल्याउन भनेका छन् भने महामन्त्रीहरूले तयार गरेको ड्राफ्टमा बुधबार विहान पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफलपछि मात्रै केन्द्रीय समितिका एजेण्डाको टुंगो लगाउने तयारी छ ।

बैठकका एजेण्डा तय गर्ने विषयमा पार्टीमा छलफल भइरहेको भएपनि बुधबार बिहान बस्ने बैठकले मात्रै एजेण्डाको टुंगो लगाउने एक पदाधिकारीले बताए । ‘सभापति र महामन्त्रीहरूबीच एजेण्डाका विषयमा छलफल भइरहेकै छ । तर केन्द्रीय सदस्यहरूलाई अहिलेसम्म त्यसको जानकारी दिइएको छैन,’ ती पदाधिकारीले भने, ‘केन्द्रीय समितिमा धेरै होहल्ला नहोस् भन्ने उहाँको चाहना देखिन्छ । त्यसैले बिहान पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको छ ।’

कांग्रेसले गतवर्ष २७ असारदेखि नै चार दिनसम्म केन्द्रीय समितिमा छलफल गरेको थियो । त्यसयता राष्ट्रिय राजनीतिमा थुप्रै महत्वका घटनाहरू भए पनि सभापति देउवाले ती विषयलाई केन्द्रीय समितिमा लगेका छैनन् ।

त्यसो त सभापति देउवाले त्यसभन्दा पहिले नै केन्द्रीय समितिबाट निर्णय भएर सभापतिलाई जिम्मेवारी दिएका भ्रातृ संस्थाको गठन, विभाग गठन लगायतका निर्णयहरूको कार्यान्वयन समेत गरिसकेका छैनन् । महाधिवेशनको डेढ वर्ष बित्दासमेत पार्टीको कोषाध्यक्ष अझै रिक्त छ । नेताहरूका अनुसार बुधबारको बैठकमा सभापति देउवाले पार्टीको कोषाध्यक्षको नामसमेत प्रस्ताव गर्न सक्ने बताएका छन् ।

विधान अनुसार सभापति देउवाले केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका सदस्यहरूमध्येबाट एक जनालाई केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा पदमा मनोनीत गर्न प्रस्ताव गर्ने व्यवस्था छ । संख्याका आधारमा केन्द्रीय समितिमा देउवाको प्रस्ताव पारित हुन कुनै समस्या छैन ।

प्रकाशित : असार २६, २०८० १६:४५
×