कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

‘बृहत् खोज र खोप’ अभियानमार्फत ४० हजार बालबालिकाले लगाए खोप 

असार २६, २०८०
‘बृहत् खोज र खोप’ अभियानमार्फत ४० हजार बालबालिकाले लगाए खोप 

Highlights

  • नेपाल जनसांख्यिक सर्वेक्षणअनुसार १६ प्रतिशत बालबालिकाहरू पूर्ण खोपबाट वञ्चित छन् भने ४ प्रतिशत बच्चा शून्य डोज पनि लगाएका छैनन् ।

काठमाडौँ — ‘बृहत खोज र खोप’ अभियानमार्फत करिब ४० हजार बालबालिकाले खोप लगाएका छन् । यही वैशाख १५ र वैशाख ३१ गते (दुई दिन) राष्ट्रव्यापी रूपमा सञ्चालित नियमित खोप टुटेका ५९ महिनासम्मका बालबालिकाहरुको पहिचान गरी खोप लगाइएको थियो ।  

परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाले जनाएअनुसार सञ्चालित अभियानमा ४० हजार ४५० बालबालिकालाई खोजेर खोप लगाइएको हो । सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिकाहरूलाई खोप दिइएको थियो ।

खोप शाखाका अनुसार २ हजार ९० जना नियमित खोप नपाएका(शून्य मात्रा) बालबालिकालाई खोप लगाइएको छ ।त्यसैगरी ९ देखि २३ महिना उमेर समूहका २५ हजार ३९८ बालबालिकाले खोप पाएका छन् भने २४ देखि ५९ महिना उमेर समूहका १२ हजार ९६२ बालबालिकाले खोप लगाएका छन् । देशभर कुल ४ हजार ६०७ खोप सेसन सञ्चालन गरिएको थियो ।

खोप शाखा प्रमुख डा. अभियान गौतमले अभियान सञ्चालन गर्दा शिक्षित तथा जानकार व्यक्तिहरूले पनि बालबालिकालाई खोप लगाउन छुटाएको बताउँछन् । उनी भन्छन्, ‘शिक्षित व्यक्तिले पनि बालबालिकामा खोप छुटाएको पाइयो । फोनको खोप मेसेजवाला रिङटोनले पनि धेरैले खोपको बारेमा जानकारी पाएको भने । स्वास्थ्यकर्मीसमेत आफ्ना बच्चाहरूलाई खोप लगाउन छुटाएका रहेछन्। खोपको पहुँचमा नपुगेका मानिसहरुको कस्तो अवस्था होला?’

उनले खोपको कभरेज कम भएका जिल्लाहरूमा यसको महत्त्वबारे अभिमुखीकरण तालिम सञ्चालन भइरहेको जनाए । ‘खोप अभियान कसरी सञ्चालन गर्ने भन्ने विषयमा मेयरहरूसित छलफल भएको छ । ग्रामीणभन्दा पनि सहरी क्षेत्रमा अझै खोपको दायरामा आउन सकेका छैनन्। कामकाजी जनसंख्याले खोप लगाउने कुरा छुटाएका छन्। सहरी जनसंख्यामा खोपको अभियान सुदृढ बनाएर लानुपर्ने छ,’गौतमले भने ।

नेपालमा राष्ट्रिय खोप तालिकाअनुसार बालबालिकाले १५ महिनाभित्र पाउनु पर्ने नियमित खोप पाएको यकिन गर्न माघदेखि चैत महिनासम्म घरधुरी सर्वेक्षण गरी १६ देखि २३ महिनासम्मका बालबालिकाको पूर्णखोप सुनिश्चित गरी वडादेखि संघीय तहसम्म वैशाख महिनालाई खोप महिना मनाउँदै आएको छ ।

डा. गौतमले खोपबाट कोही पनि बालबालिका नछुटुन् भन्ने उद्धेश्यले विद्यालय भर्नाको समयमा ५ वर्षमुनिका बालबलिकाहरूको खोप अनुगमन गर्ने, ५ वर्षमुनिका बच्चाले पाउने कुनै सुविधा लिँदा खोप कार्ड अनिवार्य हुने, प्रत्येक वडा तहदेखि सुक्ष्म योजना अद्यावधिक गरी खोप सेवाको सुदृढीकरण गर्ने आदि कार्यक्रम अगाडि बढाएर लगिने बताए ।

बाल मृत्युदर घटाउन तथा बालबालिकालाई विभिन्न रोगबाट जोगाउन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको कार्यक्रम हो, राष्ट्रिय खोप कार्यक्रम । यो खोप कार्यक्रममार्फत हाल सबै जिल्लामा १३ वटा रोगविरुद्धको खोप दिइन्छ ।

सबै प्रकारका खोप पाउने बालबालिकाहरूले नैसर्गिक अधिकार हो । तर विभिन्न कारणले सबै बालबालिका खोपको पहुँचमा आउन सकेका छैनन् । नेपालमा ९६ प्रतिशत बालबालिकाले खोप सुरु गरेको देखिन्छ तर विभिन्न कारणले बालबालिकाहरू खोप लगाउनबाट वञ्चित भइरहेका छन् । नेपाल जनसांख्यिक सर्वेक्षणअनुसार १६ प्रतिशत बालबालिकाहरू पूर्ण खोपबाट वञ्चित छन् भने ४ प्रतिशत बच्चा शून्य डोज पनि लगाएका छैनन् । यो संख्या सन् २०१६ को सर्वेक्षण १ प्रतिशत मात्र थियो ।धेरैले ९ महिनासम्म ९ महिनासम्म खोप लगाए पनि पूर्ण मात्राको खोप लगाउने समयसम्म ड्रपआउट भएको तथ्यांकले देखाउँछन् ।

खोपको पूर्णमात्राबारे जानकारीको अभाव, खोप लगाइने स्थान र समयका बारेमा जानकारी अभाव, खोप सेवामा प्रभावकारी परामर्शको कमी, केही समुदाय, स्थानहरूमा खोप लिन हिच्किचाहट र खोपप्रतिको गलत बुझाइ, खोप सेवाको पहुँचमा कमी र कोभिड-१९ महामारीका बेला भएको लकडाउनलगायत कारणले पनि धेरै बालबालिकाले खोप लगाउन छुटेको देखिएको छ ।

विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार सन् २०२१ मा २ करोड ५० लाख बालबालिकाहरूले खोप पाएका छैनन् भने यो संख्या सन् २०१९ मा ६० लाख थियो । परिवार कल्याण महाशाखाको नियमित खोप कभरेजको तथ्यांक हेर्ने हो भने खोपपिच्छे कभरेज फरक छ । सबैभन्दा बढी खोप कभरेज बी.सी.जी खोपको छ जुन जन्मिनेबित्तिकै लगाइन्छ । २०७८–७९ मा यसको कभरेज १०४ प्रतिशत रहेको छ भने अघिल्लो वर्ष कभरेज ९१ रहेको थियो ।

फाइभ इन वान (पेन्टाभ्यालेन्ट भ्याक्सिन) जसमा डिप्थेरिया, टिटानस, हुपिङ कफ, पोलियो र हेमोफिलस इन्फ्लुएन्जा गरी ५ वटा रोगविरुद्ध लगाइन्छ । यो खोपको विगतको ४ वर्षको अवस्था हेर्दा भने कभरेज बढेको देखिन्छ । २०१९ मा ८६ प्रतिशत रहेकोमा हाल कभरेज ९८.८ प्रतिशत रहेको छ ।

अरु खोपमा सन्तोषजनक देखिए पनि दादुराको दोस्रो मात्राको खोप लगाउने भने सन्तोषजनक देखिएको छैन । तथ्यांक हेर्ने हो भने ९२.८ प्रतिशतले मात्र दोस्रो मात्राको खोप लगाएका छन् । सबै तहमा सबै खोपको कभरेज ९५ प्रतिशतभन्दा माथि हुनुपर्ने भन्ने सरकारको लक्ष्य छ । त्यहीअनुसार हेर्ने हो भने केही जिल्लामा प्रतिशत योभन्दा बढी छ भने केहीमा अझै बढाउनुपर्ने देखिन्छ ।

प्रकाशित : असार २६, २०८० १६:३९
×