कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

माओवादी सांसदले भने : बजेटप्रति केही नेता, मन्त्री र बिचौलियाबाहेक असन्तुष्ट छन्

माओवादी सांसदले भने : बजेटप्रति केही नेता, मन्त्री र बिचौलियाबाहेक असन्तुष्ट छन्

Highlights

  • 'बजेट सत्तापक्षका सांसदले पारित त गरौंला तर सन्तुष्टिका साथ होइन'

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले आगामी आर्थिक वर्षको बजेटप्रति प्रतिपक्षी दलका मात्रै नभएर सत्तारुढ दलकै सांसद असन्तुष्ट रहेको बताएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसद स्वाँरले केही नेता र बिचौलिया मात्रै बजेटप्रति सन्तुष्ट रहेको दाबी गरे ।

सत्तारुढ सांसदको हैसियतले बजेत पारित गर्न बाध्य भएपनि त्यो कार्य खुसीले नहुने सांसद स्वाँरको भनाइ थियो । 'बजेटप्रति प्रतिपक्षका मात्रै होइन हामी सत्तापक्षका सांसद पनि सन्तुष्ट छैनौं । केही नेता, मन्त्री र बिचौलियाबाहेक सबै असन्तुष्ट छन्,' उनले भने, 'बजेट प्रतिनिधसभामा पारित भइसकेको छ । राष्ट्रिय सभामा पनि हामी सत्तापक्षका सांसदले पारित त गरौंला तर सन्तुष्टिका साथ होइन ।'

बजेटको मन्त्रालयगत विनियोजनबारे छलफलमा उठेका सुझाव सम्बोधन नहुँदा समस्या हुन लागेको सांसद स्वाँरको भनाइ थियो । 'मन्त्रालयगत विनियोजनबारे निरन्तर छलफलबाट सुझाव दिइरहेका छौं । त्यसलाई सुन्ने र ग्रहण गर्ने गरिएको छैन । त्यसैले बजेटमाथि छलफलको कुनै औचित्य छैन भन्ने धारणा रहेको छ,' उनले भने ।

बजेट निर्माण र पारित गर्ने प्रणालीमा परिमार्जन गर्ने बेला आइसकेको सांसद स्वाँरको भनाइ थियो । उनले सामाजिक न्यायका कुरा गर्ने हो भने बजेटलाई सही ढंगले विनियोजन गर्नुपर्ने बताए । बजेट निर्माणमा सरोकारवाला, विज्ञ र जनप्रतिनिधिलाई बेवास्ता गर्नु ठिक नभएको उनले बताए । 'बजेट खर्च कटौती होइन संशोधनसहित परिमार्जन गर्ने व्यवस्था सुरु गर्नुपर्छ,' उनले भने ।

बजेट संघीयताको मर्मअनुकूल र सन्तुलित नभएको पनि सांसद स्वाँरको भनाइ थियो ।

प्रकाशित : असार २६, २०८० १३:५२
×