कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

जसपा विधान अधिवेशन : ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने

जसपा विधान अधिवेशन : ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)मा ७० वर्षे उमेर हदको प्रस्ताव आएको छ । आइतबारदेखि काठमाडौंमा हुन लागेको विधान महाधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले पेस गर्ने प्रस्तावित विधानको मस्यौदामा ७० वर्षे उमेर हदको प्रस्ताव गरिएको छ । प्रस्तावित विधानको दफा ८६ मा भनिएको छ, '७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनीत हुन पाउनेछैन ।'

अध्यक्ष यादवले महाधिवेशनमा पेस गर्न लागेको विधान मस्यौदामा पार्टीको केन्द्रीय समिति १५१ सदस्यीय हुने र एक व्यक्ति एकै पदमा दुई पटकभन्दा बढी रहन नपाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ ।

अब यो विधान पारित भएर लागू भएपछि पार्टीमा एकै व्यक्ति दुई कार्यकालभन्दा बढी समय नेतृत्वमा रहन पाउनेछैनन् भने ७० वर्षको उमेर हदसमेत लाग्नेछ । स्थापनाकालदेखि निरन्तर अध्यक्ष रहेका यादव अहिले ६४ वर्षका भए भने हाल संघीय परिषद् अध्यक्ष रहेका अशोक राई ६६ वर्ष पुगेका छन् ।

नयाँ विधानबमोजिम जसपामा अब अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ३ र कोषाध्यक्ष १ गरी १३ सदस्यीय पदाधिकारी चयन हुनेछन् । पदाधिकारी तथा सदस्यहरूको निर्वाचन गर्दा तीन जना निर्वाचित हुने पदमा एक जना महिलासहित सामाजिक समूहहरूको समावेशी हुनुपर्ने उल्लेख छ ।

प्रस्तावित विधानमा संघीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित १५ जना सदस्य समेत रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन हुने र सो समितिमा निर्वाचनमा कम्तीमा एकतिहाइ महिलासहित खस–आर्य, आदिवासी जनजाति, मधेसी, थारू, दलित, मुस्लिम र अल्पसङ्ख्यक समुदायका जातीय/सामाजिक समूहबाट ७० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्यहरू (पदाधिकारीबाहेक) निर्वाचित हुने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ ।

विधानमा हरेक ६ महिनामा एक पटक केन्द्रीय कमिटीको बैठक बस्ने प्रस्ताव छ । अध्यक्ष यादवले राष्ट्रिय महाधिवेशन, संघीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणीय समिति र केन्द्रीय निकायहरु रहने गरी संगठनात्मक संरचनाको प्रस्ताव गरेका छन् । नेताहरुका अनुसार अध्यक्ष यादवले प्रस्ताव गरेको विधान महाधिवेशनमा छलफलपछि पारित भएर कार्यान्वयनमा आउनेछ ।

प्रकाशित : असार १०, २०८० १३:३३
×