कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

न्याय माग्दै बिनुले थालिन् आमरण अनशन

वैशाख २९, २०८०
न्याय माग्दै बिनुले थालिन् आमरण अनशन

काठमाडौँ — आफूले न्याय पाउनुपर्ने माग गर्दै घरेलु हिंसापीडित बिनु यादवले आमरण अनशन थालेकी छन् । बुधबार सर्वोच्च अदालतको गेट अगाडि निषेधित क्षेत्रमा अनशन बसेकी उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले छोडेपछि उनी बिहीबारदेखि माइतीघरको सडकमा अनशन बसिरहेकी छिन् ।

प्रेम सम्बन्धपछि रामेछापका प्रदीप कठायतसँग विवाह गरेकी बिनुले आफूमाथि श्रीमान् र श्रीमान्‌का आफन्तबाटै बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । तर न्याय नपाएपछि निराश उनी न्यायकै लागि कहिले अदालतअघि प्रदर्शन गरेर गुहार गर्छिन्, त कहिले न्यायाधीशका अगाडि इजलासमै विष पिएर न्याय प्रशासनलाई झकझक्याउँछिन् । तर उनको बोली सुनिएको छैन ।

पटक-पटक संघर्ष गर्दा पनि सरकारले आफूलाई न्याय दिने गरी अनुसन्धान र मुद्दा प्रक्रिया अघि नबढाएको गुनासो गर्ने उनी अहिले ६ बुँदे माग राखेर आमरण अनशनमा बसेकी छिन् । 'शरीरले साथ दिँदासम्म सत्यका लागि लड्नेछु,' उनले सामाजिक सन्जालमा लेखेकी छिन्, 'बाँचे भने यस्ता धेरै माग राखेर सडकमा पीडित साथीहरुको लागि पक्कै आउनेछु । मरे भने मेरो मुद्दाको उठान गरिदिनुहोला ।'

उनले ०७५ सालमा आफूमाथि जबरजस्ती करणी हुँदा कालीमाटी प्रहरीमा दिएको उजुरी जबरजस्ती फिर्ता लिन लगाइएको भन्दै त्यस्तो कार्य गर्ने डिएसपी सुरज कार्कीलाई कारबाही गर्न माग गरेकी छिन् । उनले त्यसबेला मुद्दा फिर्ता गर्न लगाएर विवाहको नाटक रचेको र बलात्कारको हदम्याद सकिएपछि आफूसँग सम्बन्धविच्छेद गरी अलपत्र छोडेर हिँड्ने गरी षड्यन्त्र गरिएको आरोप लगाएकी छन् । उनले आफूलाई न्यायबाट बन्चित गराउने न्यायाधीश र संलग्न अधिकारीहरुलाई समेत अनुसन्धान र कारबाहीको माग गरेकी छन् ।

'मेरो मुद्दामा सुरुदेखि अनुसन्धान गरी उचित न्याय दिलाई पाउँ,' उनले भनेकी छिन्, 'मलाई पटक-पटक बलात्कारको प्रयास गर्ने काका ससुरा पवन कठायत जसको बारम्बार यातना र हिंसाको कारण मैले विषसमेत पिउन बाध्य भएँ, निजलाई नियन्त्रणमा लिई अनुसन्धान र कारबाही गरिपाउँ ।'

काका ससुरा पर्ने कठायतले राजनीतिक पावर र पैसाको भरमा आफूलाई न्यायबाट बन्चित गराएको उनको आरोप छ । 'अदालतमा हुने भनसुन र किनबेच प्रवृत्तिलाई रोक्न राज्यले कडा कदम चालोस्,' उनले भनेकी छिन् । बिनुको आमरण अनशनमा अधिकारकर्मीहरुले समेत समर्थन जनाएका छन् । सामाजिक सन्जालमा उनको मागहरुमा समर्थन जनाउँदै सरकारले उनको मागमाथि अनुसन्धान गरी मुद्दालाई अघि बढाउनसमेत माग गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वआयुक्त एवम् अधिवक्ता मोहना अन्सारीले अनशनरत यादवले आफूमाथि भएको हिंसाको प्रतिकार गर्दै प्रहरीमा उजुरी दिएर पनि न्याय नपाएको भन्दै उनको मागको सुनुवाइ हुनुपर्ने बताएकी छिन् । 'बिनु यादव ती तमाम बोल्न नसक्ने महिलाहरुको पनि प्रतिनिधित्व गर्नुहुन्छ । उहाँले आफूमाथि भएको हिंसाको प्रतिकार गर्दै प्रहरीमा उजुरी दिनुभयो । तर उनको त्यो उजुरीमाथि अनुसन्धान नगरी हदम्याद नघाइयो र आज बिनु यो अवस्थामा पुग्नुभएको छ,' उनले सरकारलाई प्रश्न गर्दै भनेकी छिन्, 'न्याय माग्नु अपराध हो ?'

प्रकाशित : वैशाख २९, २०८० १७:४७
×