कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

वार्षिक क्यालेन्डरमा पृथ्वी जयन्ती र 'जनयुद्ध दिवस'

फाल्गुन १२, २०७९
वार्षिक क्यालेन्डरमा पृथ्वी जयन्ती र 'जनयुद्ध दिवस'

Highlights

  • पर्व, दिवस र जन्मजयन्तीमा ३७ दिन देशभर बिदा, जनयुद्ध दिवस घोषणा गरेकामा एमाले अध्यक्ष ओलीको आपत्ति

काठमाडौँ — सरकारले पुस २७ लाई राष्ट्रिय एकता दिवस (पृथ्वी जयन्ती) र फागुन १ लाई जनयुद्ध दिवस घोषणा गरेर वार्षिक क्यालेन्डर स्वीकृत गरेको छ । मन्त्रिपरिषद् प्रशासनिक समितिको केही दिनअघि बसेको बैठकले अहिले कायम रहेका धार्मिक, सांस्कृतिक, राजनीतिक दिवस, पर्वलगायत बिदालाई कायम गर्दै २०८० को सरकारी क्यालेन्डरमा पृथ्वी जयन्ती र जनयुद्ध दिवस थप गरेको हो ।

गृह मन्त्रालयबाट गएको फाइलमा फागुन १ लाई जनयुद्ध दिवसका रूपमा समेट्नेबारे केही उल्लेख गरिएको थिएन । मन्त्रिपरिषद्मा पेस भएको फाइल थप अध्ययन गरेर निर्णय लिन भन्दै मन्त्रिपरिषद्कै प्रशासनिक समितिमा पठाइएको थियो । समितिको संयोजक उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठलाई तोकिएको छ । समितिको सचिवमा प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे छन् । पाण्डेकै संयोजकत्वमा गृह र पर्यटन मन्त्रालयका सचिवसहितको टोलीले पुस २७ लाई राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती र फागुन १ लाई जनयुद्ध दिवसमा समेटेर वार्षिक बिदाबारे टुंगो लगाएको थियो ।

सचिवको संयन्त्रबाट तयार पारिएको प्रतिवेदन उपप्रधानमन्त्री श्रेष्ठले प्रशासन समितिको सचिवालयमार्फत स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयमा पठाउन निर्देशन दिए । सोहीअनुसार सचिव पाण्डेले प्रतिवेदन मुख्यसचिव शंकरदास बैरागीलाई पठाए । बैरागीले जस्ताको तस्तै प्रतिवेदन कार्यान्वयनमा लैजाने गरी सदर गरेर फाइल गृहमा पठाएका हुन् । सरकारको यो निर्णयसँगै अब फागुन १ गते ‘जनयुद्ध दिवस’ का रूपमा संस्थागत भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार एक कार्यक्रममा सरकारले फागुन १ लाई जनयुद्ध दिवस घोषणा गरेकामा आपत्ति जनाए । आफ्नो पार्टीसमेत सहभागी सरकारले गरेको निर्णयलाई उनले ‘हिंसा’ सुरु भएको दिन भन्दै दुःखद भनेर टिप्पणी गरेका छन् । ०५२ फागुन १ बाट सुरु भएको द्वन्द्वको १० वर्षमा राज्य र माओवादी दुवै पक्षबाट गम्भीर मानवअधिकार उल्लंघनका घटना र अर्बौं रुपैयाँको भौतिक सम्पत्ति नोक्सान भएको छ । द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनाको सत्यतथ्य पत्ता लगाउन सत्य निरूपण र मेलमिलाप तथा बेपत्ता व्यक्तिको खोजबिनसम्बन्धी दुई वटा आयोगले काम टुंग्याएका छैनन् ।

मानवअधिकार उल्लंघनका कतिपय घटना अझै अदालतमा विचाराधीन छन् । सत्य निरूपण तथा मेलमिलाप आयोगमा राज्य र माओवादीबाट पीडित बनेका पक्षका हजारौं उजुरीको चाङ छ तर त्यसको टुंगो नलागी सशस्त्र द्वन्द्वलाई माओवादी नेतृत्वको सरकारले जनयुद्ध दिवस घोषणा गरेको हो ।

२०६२/६३ को जनआन्दोलनपछि सरकारले पुस २७ मा दिइँदै आएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको बिदा कटौती गरेको थियो । पछिल्लो आमनिर्वाचनबाट संसद्मा बलियो उपस्थिति रहेको राप्रपाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन पुस २७ लाई राष्ट्रिय एकता दिवस घोषणा गर्नुपर्ने सर्त अघि सार्‍यो । राप्रपाको सर्तअनुसार गत २७ मा मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रिय एकता दिवस घोषणा गरिएको थियो । २०७९ को वार्षिक क्यालेन्डरमा पुस २७ का दिन बिदा उल्लेख थिएन । मन्त्रिपरिषद्को पछिल्लो निर्णयपछि पृथ्वी जयन्ती सार्वजनिक बिदा दिएर पुनः संस्थागत गरिएको छ ।

सरकारले २०८० का लागि वार्षिक क्यालेन्डरमा पुस २७ र फागुन १ का दिन सार्वजनिक बिदा थप गरेर बाँकी अघिल्लै वर्षका बिदालाई निरन्तरता दिएको हो ।

०००

१७ वटा पर्वमा मुलुकभर बिदा दिने निर्णय भएको छ । गृह मन्त्रालयका अनुसार वैशाख १, उँधौली पर्व (चण्डी पूर्णिमा–वैशाख २२), रक्षा बन्धन (भदौ १४), श्रीकृष्ण जन्माष्टमी (भदौ २०), घटस्थापना (असोज २८), दसैं बिदा (कात्तिक ४ देखि ९), तिहार बिदा (कात्तिक २६ देखि ३०), छठ पर्व (मंसिर ३) मा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ । त्यस्तै क्रिसमस डे (पुस ९), उँधौली पर्व, योमरी पुन्ही (ज्यापू दिवस) तथा धान्य पूर्णिमाका दिन पुस १० मा पनि बिदा दिइएको छ । पुस १५ मा तमु ल्होसार, माघ १ मा माघी पर्व (माघे संक्रान्ति), माघ २७ मा सोनम ल्होसार, फागुन २५ मा महाशिवरात्रि, फागुन २८ मा ग्याल्पो ल्होसार, इस्लाम धर्मावलम्बीको इदउल फित्र र बकर इदमा पनि देशभर बिदा घोषणा गरिएको छ । यी सबै बिदा विसं २०७९ को क्यालेन्डरमा पनि समेटिएको थियो । यसैगरी चैत ११ मा हिमाली र पहाडी तथा चैत १२ मा तराई/मधेसमा होली पर्वको बिदा दिइएको छ ।

सम्बन्धित धर्म, संस्कृति र भूगोलविशेषका लागि भदौ ७ मा गौरा पर्व, भदौ १४ मा गाईजात्रा (नेवार समुदायका लागि मात्र) र झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाका जिल्लामा सिरुवा पावनी पर्व बिदा दिइएको छ । असोज १ मा तीज, असोज २० मा जितिया पर्व परेको छ । दुवै दिन महिलाका लागि मात्रै बिदा दिइएको छ । फागुन २ मा वसन्त पञ्चमी परेको छ । शिक्षण संस्थाका लागि यो दिन बिदा दिइएको छ । काठमाडौं उपत्यकामा मनाइने गाईजात्रा (भदौ १४), इन्द्रजात्रा असोज ११), मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र घोडे जात्रा (चैत २६) मा उपत्यकामा बिदा तोकिएको छ ।

वैशाख १८ मा विश्व मजदुर दिवस, जेठ १५ मा गणतन्त्र दिवस, असोज ३ मा संविधान दिवस (राष्ट्रिय दिवस), पुस २७ मा राष्ट्रिय एकता दिवस, फागुन १ मा जनयुद्ध दिवस, फागुन ७ मा राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २५ मा अन्तर्राष्ट्रिय महिला दिवसमा देशभर बिदा हुने दिइएको छ । अपांगता भएका कर्मचारीका लागि मंसिर १७ गते बिदा दिइएको छ । बुद्ध जयन्तीका दिन वैशाख २२ गते सबैलाई बिदा तोकिएको छ ।

कात्तिक २५ (फाल्गुनन्द जयन्ती), मोहम्मद जयन्ती, मंसिर ११ मा गुरु नानक जयन्तीका दिन सम्बन्धित धर्मावलम्बीका लागि मात्र बिदा तोकिएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस (जेठ २१), निजामती सेवा दिवस (भदौ २२) र सहिद दिवस (माघ १६) मा कार्यालय खुलाएर दिवस मनाइनेछ । विदेशस्थित विभिन्न कूटनीतिक नियोगले वर्षमा १८ दिन सम्बन्धित देशका बिदालाई मध्यनजर गर्दै बढीमा १८ दिन सार्वजनिक बिदा आफैंले व्यवस्थापन गर्न पाउनेछन् ।

२०८० वैशाख १ देखि कात्तिक १५ सम्म र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजे अपराह्न ५ बजे कार्यालय समय निर्धारण गरिएको छ । कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय समय १० देखि ४ बजेसम्म रहनेछ । शुक्रबार १० देखि ३ सम्म कायम रहेको कार्यालय समयलाई नै निरन्तरता दिइएको छ । प्रदेश सरकारले घोषणा गरेका बढीमा ६ दिनसम्मको सार्वजनिक बिदा संघीय कार्यालयले पनि ग्रहण गर्नुपर्नेछ । प्रदेशले घोषणा गरेका बिदा संघको हकमा लागू गर्न जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयमा केन्द्रमा पठाउनुपर्नेछ ।

प्रकाशित : फाल्गुन १२, २०७९ ००:१६
×