कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

किन खुल्दैन टिपताला नाका ?

नाका बन्दले चौंरी, भेडा, जडीबुटी र गलैंचाको व्यापार ठप्प, स्थानीयको जीवनयापन कठिन
चार वर्षदेखि नाका बन्द भए पनि सरकार त के, आसन्न चुनावका उम्मेदवारसमेत बोल्दैनन्

ओलाङचुङगोला — ताप्लेजुङ ओलाङचुङगोलाकी छोकी शेर्पा गलैंचा बुनेर टिपताला नाकापारिका बजार र घरमा पुर्‍याउँथिन् अनि दालचामल साटेर ल्याउँथिन् । गलैंचा बिक्रीबाट नगद पनि हात पर्थ्यो । यो चक्र चार वर्षयता ठप्प छ । ‘सुरुमा कोरोनाका कारण नाका बन्द गरेको सुन्यौं । अहिले त केही कारणै छैन तर पनि नाका बन्द छ । हाम्रो रोजीरोटी जानाजानी खोसेजस्तै लाग्छ,’ छोकीले भनिन् ।

किन खुल्दैन टिपताला नाका ?

यो वा त्यो बहानामा द्विदेशीय आउजाउका नाका बन्द गर्दै आएको छिमेकी चीनको व्यवहारले छोकीजस्तै गलैंचाको घरेलु उद्यम चलाउने ओलाङचुङगोलाका करिब ४० परिवारको घरव्यवहारलाई समस्यामा पारिदिएको छ । १६ वर्षदेखि गलैंचा बुन्दै आएकी छोकीका अनुसार एउटा गलैंचा टिपतालापारिको बजारमा पुर्‍याउँदा ५ हजार रुपैयाँसम्म हात पर्थ्यो । ओलाङचुङगोला बस्तीबाट घटीमा तीन दिनको बाटो छिचोलेर जिल्ला सदरमुकाम फुङलिङ पुर्‍याउँदा गलैंचा बढीमा २ हजार ५ सयमा बिक्री हुन्छ । ओलाङचुङगोला बस्तीबाट टिपताला नाका २५ किमि दूरीमा छ । अर्की उद्यमी फुटिक शेर्पाले ओलाङचुङगोलाका प्रायः सबैले गलैंचा बुनेर थुपारेको सुनाइन् ।


टिपताला बोर्डर ।

गोलामाथिको मौवाटार बस्ती नजिकै चौंरी तथा भेडापालन गरेर बस्दै आएका दावा शेर्पाको समस्या अर्को छ । गोठमा याक बढेका छन्, भेडाको ऊन पनि बेच्न पाएका छैनन् । चौंरीको छुर्पी र घिउ सदरमुकाम फुङलिङ पुर्‍याउन सके मात्र बिक्री हुन्छ तर दाम थोरै हात पर्छ ।

‘उता काठमाडौंतिर तपाईंहरू रसुवा र तातोपानीको मात्रै कुरा गर्नुहुन्छ तर टिपताला कसैलाई थाहै छैन,’ दावा भन्छन्, ‘रसुवा र तातोपानी व्यापारीका लागि होला, यो टिपताला त हाम्रो जीवनका लागि हो, नुनतेलका लागि हो ।’ जिल्लाको यो उत्तरी नाका नजिक चौंरी र भेडीगोठमा निर्भर दावाकै जस्तो परिवारको संख्या ५० भन्दा बढी छ ।


ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पर्ने ओलाङचुङगोला बस्ती । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट ओलाङचुङगोला ७८ किलोमिटर दूरीमा छ । यो र अर्को सीमावर्ती बस्ती याङ्मा फक्ताङलुङ गाउँपालिकाको वडा नं ७ मा पर्छन् । ओलाङचुङगोलाबाट पनि एक दिन पैदलमा पुगिने याङ्मा गाउँमा जम्मा १० घरपरिवारको बसोबास छ । त्यहाँका बासिन्दा पनि चौंरीपालन र आलु–जौ खेतीमा निर्भर छन् । ‘टिपताला नाका बन्द भएपछि हाम्रो बिजोग भएको छ,’ याङ्माका ५० वर्षीय पुन्जो शेर्पाले भने, ‘चार वर्षदेखि तिब्बत जान पाइएको छैन, पारि जान नपाएपछि गरिखान गाह्रो भयो । गाउँलेले गाउँ छाड्न थालिसके ।’

फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले नाका बन्द भएका कारण उत्तरी सीमाका बासिन्दाले बेहोरेको कठिनाइबारे जिल्ला प्रशासनमार्फत केन्द्र सरकारलाई लिखित जानकारी गराए पनि सुनुवाइ नभएको बताए । उनले गत साउन २९ मा ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयलाई गरेको पत्राचारमा ‘नाका बन्द भएपछि स्थानीय बासिन्दा आर्थिक संकटमा परी जीविकोपार्जनमा समस्या भएको, बस्ती स्थानान्तरणको स्थिति सिर्जना भएको, महँगी चरम रूपमा बढेको’ जस्ता समस्या जाहेर गरेका थिए । अध्यक्ष लिम्बूका अनुसार नाका बन्दका कारण पशुपालन, जडीबुटी संकलन, गलैंचा उत्पादनमा संलग्न सीमावर्ती ओलाङचुङगोला, याङ्मा, फले र घुन्साका बासिन्दालाई जीविकोपार्जनमा समस्या परेको छ । ‘हाम्रो कुरा र हामीले बेहोरेको कठिनाइ टाढाको काठमाडौं त के, तलको फुङलिङले पनि सुन्दैन,’ उनले भने ।


ओलाङचुङगोलामा गलैंचा बुन्दै छोकी शेर्पा । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

प्रमुख जिल्ला अधिकारी मोहन पोखरेलले टिपताला नाका बन्द गरिएपछि स्थानीयले बेहोरेको कठिनाइबारे उल्लेख गर्दै नाका खोल्ने पहलका लागि फक्ताङलुङ गाउँपालिकाको पत्रसहित गृह मन्त्रालयमा लेखिपठाएको जानकारी दिए । ‘टिपताला नाका खुलाउन गृहले परराष्ट्रमा अनुरोध पत्र पठाइसकेको र यसको थप प्रक्रियामा चिनियाँ पक्षको जवाफ नआएको छ,’ उनले भने । काठमाडौंस्थित परराष्ट स्रोतका अनुसार, गत भदौ मसान्तमा नेपाल भ्रमणमा आएका चीनका राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सुलाई पनि रसुवा र तातोपानीसहित टिपतालाको ‘नाकाबन्दी’ बारे जानकारी गराइएको थियो । तर, तत्कालको राजनीतिक अर्थ र झट्टै देखिने परिणामस्वरूप रसुवा तथा तातोपानी नाका मात्र अल्पकालीन रूपमा खुलाइयो, टिपतालाबारेमा कुनै निर्णय भएन ।

टिपताला नाका जोडिएको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन वलुङ (शेर्पा) ले अबको सिजनमा पनि जडीबुटी बेच्न, आलु–जौ व्यापार गर्न र गलैंचा सीमापारि लगेर दालचामल साट्न नपाए ओलाङचुङगोलाको बस्ती रित्तिने सम्भावना रहेको बताए । अहिले झन्डै अढाई सय जनसंख्या रहेको बस्तीमा शिक्षा, स्वास्थ्यसहितको आधारभूत आवश्यकता नहुँदा बसाइँ सर्नेको संख्या यसै पनि बढ्दो छ ।

स्थानीय बासिन्दाको आर्थिक सहयोग र जनश्रमदानबाट बनेको ओलाङचुङगोलाबाट टिपताला जोड्ने २५ किलोमिटर लामो मोटरबाटो नाका बन्दले सञ्चालनमा छैन । विगतमा कोरोना संक्रमण र अरू चाडबाडकै बेला पनि तिब्बतको स्थानीय सरकारले ओलाङचुङगोलावासीका लागि केही खाद्यान्न र औषधिमूलो सहयोग दिने गरेको थियो । त्यो सहयोग पनि अहिले बन्द छ । तर टिपताला नाका र सीमावर्ती बासिन्दाको समस्याका विषयमा आसन्न आमनिर्वाचनका लागि उम्मेदवार बनेका नेताहरूले समेत प्रमुख एजेन्डा नबनाएको स्थानीयको गुनासो छ ।

ताप्लेजुङ : समृद्धि र पर्यटनको परिचय खोज्दै [ अन्तरक्रिया]

‘सबैले ओलाङचुङगोलाको नाम लिन्छन् तर हामी यहाँ अर्कै जंगली युगमा बाँचेजस्तो भइरहेको छ,’ वडाध्यक्ष छेतेनले भने, ‘यहाँसम्म फर्केर हेर्न केन्द्र वा प्रदेशका कुनै सरकारले पनि भ्याएका छैनन् ।’

प्रकाशित : कार्तिक १३, २०७९ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×