कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

मुगलान पसेर हराएकालाई सम्झँदै रुँदै

मुगलान पसेर हराएकालाई सम्झँदै रुँदै

Highlights

  • सुदूरपश्चिमका धेरैजसो गाउँमा कुनै न कुनै घरका सदस्य रोजगारीको खोजीमा भारत पसेका छन् । यसरी मुगलान पसेकाहरुमा उतै हराउने पनि थुप्रै छन् । को–को हराए, कहाँ छन् भनेर सरकार खोज्दैन, न तथ्यांक राख्छ । हराउनेलाई खोज्दै–सम्झँदै बसेका परिवारका सदस्यसँग दुःखका छुट्टाछुट्टै कहानी छन् ।

बझाङ, कञ्चनपुर — नातिको अनुहार एक झल्को हेर्नकै लागि मात्रै उनलाई आफ्ना आँखा खुलिरहेका जस्ता लाग्छन् । थलारा–७ किरमूलीखेतकी ९७ वर्षीया देउसरा उपाध्यायलाई विस्मृतिले गाँज्दै लगेको छ । तर हराएको नाति रामप्रसादको कसैले कुरा सुनाइदियो भने टाठो हुन्छिन् ।

७० वर्षीया बुहारी भानमती देवीका आँखा पनि सधैं घरछेउको बाटोतिर सोझिन्छ । देउसराले नाति र भानमती पछिल्ला २२ वर्षयता हराएको छोरा रामप्रसादको प्रतीक्षामा दिन बिताइरहेका छन् । दुवैको इच्छा यति छ, ‘दागबत्ती दिने हात रामप्रसादको होस् ।’

३९ वर्षको उमेरमा श्रीमान् बिते । भानमतीले निकै दुःख गरेर छोरा रामप्रसादलाई हुर्काएकी थिइन् । २०५७ मा गाउँको खोली माविबाट एसएलसी उत्तीर्ण हुनेमा छोरा एक्लो हुँदा उनी हर्षले रोएकी थिइन् । त्यही सालको मंसिरमा एकजना छिमेकीको साथ लागेर रामप्रसाद सुटुक्क भारत छिरे । उनी असाध्यै रोएकी थिइन । भानमतीले पाएको एउटै अपुष्ट खबर भनेको, कमाउने लोभमा भारतको मनसुरी पहाड पुगेको छोरा त्यहाँबाट देहरादून पुगेको छ रे ।

छोराको पर्खाइमा भानमती सासू–बुहारी दैलोमा बसे र टोलाउँदै।

घर छाडेपछि रामप्रसाद फर्केनन् । न चिठी आयो न त कसैले खबर नै ल्याए । ‘पूजाआजा र भाकल गर्न देउता र मन्दिर बाँकी छैन होला । दुई पटक त खप्तड माइका थानमा कथा पनि लगायौं,’ भानमतीले भनिन्, ‘केही गर्दा पनि न ऊ आयो न केही खबर आयो ।’ चाडबाडमा अरूका छोराछोरी परदेशबाट खुसी बोकेर फर्किंदा उनीहरूको घर निराशामा डुब्छ । भानमतीले भनिन्, ‘छोरा हराएपछि मेरो मनमा रात परेको परेइछ ।’

कमाइ गर्ने भन्दै भारत छिरेर हराएका परिवारका सदस्यको सम्झनामा आँसु बगाउनेहरू सुदूरपश्चिमका सबैजसो गाउँमा भेटिन्छन् । हराएकाहरूको खोजीमा परिवारले वर्षौंदेखि उठाइरहेको कष्ट, भगवान्को शरण परेर पनि नसुल्झिएको दुःखको हिसाब कहींकतै भेटिँदैन । कतिसम्म भने यसरी हराएकाहरू कति छन् भन्ने रेकर्ड पनि सरकारी निकायसँग छैन ।

खप्तड छान्ना–७ गडरायकी सुन्तला रावतका पति वीरबहादुर २०७० मा कमाइ गर्न भारत पसेका थिए । बिहेको ६ वर्ष मात्रै भएको थियो । उत्तराखण्डको रुद्रप्रयागमा तीर्थयात्रीको झोला बोक्ने काम गर्ने भनेर तीन लालाबाला र पत्नीलाई छाडेर हिँडेका वीरबहादुर फर्केर आएनन् । सुन्तलाले भनिन्, ‘६ महिना मजदुरी गरेर खेती लाउने बेला आइहाल्छु, छोराछोरीको ख्याल राखेस् भनेर गएका हुन् । सात वर्ष भइसक्यो । न आफू आउँछन् न कुनै खबर आउँछ ।’ उनको मन पतिको खोजीमा बेचैन छ । गाउँका कोही भारतबाट फर्केको थाहा पाउनेबित्तिकै सोधीखोजीमा पुगिहाल्छिन् । उनले भनिन्, ‘दैलोमा काग कराउँदा पनि उनकै खबर आउला कि भनेर आस लाग्छ ।’ उनी १४ वर्ष मुनिका तीन छोराछोरी हुर्काउने दायित्वले थिचिएकी छन् । कसै–कसैले कटाक्ष गर्दै ‘तेरो लोग्ने आउन्नन् । उतै घरजम गरिसक्यो होला, न मरिसक्यो’ भनेर सोध्छन्, उनको मन भरंग हुन्छ ।

श्रीमान् बेपत्ता भएपछि समस्यामा परकी सन्तोला ।

सुन्तलाको जस्तै कथा छ, जयपृथ्वी–८ की केउडीदेवी चन्दको । २०४४ कात्तिकमा दिल्ली हिँडेका उनका श्रीमान् हर्क अहिलेसम्म पनि फर्केका छैनन् । पतिको खोजीमा उनले कति दुःख उठाइसकिन भन्ने कुनै हिसाब छैन । ‘कति पूजा गरें, कति भाकल गरें,’ उनले भनिन्, ‘हेराउन बाँकी ज्योतिषी रहेनन् होला । कसैले आउँछ भने कसैले मरिसक्यो भने । अब त आउलान् जस्तो पनि लाग्दैन ।’

बझाङ घुम्दै जाँदा कुनै त्यस्ता गाउँ भेटिँदैन जहाँ हराएका वा सम्पर्कबाहिर रहेका आफन्तको पर्खाइमा बसेका दुई–चार परिवार नभेटिऊन् । ‘३८ घर भएको मेरै गाउँमा मात्रै ५ परिवारका आफन्त बेपत्ता छन । उनीहरू सबै भारतमा हराएका हुन्,’ बित्थडचिरको डुंग्रीगाउँका सामाजिक कार्यकर्ता सुरेश ढाँट भन्छन्, ‘पालिकाभरि खोज्ने हो भने यस्ता परिवारको संख्या दुई/तीन सय हाराहारी होलान् ।’

यसरी बेपत्ता भएकाहरूको एकीकृत तथ्यांक सरकारी निकायसँग छैन । केही पालिकाहरू भने बेपत्ताको लगत संकलन तयारी थालेका छन् । ‘हाम्रो पालिकामा भारतमा गएर बेपत्ता भएकाहरूको संख्या ७०/८० जनाभन्दा बढी होलान् भन्ने अनुमान छ,’ दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले भने, ‘अहिले हामी पालिकाको प्रोफाइल बनाउँदै छौं ।’

बझाङका प्रहरी प्रमुख डीएसपी ज्ञानबहादुर विष्ट भारतमा हराएकाहरूको खोजीका लागि उजुरी नआउने भएकाले तथ्यांक पनि नभएको बताउँछन् । ‘भारतमा हराए भनेर उजुरी आउँदैन । नेपालबाट हराएकाहरूको उजुरी आएपछि हामीले सबै संयन्त्र लगाएर खोज्ने कोसिस गर्छौं,’ उनले भने, ‘तैपनि कतिपय जति गर्दा पनि भेटिँदैनन् ।’

कञ्चनपुरको वेदकोट–७ की ७० वर्षीया कलावती भट्टलाई बुढ्यौलीका दिनमा छोराहरूसँगको सुखको गाँस मिल्ला भन्ने आस थियो । तर त्यस्तो केही भएन । रोजगारीको खोजीमा भारत पसेका दुवै छोरा उतै हराए । २७ वर्षअघि कामको खोजीमा भारतको मुम्बई पसेको जेठो गणेश र १३ वर्षअघि गएका कान्छा धर्मराज दुवै बेपत्ता भए । कलावतीले छोराहरूलाई सपनामा झल्याकझुलुक देख्छिन् । यस्तो सपनाले उनलाई पीडा मात्रै थपिदिन्छ । गणेशका एक छोरा र छोरी छन् । आमाको मृत्यु र बुवा बेपत्ता भएका उनीहरूको रेखदेख कलावतीले नै गरिरहेकी छन् । धर्मराजका एक छोरी र श्रीमती छन् । उनीहरूको अभिभावकत्व पनि कलावतीकै काँधमा छ ।

भारतमा बेपत्ता छोराको तस्बिर देखाउँदै कञ्चनपुरको बेदकोट–७ की कलावती भट्ट ।

धर्मराजकी श्रीमती टिकेश्वरी हराएको श्रीमान्को सम्झना र छोराको यादमा तडपिएकी सासूलाई देखेर गलिरहेकी छन् । श्रीमान्को खोजीका लागि टिकेश्वरी ससुरा बालचन्द्र भट्टसँगै विभिन्न संघसंस्थामा धाउँथिन् । गत वर्ष ससुराको पनि मृत्यु भएपछि त्यो सहारा पनि टुटेको छ । ‘सम्झनाका नाममा एउटा फोटो मात्रै छ,’ टिकेश्वरीले भनिन्, ‘अब त फर्केर आउँछन् भन्ने आस पनि छैन ।’

खोज्दै हिँड्ने हो भने कञ्चनपुर जिल्लामा पनि हराएका परिवारका सदस्यहरूको खोजीमा छटपटीमा बाँचेकाहरूको संख्या धेरै छ । कतिपय त यस्ता परिवार पनि छन्, जसका दुई–तीन जना छोराहरू भारतका हराएका छन् । तिनैमध्येकी एक हुन्, दोधारा चाँदनी–९ की ७५ वर्षीया गुल्टी धामी । जसलाई भारतमा बेपत्ता भएका तीन छोराको सम्झनाले सताइरहन्छ । पुरानो बाकसमा थन्क्याएको एल्बममा छोराहरूको खुइँलिदै गरेको तस्बिर छ । त्यो हेर्दा यादले झनै सताउँछ ।

बेपत्ता ३ छोराको पर्खाइमा रहेकी गुल्टी धामी ।

धामीका ६ छोरामध्ये एउटाको सानैमा मृत्यु भयो भने ३ बेपत्ता छन् । २ अहिले पनि भारतमै रोजगारी गरिरहेका छन् । २० वर्षअघि २० वर्षीय जेठा छोरा नम छिमेकीसँगै कामको खोजीमा सिमला हिँडेका थिए । छिमेकी सबै घर फर्किए तर उनी फर्केनन् । नम बेपत्ता भएको केही वर्षमै उनका भाइ धनबहादुर र पदम पनि कामको खोजीमा भारत पसे । उनीहरूको पनि फर्केनन्, न कुनै खबर आयो ।

गाउँमा ज्योतिष र धामीझाँक्री आए भन्ने सुन्नेबित्तिकै उनी छोराहरूको बारे तिनले केही पत्ता लगाइदिन्छन कि भनेर कुदिहाल्छिन् । ‘सबैले घर ल्याउछु त भन्छन्, तर उनीहरूको केही पत्तो लाग्दैन,’ उनले भनिन्, ‘छोरा आउने आसमा श्रीमान् बिते, अब म पनि नदेखेरै मर्छु कि ?’ केहीअघि एकजना आफन्तले माइलो छोरालाई दिल्लीमा देखेको खबर गुल्टीलाई सुनाए । उनले देवर मदन धामीलाई छोराको खोजीमा दिल्ली पठाइन् । महिनादिन घुमेर मदन रित्तै फर्के ।

बेपत्ता गोपीलालको फोटो देखाउँदै श्रीमती सुवा र छोरी ।

कामको खोजीमा भारत जाने र लामो समयदेखि घरपरिवारको सम्पर्कमा नआउने घटना प्रत्येक गाउँमा भए पनि खोजीमा प्रहरीसम्म पुग्नेहरू नगण्य छन् । धेरैले विशाल भारतमा पसेर हराएकाको खोजी नेपाल प्रहरीले कसरी पो गर्ला भनेर पत्याउँदैनन् । त्यसैले रुँदै गाउँघरमा बस्छन् तर प्रहरीकहाँ खोजीको जाहेरी लिएर जाँदैनन् । आप्रवासनका क्षेत्रका काम गरिरहेको गैरसरकारी संस्था निड्स नेपालले ५ वर्षअघि गरेको अध्ययनअनुसार भारतमा रोजगारीका लागि गएकामध्ये दोधारा चाँदनीका ५४ र पुनर्वास नगरपालिकाका ३७ जना बेपत्ता छन् । उनीहरूमा १० देखि २०/२५ वर्षसम्म सम्पर्कमा आएका छैनन् । वेदकोट–१ चम्पापुर क्षेत्रमा पनि कामको खोजीमा भारत गएर बेपत्ता हुनेको संख्या धेरै छ । यहाँ एउटै टोलका १०/१२ जना बेपत्ता छन् ।

परिवारका सदस्य बेपत्ता हुँदाको दुःख सम्झना वा भावना मात्रै सीमित छैन । एकातिर आम्दानीको स्रोत गुमेको छ भने अर्कोतर्फ सामाजिक सुरक्षामा पनि चुनौती छ । कतिपयको त घरमुली बेपत्ता हॅुदा जमिन नामसारी हुन सकेको छैन । जग्गाधनी पुर्जा बैंकमा राखेर ऋण निकाल्नेदेखि अन्य बिक्री गर्नेलगायत कामसमेत ठप्प छ ।

प्रकाशित : असार २३, २०७९ ११:०९
x
×