कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा फर्किन नपाएकाहरु आफ्नै भूमिमा टिक्ने प्रयास गरिरहेका छन् ।
सर्लाही — कोरोना महामारी थिएन भने सर्लाहीको कविलासी नगरपालिका–७ गैरका ३१ वर्षीय गौरीशंकर साह वैदेशिक रोजगारीका लागि खाडी मुलुक कतारमा हुन्थे ।
गत वर्ष फागुन अन्तिममा ४५ दिनको बिदामा घर आएका उनी लकडाउनका कारण फर्किन पाएनन् । उनी १४ वर्षदेखि कतारको सलुवा रोडस्थित अलसाहवा फुड्स सुपर मार्केटमा काम गर्दै आएका थिए ।
घरमा बस्दा विदेशबाट कमाएर ल्याएको पैसा सकिन थालेपछि उनमा चिन्ता बढ्यो । कतारमै रहेका साथीहरू उद्धारको पर्खाइमा रहेको सुनेपछि उता जाने मन पनि मर्दै गयो । त्यसपछि उनले परिवारको सल्लाहमा आफ्नै व्यापार गर्ने सुरसार कसे । अहिले उनले ३० लाखको लागतमा गौर बजारमा फर्निचर र हार्डवेयर पसल खोलेका छन् ।
विदेशमा सिकेको सीप तथा मिहिनेतको फाइदा उनले यहाँ उठाउन खोजिरहेका छन् । ‘समयमा कर्मथलो फर्किन नपाएर विदेशमा रोजगारी गुमिसक्यो, रोजगारी गुमेपछि जीवनयापनका लागि घर परिवार सँगै बसेर आफ्नै व्यापार थालेका छौं,’ साहले भने, ‘अर्काको काममा गरेको मिहिनेतभन्दा आफ्नो व्यापारमा धेरै सन्तुष्टि छ, विदेशमा बसेर व्यापारको कौशल सिकियो, लकडाउनले त्यसलाई आफ्नै भूमिमा प्रयोग गर्न बाध्य बनायो ।’ २०६३ सालमा १६ वर्षको उमेरमा उनी वैदेशिक रोजगारीका क्रममा कतार पुगेका थिए ।
मलंगवा–५ का मो. गुलाम तलहा साउदी अरबमा मासिक ८० हजार कमाउँथे । घर फर्किएपछि उनले मलंगवाको बालमन्दिर चोकमा कफी हाउस खोलेका छन् । ‘आम्दानीको तुलना गर्दा विदेश जान मन नहुने होइन,’ उनी भन्छन्, ‘तर, आफ्नै जन्मभूमिमा स्वरोजगार गर्नुको आनन्द विदेशमा छैन ।’ २९ वर्षीय गुलाम घरजमको तयारीमा छन् । बालमन्दिर चोकमा मात्रै दर्जन पसल यस्ता भेटिन्छन् । एक वर्षयता खुलेका यी पसलका लगानीकर्ता वैदेशिक रोजगारीबाट फर्किएकाहरू नै छन् । गुलामकै भिनाजु अनवारुल हकले उनकै कफी हाउस अगाडि एक महिनाअघि रेडिमेड कपडा पसल खोलेका छन् । ‘यता काम नपाएपछि बिदेसिनु बाध्यता थियो,’ उनले भने ‘त्यता कमाएर बचत गरेको र केही सरसापट लिएर व्यवसाय थालेको हुँ,’ उनले भने, ‘सरकारले वैदेशिक रोजगारबाट फर्किएकालाई मुलुकमै रोक्न, रोजगारी दिन नसक्दा पीडाबोध भएको छ ।’ समाचारमा विभिन्न खाले नीतिहरू आएको सुनिए पनि व्यवहारमा कुनै सरकारी लाभ आफूहरूले पाउन नसकेको गुनासो उनले व्यक्त गरे ।
मलंगवामा पछिल्लो एक वर्षमा उल्लेख्य संख्यामा पसल, व्यवसाय विस्तार भएको देखिन्छ । मूल बाटोमा ठाउँ नपाएपछि भित्री गल्लीमा पनि सानाठूला पसल खुलेका छन् । उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ईश्वर गुप्ता मलंगवा मात्रै होइन, जिल्लाभित्रका सबैजसो बजारमा विदेशबाट आएको पैसा भित्रिएको बताउँछन् । कतारमा बिजनेस सफ्टवेयर प्रोग्रामिङ गरेर मासिक ९५ हजार कमाउने रामबाबु यादव पनि बिदामा आएपछि फर्किएनन् ।
सानो रेडिमेड व्यापारबाट काम थालेका उनले राइस मिल खोल्ने र ट्र्याक्टर किनेर ढुवानी व्यवसाय थाल्ने योजना बुनिसकेका छन् । वैदेशिक रोजगारीसम्बन्धी जानकारी राख्ने वाग्मती सेवा समाज सर्लाहीले लकडाउनको अवधिमा पाँच सयभन्दा बढी मानिस रोजगारमा फर्किन नपाएको रेकर्ड राखेको छ । संस्थाले कुनै न कुनै रूपमा सम्पर्क गरेका व्यक्तिको आधारमा तथ्यांक तयार पारेको हो । त्यस्तो संख्या अझ बढी हुने अनुमान छ । लकडाउनअघि दैनिक ६–७ जनाको संख्यामा वैदेशिक रोजगारीका लागि जाने गरेको जनाउँदै वाग्मतीका प्रोग्राम म्यानेजर दिवाकर झाले पछिल्लो समय बन्दका कारण त्यो संख्या शून्य रहेको बताए ।
पैसा हुने र व्यवसायको अनुभव सँगालेकाले व्यपारमा हात हालेर आफूलाई टिकाउने प्रयत्न गरिरहेका छन् । तर, बाहिर जान नपाएका र आफ्नो ठाउँमा काम नपाएकाहरू असाध्यै पीडामा पनि छन् । बलराका धनञ्जय मिश्र मुम्बईमा एक निजी कम्पनीमा सवारी चलाउँथे । फागुनमा घर आए । महिनौंको लकडाउनले जान पाएनन् । उनको जागिर गुम्यो । अर्कोतिर, कोरोना कहरमा जागिर छाडेर फर्किनेहरूको पीडा देखेका परिवारले उता जान रोकेपछि उनी घरमै छन् । तर, रोजगारी नहुँदा समस्या भोगिरहेका छन् ।
सरकारले जेठ १५ मा ल्याएको बजेटमा श्रम र रोजगारीलाई प्राथमिकता दिएको बताएको थियो । लोकप्रिय नाराहरू थिए । कोरोनाका कारण विदेशमा रहेका कामदार स्वदेश फर्किएपछि रोजगारीको अवसर दिने उल्लेख थियो ।
विदेशबाट फर्किएका ५० हजार व्यक्तिले रोजगारी पाउने र त्यसका लागि १ अर्ब बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ । तर, ती सब कागजमा मात्रै सीमित हुँदा धनञ्जयजस्ता युवा पीडामै छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम, कामका लागि खाद्यान्न, सीपमूलक तालिम, रोजगार सेवा केन्द्र, श्रम बैंकको लाभ वास्तविक पीडितहरूले कहिले पाउने हुन्, ठेगान छैन । त्यसैको परिणामस्वरूप दसैं र तिहारमा टीका लगाउनासाथ हजारौं युवा पुनः बिदेसिन थालेको उनले बताए ।
