दिनभरि दशगजामा बसेर फेरि भारततिरै- समाचार - कान्तिपुर समाचार

दिनभरि दशगजामा बसेर फेरि भारततिरै

भारतबाट आउनका लागि सरकारले तोकिदिएका २० वटा नाकामा नपरेको भन्दै धनुषाका सीमामा आइपुगेका युवालाई प्रहरीले भारततिरै फर्काउने गरेको छ । यसरी फर्काइएकाहरु करिब ४२ किलोमिटर भारतीय बाटो छिचोलेर महोत्तरीको भिट्टामोड नाका पुग्न बाध्य छन् ।
बिनु सुवेदी, अजित तिवारी

जमुनीघाट, धनुषा — जमुनीघाटको आँपगाछीमुनि डेढ घण्टाजति सुस्ताएपछि धनुषाधाम काशीपुरका १८ वर्षीय विष्णुदेवकुमार यादवको थकान केही मेटियो । सुत्नुअघि उनले त्यहीं बसेर एउटा कुरकुरे र एक बोत्तल पानी खाएका थिए ।

भारतको गुजरातबाट चार दिन यात्रा गरेर दशगजा आइपुगेको उनीसहितको टोलीले जटही नाकाबाट भित्र छिर्न नपाएपछि करिब ४२ किलोमिटर पश्चिममा रहेको महोत्तरीको भिट्टामोड जान दशगजै दशगजाको बाटो हिँड्दाहिँड्दै थाकेर मुखियापट्टीमा पुगी बिसाइ फेरेको हो ।

सरकारले भारतबाट नेपाल आउनका लागि तोकिदिएको २० नाकामा जटही नपरेपछि उनीहरूलाई सीमा सुरक्षाका लागि बसेका प्रहरीले नेपाल भित्रिन दिएनन् । उनीहरू दशगजामा पनि भारतपट्टिको भूमिबाट भिट्टामोड आएका हुन् । गत फागुन पहिलो साता विष्णु गुजरात पुगेका थिए । उनले त्यहाँ जम्माजम्मी २१ दिन मात्रै काम गर्न सके । लगत्तै लकडाउन सुरु भयो, काम गरिरहेको होटल बन्द भयो ।

२१ दिन काम गरेको पैसा तलबको हिसाबले पुगिन्जेलसम्म होटलको साहुले खान, बस्न दिए, विष्णु पनि ढुक्कैले बसे । तलब सकिएपछि होटलले निकालिदियो, त्यही बेलामा भारतमा रेल चल्न थाल्यो । विष्णु आफ्नै भूमिमा फर्किनु उत्तम हुने भन्दै नेपाल आए तर सीमा नाकामा आएर आफ्नो भूमिमा टेक्नै लाग्दा प्रहरीले अर्काे नाकाको बाटो देखाइदिए ।

फर्काइएकामध्ये २७ जनाको टोलीमा रहेका पारस चौधरी, विष्णुदेवकुमार यादव र कृष्ण दनुवार । तस्बिर : प्रकाश तिमिल्सेना/कान्तिपुर

कक्षा ५ सम्म मात्रै पढेका विष्णु घरको आर्थिक अवस्था उकास्नका लागि यसअघि पनि भारत गएका थिए । त्यतिखेर उनले २ महिना काम गरेको १४ हजार रुपैयाँ ल्याएर आमाको हातमा थमाइदिए, नगारिकता र पासपोर्ट बनाए, केही दिन घरमा बसे र पैसा कमाउन फेरि गुजरात गए । यसपालि उनले सोचेजस्तो भएन । ‘होटलले अब काम र खाना दिन सक्दिनँ, आफ्नो तरिकाले जाऊ भनेपछि आएको हुँ,’ विष्णुले भने, ‘सिमानामा आइपुगेपछि धेरै नै दु:ख भयो, प्रहरीले कहिले यो नाकाबाट जाऊ भन्छन्, कहिले त्यो नाकाबाट जाऊ भन्छन् । धेरै नै थाकेपछि एकछिन सुतें ।’

गृह जिल्लाको किनारामै आइपुगेका उनले कुराकानीका सिलसिलामा नगरपालिकाले गाडी पठाइदिने र आफू त्यसैमा चढेर घर जाने बताइरहेका थिए । ‘ट्रक आउँँछ होला,’ अब केहीबेरमा गाउँ पुगिन्छ भन्ने खुसीले उज्याल्लिएका उनले भने, ‘आमासित कुरा भएको थियो, घर आउन त पाउँदैनौँ, स्कुलमा लगेर राख्छन् भन्दै हुनुुहुन्थ्यो ।’

०००

चित्तलापुरी धनुषाधामका १९ वर्षीय पारस चौधरी अरू दुई जना साथीहरूसहित अहमदाबादको होटलमा काम गरिरहेका थिए । लकडाउन सुरु भयो, काम रोकियो । त्यसपछि उनलाई त्यहीं बसिरहन मन लागेन तर साथीहरूले बसिरहेको ठाउँ छोड्न चाहेनन् । ‘साथीहरूले हाम्रो सपना अझै पूरा भएको छैन, हामी त यहीं बस्छौं भने,’ पारसले भने, ‘छुटेको पढाइ पूरा गर्ने मेरो सपना थियो, त्यही भएर पनि फर्केर आएँ ।’ पारस पोहोर एसईई दिएर एक–दुई महिना मात्रै काम गर्छु अनि नेपाल फर्किन्छु भन्दै भारत गएका हुन् । त्यहाँ पुगेपछि उनलाई छिट्टै फर्किहाल्न मन लागेन ।

‘घरको समस्याका कारणले गर्दा एसईई दिनेबित्तिकै गएको हुँ, ५० हजारजति आईसी (भारतीय रुपैयाँ) कमाएँ होला, केही घरमा पठाएँ,’ पारसले कान्तिपुरसँग भने, ‘पछि होटल मालिकले खान पनि दिएन । आफ्नो पैसाले खान सकिन्जेल खाएँ, पैसा सकिएपछि फर्किएर आएँ ।’

आफ्नै देश छिर्ने सिमानामा आइपुगेपछि रोकिएका उनलाई यताको प्रहरीले भित्रिन नदिँदा भने दु:ख लागेको छ । तर अब भने फेरि भर्ना भएर ११ कक्षादेखि पढाइ सुरु गर्ने विचारमा उनी छन् । ‘१२ कक्षा पढिसक्छु, त्यसपछि यहीं काम गर्छु, अरूको देशमा गएर दु:ख हुन्छ भन्ने मैले बुझें,’ उनले भने । उनले यसपालि आफ्नै भूमिमा निर्बाध छिर्न नपाउँदाको दु:ख पनि बुझे ।

०००

१९ वर्षीय कृष्ण दनुवारलाई पोहोर आफैंले कमाएर पठाएको पैसाले घरको छानो फेरिएपछि एकदमै खुसी लाग्यो । यसपालिको पैसाले घरमा अरू तीनवटा कोठा थप्ने योजना थियो । ‘१० कक्षा पास गरें, बाआमाले पढाउन सकेनन्, त्यही भएर १५ वर्षको हुँदै भारत गएको हुँ,’ कृष्णले भने, ‘मैले पैसा कमाएपछि घरमा फुसको छानो फेरेर टिन लगाइयो, मलाई बहुत खुसी लाग्यो ।’

तर अब रोजगारीका लागि भारत नफर्किने निधो गरेर देश छिर्नै आँट्दा धनुषाका नाकाहरूमा रोकिए र जटहीबाट करिब ४२ किलोमिटर भारततर्फको बाटो पैदल हिँडेर महोत्तरीको भिट्टामोड आइपुगे । भारतबाट नेपाल भित्रिनेहरूका लागि सरकारले तोकेको २० वटा नाकामा धनुषाका ८ मध्ये कुनै पनि नाका परेका छैनन् । जबकि नेपालतिरको नापअनुसार जटहीबाट भिट्टामोडसम्म २५ किलोमिटर मात्रै पर्छ ।

जेठ १४ गतेसम्म जटही नाकाबाट मात्रै १ हजार ८ सय जना नेपाली धनुषा भित्रिएका थिए । त्यही नाकाबाट आएका साथीहरूले भनेका कारण यी तीन युवासहित २७ जना नाकामा आएर फेरि भारतीय बाटो हुँदै फर्किएका हुन् । यसरी नेपाल छिर्न भनेर जटही र जमुनीघाटलगायतका नाकाहरूमा दिनहुँ ५/६ जनाको टोली आउँदै फर्किंदै गर्छन् । ‘जेठ १४ गतेसम्म हामीले यही नाकाबाट पनि नेपालीलाई भित्र्याएका थियौं,’ सशस्त्र प्रहरीको जटही बीओपी प्रमुख प्रहरी निरीक्षक ध्रुवप्रसाद भट्टले भने, ‘अहिले आउनेहरूलाई भिट्टामोडबाट मात्रै प्रवेश पाइन्छ भनेर उतै पठाइदिने गरेका छौं ।’ उनले शनिबार मात्रै पनि १४ र २७ सदस्यीय दुई टोलीलाई भिट्टामोड नाकातिरको बाटो देखाइदिएका थिए । तिनैमध्येको २७ सदस्यीय टोलीलाई हामीले जमुनीघाटमा भेटेका हौं ।

लकडाउन सुरु भएयता दक्षिणतर्फका १६४ सीमाबाट २ लाखभन्दा बढी नेपाली स्वदेश फिर्ता भएका छन् । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को तथ्यांकअनुसार झन्डै ४० लाख नेपाली भारतमा कार्यरत छन् । यद्यपि सरकारसँग आफ्ना कति नागरिकले भारतमा काम गर्छन् भन्ने औपचारिक रेकर्ड भने छैन । सरकारले ६ देखि १० लाखसम्म नागरिक नेपाल भित्रिने अनुमान गरेको छ । सरकारको पछिल्लो रेकर्डअनुसार एक दिनमै करिब १५ हजार नेपाली दक्षिणी नाकाबाट भित्रिरहेका छन् । तर उनीहरूका लागि तोकिएको नाकाबारे सूचना प्रवाह नहुँदा सिमानामा आएर दु:ख पाउनेको संख्या धेरै छ ।

हिँड्दाहिँड्दै लखतरान परेका यी २७ युवा बिहान १० बजेतिर जमुनीघाट नाकामा पुगेका थिए । त्यहींबाट उनीहरूले धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डललाई सम्पर्क गरे । मण्डलले ट्रयाक्टर पठाइदिने आश्वासन पनि दिएका थिए । ‘एकछिनमा मेयरले ट्रयाक्टर पठाइदिनुहुन्छ, त्यही ट्रयाक्टरमा हामी भिट्टामोडसम्म जान्छौं र गाउँमा गएर क्वारेन्टाइनमा बस्छौं,’ विष्णुले कान्तिपुरसँग भनेका थिए । उनीहरूले अब आफूहरूले एक कदम पनि हिँड्न नसक्ने बताएपछि नाकामा खटिएका सशस्त्र प्रहरीले त्यहीं आराम गर्न दिएका थिए ।

दिउँसो ३ बजेतिर हामीले उनीहरूसँग कुराकानी गर्दागर्दै एउटा ट्रयाक्टर आइपुग्यो । यी युवा आफैंलाई लिन आएको भन्ठानेर जर्‍याकजुरुक उठे र दौडिए तर त्यहाँ खटिएका सशस्त्र प्रहरीले ट्रयाक्टर उनीहरूलाई लिन नआएको र आउँदा पनि नआउने बताएपछि निराश बनेर फेरि भारतीय बाटो हुँदै भिट्टामोडतर्फ सोझिए । राति साढे ९ बजे हामीले यो समाचार तयार पार्दासम्म उनीहरू त्यहाँ पुगेका छैनन् । महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले धनुषाधाम नगरपालिकाका २७ युवाको समूह भिट्टामोड नाकाबाट भित्रिनसकेको जानकारी दिए ।

प्रकाशित : जेष्ठ २५, २०७७ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्

वाणिज्यले गर्‍यो प्रहरी दुरुपयोग

राजु चौधरी

काठमाडौँ — बजार अनुगमनका क्रममा हूलदंगा रोक्न र टोलीलाई सुरक्षा दिन खटाइने प्रहरी वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दुरुपयोग गरेको पाइएको छ । अनुगमनका क्रममा टोलीलाई सुरक्षा दिन सई, असई र दुई हवल्दारसहित चार जना विभागमा खटिने गरेका छन् ।

विभागले भने ती प्रहरीलाई कल सेन्टरमा राखेर व्यवसायीलाई फोन गर्न लगाई विभाग बोलाउन लगाउने गरेको पाइएको हो । प्रहरी दुरुपयोग गरेको सूचना महानगरीय प्रहरी परिसरमा पुगेपछि ती प्रहरीलाई फिर्ता बोलाइएको छ । ‘प्रहरीलाई अनुगमनका क्रममा सुरक्षा दिन पठाएका थियौं । उनीहरूको काम व्यवसायीलाई फोन गर्ने होइन । गर्न दिनु पनि हुँदैन,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले भने, ‘विभागले गैरव्यावसायिक काम गरेको देखियो । कर्मचारी घरमा राखेर तिनको काम प्रहरीलाई लगाइयो ।’

लकडाउनमा बजार अनुगमन फाट्टफुट्ट मात्रै भएको छ । कोरोना संक्रमण बढिरहेका बेला क्वारेन्टाइनमा प्रहरीको खाँचो पनि भएकाले अनुगमनका बेला मात्रै पठाउने गरी प्रहरीलाई फिर्ता बोलाइएको ज्ञवालीले बताए । विभागका महानिर्देशक नेत्र सुवेदीले भने महानगरीय प्रहरी परिसरले परिपक्व निर्णय नगरेको आरोप लगाए । फोन गर्ने काममा प्रहरीसँगै विभागका कर्मचारी पनि रहने गरेको उनको भनाइ छ । ‘प्रमुख जिल्ला अधिकारीसँगको सल्लाहबाटै प्रहरी मगाएका थियौं । कर्मचारी र प्रहरीलाई सँगै खटाएका थियौं । उनीहरूसँगै कर्मचारी पनि हुन्छन्,’ सुवेदीले भने ।

प्रहरीसँग विभागका निरीक्षक अधिकृत पनि हुने गरेको उनको दाबी छ । बजार अनुगमनपछि बयानका लागि निरीक्षक अधिकृतले व्यवसायी बोलाउनेलगायत काम गर्नुपर्छ । अनुगमनका क्रममा सुरक्षा दिने मात्रै प्रहरीको काम हो । व्यवसायीलाई बोलाउनै परे कार्यालयबाट आधिकारिक पत्र पठाउनुपर्ने एसएसपी ज्ञवालीले बताए । ‘विभागले आधिकारिक रूपमा पत्र पठाउनुपर्छ । व्यवसायीले अटेरी गरेमात्र पक्राउ गर्न प्रहरी खटाउने हो,’ उनले भने, ‘तर गैरव्यावसायिक काम भयो । प्रहरीलाई गलत ड्युटीमा खटाइयो ।’

कारण यस्तो छ

विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रका अनुसार केही दिनयता अनलाइन मार्केटिङ गर्ने व्यवसायीलाई विभागमा बोलाएर बयान लिने निर्णय भएको थियो । सोहीअनुसार न्युरोडमा रहेको भर्जिन मोबाइल प्राइभेट लिमिटेडलाई बोलाइएको थियो । उक्त लिमिटेडले मास्क र सेनिटाइजरको विज्ञापन गरेको थियो ।

‘मोबाइल पसलको अनुमति लिए पनि मास्क र सेनिटाइजर बिक्री गरेको देखियो,’ उनले भने, ‘त्यही भएर प्रमाणसहित विभागमा उपस्थित हुन एक जना प्रहरीले बोलाउनुभएको हो ।’ विभागमा ड्युटीमा खटिएका प्रहरीले ती व्यवसायीलाई खरिद र बिक्री बिलसहित विभागमा उपस्थित हुन फोन गरे ।

भर्जिन मोबाइलका सञ्चालक विवेक शर्माले आफूले अनलाइनमा सेनिटाइजर र मास्कको विज्ञापन गरेको स्विकारे । बिक्री भने मोबाइल कम्पनीबाट नभई सोनुम ट्रेडर्सबाट गरिएको उनको भनाइ छ । सोनुमबाट बढी पैसा नलिएको उनको दाबी छ । ‘आधिकारिक रूपमा बोलाउँदा विभागमा उपस्थिति हुन कुनै समस्या छैन,’ उनले भने, ‘स्वार्थ पूर्ति गर्न प्रहरी लगाएर दमन गर्न खोजियो ।’

त्यसपछि उनले महानगरीय प्रहरी परिसरको सहायता लिएका थिए । उनका अनुसार विभागबाट बिहीबार २ बजे फोन गएको थियो । प्रहरीले गरेको फोनमा एक घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन थियो । ताम्राकार हाउस बन्द भएकाले कागजात लिन सम्भव नभए पनि शर्मा विभाग पुगे । त्यसपछि विभागका कर्मचारीले एउटा चिटमा खरिदबिक्री बिल, दर्तासहितको प्रमाणसहित शुक्रबार पुन: बोलाए । शुक्रबार विभागमा जानुअघि उनले परिसरमा फोन गरेका थिए ।

‘शुक्रबार पुन: विभागबाट प्रहरीले फोन गरे । केहीबेरमा आउने भन्दै परिसरमा एसएसपी ज्ञवाली सरलाई सम्पर्क गरें,’ शर्माले भने, ‘प्रहरीले फोन गर्न मिल्दैन, आधिकारिक नभएपछि परिसर पुगेको हुँ ।’ त्यसक्रममा एसएसपी ज्ञवालीले विभागमा खटिएका प्रहरीलाई फोन गरेर आफूअनुकूल टेकुमा भेट्न बोलाएका थिए । लगत्तै विभागमा खटिएका प्रहरी परिसर पुगेका थिए । प्रहरीको बयानपछि परिसरले अनुगमनमा खटिने प्रहरीलाई फिर्ता बोलाएको हो ।

‘निर्देशनमा प्रहरीलाई फोन गर्न लगाउनु बदमासी हो,’ एक उपभोक्ता अधिकारकर्मीले भने, ‘नियतवश फोन गरेको पनि हुन सक्छ । प्रहरीलाई फोन गर्न लगाएर विभागले गल्ती गरेकै हो ।’

प्रकाशित : जेष्ठ २५, २०७७ ०८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×