कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘खुट्टा होइन, मन धेरै पोलेको छ’

‘खुट्टा होइन, मन धेरै पोलेको छ’

Highlights

  • रातदिन भोकभोकै पैदल हिँडिरहेका मजदुरका अनेक भोगाइ छन् । उनीहरूको बाध्यता र भोगाइ न अहिलेसम्म काममा लगाउनेले बुझे, न सरकारले नै

दाङ/रूपन्देही — पाँच दिनअघि पोखराबाट पैदल यात्रा सुरु गर्दा खुसीराम चौधरी बाटामा खाना नमिल्ने र दुःख पाइनेमा जानकार थिए । यस्ता समस्या झेल्दै उनी मंगलबार बिहान ४ बजे रूपन्देही आइपुगे । त्यही बेला उनले हजुरबुबा जुगरामको मृत्युको खबर सुने । उनी तत्कालै घर पुग्न चाहन्थे । केही उपाय लागेन ।

‘खुट्टाको दुखाइ कम हुँदै जाला तर अहिले मन धेरै पोलेको छ,’ बुधबार उनले भने, ‘के भन्नु र । केही कुरा छैन ।’ मंगलबार घरबाट निरन्तर फोन आयो । जसरी पनि आइपुग्नु मात्रै भनियो । अन्ततः कुराकानी गर्दागर्दै मोबाइलको ब्याट्री सकियो । त्यसपछि के भयो उनलाई थाहा छैन ।

कैलालीको टीकापुर नगरपालिका–१, शक्तिनगरको मुक्तकमैया शिविरस्थित घरमा उनकी आमा, श्रीमती, भाइ र एक वर्षका छोरा बस्छन् । बुबाको चार वर्षअघि नै मृत्यु भइसकेको छ । त्यसैले हजुरबुबाको अन्त्येष्टिमा पुग्न दबाब थियो । बुधबार दिउँसोसम्म उनी दाङमै थिए । अझै कति दिनमा घर पुगिने हो, थाहा छैन । मुक्तकमैया परिवार भएकाले पर्याप्त जग्गाजमिन छैन । उनका हजुरबुबा र बुबाले कमैया बसेरै जीवन बिताए । उनले भने मजदुरी रोजे ।

घर निर्माणका काममा मजदुरी गर्न तीन महिनाअघि पोखरा गएका थिए । ‘लकडाउन सकिएपछि जाउँला भन्दाभन्दै धेरै दिन बित्यो,’ उनले भने, ‘भएको खाएर सकियो ।’ त्यसपछि १५ जना साथीहरूसँग पैदल यात्रा थाले । संकटका बेला उनी पूर्व–पश्चिम राजमार्गमा भोकभोकै हिँडिरहेका छन् ।

टीकापुर–६ नारायणपुरका २९ वर्षीय विजय चौधरी पनि खुसीरामसँगै यात्रामा छन् । काम रोकिएपछि घर फर्किन थालेका हुन् । उनको पनि जग्गा छैन । अधियाँमा खेती लगाउँछन् । खेतीपाती सकेर काम खोज्न जान्छन् । बाली भित्र्याउने बेला घर फर्किन्छन् । गहुँ भित्र्याउने यो बेला घरमा कोही छैन । ‘गहुँ सुकेर बारीमै झर्न थाल्यो रे,’ उनले दुखेसो सुनाए, ‘बुढा बा–आमा कतिबेला पुग्छौ भन्दै रुन्छन् । आफ्नो हालत यस्तो छ ।’

उनका तीनै भाइ मजदुरी गर्छन् । दुई भाइ काठमाडौंमा थिए । कान्छो भाइ आशाराम १० दिनअघि काठमाडौंबाट हिँडेका हुन् । अहिलेसम्म सम्पर्क भएको छैन । मोबाइल स्विच अफ छ । माइलो भाइ उतै छन् । उनी खर्च नभएर काठमाडौंमा रोकिएका हुन् । ‘कतिबेला घर पुगुँलाजस्तो भएको छ,’ केहीको मौनतापछि उनले भने, ‘मन आत्तिएर नहुने ।’

कोरोनाभन्दा घरको सुर्ताले ज्यान जाने अवस्था आएको उनले बताए । ‘कोरोनाको के कुरा, हिँडेरै मर्ने अवस्था भइसक्यो,’ उनको आवाजमा आक्रोश मिसिएको स्पष्ट हुन्थ्यो । बाटामा भेटिएका नेताहरूलाई ‘घर जाने व्यवस्था गरिदेऊ’ भन्दा कसैले नसुनेको उनले बताए ।

उनीहरू जस्तै मजदुरी गरेर गुजारा चलाउने धेरै अहिले घर फर्कने क्रममा छन् । लकडाउनका कारण लामो दूरी हिँडेर कटाइरहेका छन् । बाटामा खाने, बस्ने व्यवस्था छैन । भोकभोकै हिँडिरहेका मजदुरका मन दुख्ने भोगाइ छन् । बर्दियाको ठाकुरबाबा–५, बगनाहाका ५० वर्षीय रामप्रसाद थारू पोखराबाट पाँच दिन हिँडेर बुधबार दिउँसो लमहीस्थित अर्जुनखोला आइपुगे । उनका साथमा खानेकुरा केही थिएन । भोकै हिँडिरहेका बेला सानो होटल खुलेको देखे ।

चाउचाउ पकाइदिन अनुरोध गरे । होटल सञ्चालकले प्याज काटेर चाउचाउ पकाउन सुरु गरिन् । त्यही बेला एक पुरुष आएर ‘बटुवालाई खुवाउने होइन, खतरा हुन्छ’ भन्दै पकाउने सामान खोसे । अनि ढोका बन्द गरे । ‘यस्तो भएपछि कसको मन दुख्दैन,’ रामप्रसादले भने, ‘अपमान सहेर हिँडिरहेका छौं ।’ रोगले भन्दा भोकले मर्ने दिन आएको बताएपछि उनले थप केही बोल्न चाहेनन् ।

‘चालकको न प्रहरीको, कसैको मन फर्किएन’

बर्दियाकै ठाकुरबाबा–६, बकुवाका २९ वर्षीय हरिलाल चौधरी काठमाडौंमा मजदुरी गर्थे । लकडाउनपछि काम बन्द भयो । केही दिन ठेकेदारले खुवाए । त्यसपछि खुवाउन नसक्ने भनेर घर पठाइदिए । उनी नौ दिन हिँडेर बुधबार लमही आइपुगेका हुन् । ‘काम गरेको पैसा पाइएको छैन । अलिकति दिएको बाटो खर्च पनि सकियो,’ उनले भने, ‘अब खानेकुरा केही छैन ।’

बाटामा केही सहयोगीले चाउचाउ र चिउरा दिए । केही ठाउँमा खाना खुवाउने भेटिए । ‘कसैले खुवाए, खाइयो, नत्र भोकै हिँडियो,’ उनले थपे । बाटामा पसल र घर बन्द छन् । कोही निस्कँदैन । दिउँसो गर्मी बढ्दै छ । हिँड्न समस्या छ । रातिमा चिसो हुने भएकाले धेरै हिँड्ने गरेको उनले सुनाए ।

‘निद्रा थेग्दासम्म हिँड्छौं । धेरै गाह्रो भयो भने सडक किनारमै सुत्छौं,’ निधार खुम्च्याउँदै उनले बह पोखे, ‘फेरि राति १ बजेतिर उठेर हिँड्न थाल्छौं ।’ सडकमा ट्रक गुडिरहेको देख्यो भने रोक्छन् कि भन्ने आश लाग्नेगरेको उनले सुनाए । तर, हालसम्म न कुनै चालकको मन फर्किएको छ, न प्रहरीकै ।

कञ्चनपुरको लालझाडी–१ विनबारीका २५ वर्षीय प्रवेश राना काठमाडौंको धोबीघाटस्थित एक कम्पनीमा काम गर्थे । काम बन्द भयो । केही दिन कम्पनीले खाना दियो । लकडाउन लम्बिन थालेपछि समस्या भयो । त्यसपछि गाउँकै साथीसँग पैदल घरतिर हिँडे ।

बाटामा कतै ट्रक चढ्दै, कतै हिँड्दै उनी सात दिनमा दाङको लमही आइपुगेका छन् । ‘कम्पनीले काम गरेको सबै पैसा पनि दिएको छैन । लकडाउन खुलेपछि पठाइदिन्छु भनेको छ,’ उनले भने, ‘केही बाटो खर्च दिएको थियो । त्यसकै भरमा हिँडिरहेका छौं ।’ उनको समूहमा पश्चिम नेपालका ५० जना छन् । कोही अघि त कोही पछि हिँडिरहेका छन् ।

हिँड्दाहिँड्दै मरिने चिन्ता

पिठ्यूँमा बोकेकी तीन वर्षकी सानी छोरीलाई घाम छेक्न छाता ओढाएर बुधबार दिउँसो रूपन्देहीको बुटवलस्थित चौराहाबाट अगाडि बढेका प्रकाश नेपालीको गन्तव्य दाङसम्म हो । उनीसँगै श्रीमती, भाइ र आमाबुबा पनि हिँडिरहेका छन् । काठमाडौंको एक इँटाभट्टामा कार्यरत उनको परिवार लकडाउन खुल्ने आशमा केही दिन अड्कियो । ‘तर, झन् थपियो । घरमा बहिनी एक्लै छोडेर सबै जना कमाउन गएको, केही न केही भयो,’ उनले दुःख पोखे ।

आफू दलित समुदायको भएकाले गाउँमा केही काम नपाइने र खान लाउन समस्या भएपछि काठमाडौं गएको उनको भनाइ छ । घाउ भएका कारण केही महिनाअघि चितवनको भरतपुर पुगेर खुट्टाको शल्यक्रिया गरेका उनलाई हिँड्न समस्या भइरहेको थियो । गाउँमा बारीमा गहुँ पाकेपछि बहिनीले तारन्तार फोन गरिरहेकी छन् । गाडी नपाएपछि हिँडेरै आएको उनले बताए ।

गत चैत २९ देखि काठमाडौंबाट हिँडेका उनीहरू बुधबार दिउँसो बुटवल आइपुगेका छन् । धादिङको गल्छीबाट नारायणगढसम्म ट्रकमा आएपछि केही राहत भएको प्रकाशका बुबा कृष्णबहादुरले बताए ।

‘चितवनबाट हिँडेरै आयौं,’ उनले भने, ‘मंगलबार राति पानीले नराम्ररी चुट्यो ।’ ओत लाउन मिल्ने ठाउँ नपाएर कष्ट खेपेको उनले सुनाए । रातारात पश्चिम नवलपरासीको दाउन्नेसम्म आए । त्यहाँ बच्चा बोकेर हिँड्न नसकेको प्रहरीसित दुखेसो गरे । प्रहरीले गाडीमा चढाएर बुटवलसम्म पठायो ।

कृष्ण विगत १५ वर्षदेखि इँटाभट्टामा काम गरिरहेका छन् । उनीहरूसँग अन्य चार जना पनि थिए । यहाँ आएर एउटा प्रतीक्षालय छेउमा बसे । लामो श्वास फेरे । उनीहरूले रोगले भन्दा हिँड्दाहिँड्दै सडकमै मर्ने चिन्ता लागेको दुखेसो पोखे । प्रकाशकी आमा सावित्रा खुट्टा समाएर रोइरहेकी थिइन् ।

‘खुट्टा सुन्नियो,’ आँसु पुछ्दै उनले भनिन्, ‘गरिबीले मर्नु न बाँच्नु बनायो ।’ इँटाभट्टा साहुले दाल, चामल दिन्छु, बस भने पनि घरमा एक्ली छोरी र वर्षभरि खाने अन्न थन्क्याउन हिँडेको उनले सुनाइन् ।

पाल्पाको बर्तुङमा घर बनाउने मिस्त्रीको काम गरिरहेका राजु घर्तीले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफू र अन्य आठ जना बर्दिया जानका लागि हिँडेको र बुटवलमा कसैले खाना खुवाउन सहयोग गरेमा आभार हुने स्टाटस राखे ।

उनको स्टाटस पढेर श्री सत्य साई केन्द्र बुटवलले खाना खुवाउने जिम्मा लियो । राजुका साथमा श्रीमती राधी, दुई सन्तान र अन्य पाँच जना छन् । उनीहरू सोही दिन बिहान ५ बजे बर्तुङबाट हिँडेका हुन् । ६ वर्षदेखि राजुका दम्पती घर बनाउने काम गर्छन् । दैनिक एक हजार रूपैयाँ कमाइ हुन्थ्यो । राधीले ६ सय रूपैयाँ छुट्टै कमाउँथिन् । छोराछोरी स्कुल पढ्थे ।

‘काम गरिरहेका थियौं तर सामान पाइन छोडेपछि काम रोकियो,’ उनले भनिन् । कमाएको पैसाजति लकडाउन खुल्ने आशामा सकिएपछि घर हिँड्नुपरेको उनले बताइन् । पाँच वर्षीया छोरीलाई पालैपालो बोकेर ल्याएको उनको भनाइ छ । समूहमा रहेका सबै एकै ठाउँका हुन् ।

उक्त समूहका वृद्ध अल्लु चौधरी लौराका सहारामा हिँडिरहेका थिए । ‘बल्ल बल्ल हिँडेको छु । मेरो हिँडाइले अरूलाई पनि ढिलो बनाएको छ,’ उनले सुनाए । अल्लुलाई उच्च रक्तचापको समस्या छ । उनी अरूजस्तो फटाफट हिँड्न सक्दैनन् ।

सिद्धार्थ राजमार्गको केराबारीसम्म आएपछि एउटा ट्रकले उनीहरूलाई बुटवलसम्म ल्याइदिएको थियो । मध्यान्ह बुटवल आएका उनीहरूलाई गोलपार्कमा सत्य साई केन्द्र बुटवलका सदस्यले खाना खुवाए । खाना खाएपछि उनीहरू हिँडेरै गन्तव्यतर्फ अघि बढे ।

अहिले बुटवलको नेपालगन्ज रोडमा दिनहुँ यस्ता यात्री आएर रोकिने गरेका छन् । त्यहाँबाट प्रहरी, सरकारी निकाय र नगरपालिकाको सहयोगमा साधन पाए घर जाने आशा उनीहरूको हुन्छ तर बुटवलबाट अन्यत्र जानका लागि न त मानिसलाई सहजै साधनको व्यवस्था हुन सकेको छ, न सम्बन्धित निकायले चासो दिएका छन् । कैयौंपटक मजदुर अलपत्र परेको र सहयोगको खाँचो औंल्याउँदासमेत स्थानीय तह मौन रहेको मजदुर सहयोगमा खटिएका एक युवाले सुनाए ।

‘यसरी देशका विभिन्न जिल्लामा काम गर्न गएका बर्दिया, कैलाली, दाङ, रोल्पाका मजदुरलाई सडकमा देख्नासाथ साधनको व्यवस्था गरेर घर पठाउने जिम्मेवारी सरकारले गर्न नसके यी मानिसले भोलिका दिनमा सरकार र राजनीतिक दलबाट गरेको झिनो आशा पनि मेटिने निश्चित छ,’ नाम नबताउने सर्तमा उनले भने ।

घटे सहयोगी

हिँड्दै आएका मजदुरलाई सडकमा सहयोग गर्ने पनि बिस्तारै घट्दै गएका छन् । सुरुमा केही ठाउँमा निःशुल्क खुवाए । कसैले गाडीको व्यवस्था गरेर पठाए तर अहिले यस्ता सहयोगी घटेका छन् । टाढाबाट आएका व्यक्तिबाट कोरोना संक्रमण सर्ने चिन्ताले सहयोग कम हुँदै गएको उनीहरू बताउँछन् ।

लकडाउनको सुरुमा मजदुरलाई खाने र घरतिर पठाउने व्यवस्था गरे पनि लामो समय यो सम्भव हुन नसकेको दाङको भालुबाङ उद्योग वाणिज्य संघका अध्यक्ष जगत पोखरेलले बताए । बजारमा भीड हुँदा स्थानीयले असुरक्षित ठान्ने गरेको उनले सुनाए । उनका अनुसार बुधबार एकैसाथ ९४ जनाको समूह पश्चिमतर्फ लागेको छ ।

देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले अहिलेसम्म एक हजार ५ सयभन्दा बढीलाई आफ्नै ट्रकमा राखेर घरतर्फ पठाए तर अब सरकारले नै यस्ता काम नगर्न भनेपछि उनी अलमलमा परेका छन् ।

‘सरकारले जो जहाँ छ, त्यहीँ रोक्ने भनेकाले हामीलाई गाडीको व्यवस्था गर्न कठिन भएको छ । मानिसहरू बाटामा अलपत्र पर्ने भए,’ उनले भने, ‘यो त छाडा छोडेजस्तो भयो । कि त रोक्नुपर्‍यो, हिँड्नै दिनुभएन । हिँडिसकेपछि केही व्यवस्था गर्नुपर्‍यो ।’ मानिसहरू बाटामा भोकभोकै परेको र दुःख पाएको देख्दा सहयोग गर्न खोजे पनि नसक्ने अवस्था आएको उनले बताए । बुधबार मात्रै लमहीबाट ३२ जनालाई खाद्यान्न बोक्ने ट्रकमा पश्चिमतर्फ पठाएको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : वैशाख ४, २०७७ ०९:०२
x
×