कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

असोज पहिलो सातादेखि काठमाडौंमा मेलम्चीको पानी पुनः वितरण गर्छौं : मन्त्री यादव 

भाद्र १८, २०८१
असोज पहिलो सातादेखि काठमाडौंमा मेलम्चीको पानी पुनः वितरण गर्छौं : मन्त्री यादव 

काठमाडौँ — खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा मेलम्चीको पानी असोज पहिलो सातादेखि पुनः वितरण गरिने जानकारी दिएका छन् । उनले खानेपानीको हाहाकार छिट्टै हटाउने तयारीमा सरकार रहेको पनि बताए ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले हाल काठमाडौंमा ६ दिनमा एकपटक पानी वितरण भइरहेको उल्लेख गर्दै त्यो समस्या हटाउनका लागि सरकारले मेलम्चीको विकल्प पनि खोजिरहेको जानकारी दिए ।

मौसममा सुधार आउने बित्तिकै मेलम्ची आयोजनाको सुरुङमा पानी पठाइने मन्त्री यादवको भनाइ छ । मेलम्ची खानेपानी आयोजनाको पानी नियमित उपलब्ध हुन नसक्दा वैकल्पिक उपाय अवलम्बन गरेर काठमाडौंवासीलाई खानेपानी उपलब्ध गराइएको उनले बताए ।

मेलम्ची खानेपानी आयोजनाको बाँधस्थललाई सुरक्षित बनाइ नियमित रुपमा खानेपानी उपलब्ध गराउन सरकारले आवश्यक कार्यक्रम अगाडि बढाइएको मन्त्री यादवले बताए ।

मेलम्चीको विकल्पको रूपमा सरकारले भक्तपुरको महादेवा खोला, ठोस्ने खोला, सिस्ने खोलाको पानी काठमाडौं उपत्यकामा वितरण गर्न सम्भाव्यता अध्ययन सम्पन्न गरी डीपीआर अन्तिम चरणमा पुगेको पनि मन्त्री यादवले जानकारी दिए । ‘भक्तपुरको महादेवा खोला, ठोस्ने खोला, सिस्ने खोलाको पानी काठमाडौं उपत्यकामा वितरण गर्न सम्भाव्यता अध्ययन सम्पन्न भई डीपीआर अन्तिम चरणमा रहेको छ । यी आयोजना सम्पन्न भएपछि काठमाडौं उपत्यकामा थप खानेपानी सुविधा उपलब्ध हुनेछ । यसमा हामी काम गरिरहेका छौं,' यादवले भने, 'तारकेश्वरमा पनि पाँच ठाउँमा त्यस्तो मुहान छन्, जहाँ सिधै २५ देखि ३० करोड खर्च गर्ने हो भने त्यसमा हामी कमसेकम १४ देखि १५ करोड लिटर पानी पाउँछौँ । त्यसमा पनि काम गरिरहेका छौँ ।'

स्थानीय पानीका स्रोत उपभोग गर्नका लागि कानुनी जटिलता रहेको र तिनलाई हटाएर पानी प्रयोग गर्ने अवस्था ल्याइने मन्त्रीले बताए । हाल काठमाडौं उपत्यकामा खानेपानीको अभाव रहेको उनले जानकारी दिए । 'अहिले ६ दिनमा पानी दिइरहेका छौँ, चाँडै यो समस्या समाधान गरी जनतासमक्ष खानेपानी पुर्‍याउनेछौँ,’ उनले भने ।

प्रकाशित : भाद्र १८, २०८१ १७:५२
x
×