विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

भाद्र २७, २०८१

कान्तिपुर संवाददाता

Fraudster arrested for sending abroad

काठमाडौँ — वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै २३ लाख ८५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका–७  घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने ३० वर्षीय सुशान्त सिंह, कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ घर भई काठमाडौँ सिनामंगल बस्ने ३६ वर्षीय सल्लउदिन वेग तथा तेह्रथुमको फेदाप गाउँपालिका–८ घर भई हाल बुढानीलकण्ठ नगरपालिका–८ हात्तीगौंडा बस्ने ५३ वर्षीय राजु दाहाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकामध्ये सिंहले दुई जनालाई दुबई पठाउने भन्दै आठ लाख ४० हजार रुपैयाँ, वेगले दुई जनालाई कुवेत पठाउने भन्दै सात लाख २० हजार रुपैयाँ तथा दाहालले तीन जनालाई क्रोएसिया पठाउने भन्दै आठ लाख २५ हजार रुपैयाँ रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

कान्तिपुर

Link copied successfully