कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

‘निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्र अर्थतन्त्र सुध्रिन्छ’

भाद्र ३०, २०८१
‘निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्र अर्थतन्त्र सुध्रिन्छ’

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्बाध काम गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसँगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई पनि आग्रह गरे । 

‘नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक छ,’ उनले भने, ‘सोहीअनुसार नीति बनाउन सकिएन भने सुधारमा ढिलाइ हुन्छ ।’ नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको पनि ढकालले बताए ।

महासंघले बैंकहरूलाई आफ्नै सर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको र अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने उनको भनाइ छ ।

पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन आठ वटा कानुनमा संशोधन भएको र द्विपक्षीय लगानी सम्झौताको खाकासमेत तयार भएको ढकालले जानकारी दिए ।

उच्च विदेशी विनिमय सञ्चिति र सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालको प्रवर्द्धनमा सहयोग पुर्‍याउनुपर्ने अध्यक्ष ढकालको आग्रह छ । भेटमा मिसन प्रमुख सरवत जाहाँले नेपाललाई सहयोग गर्न कोष आएको बताइन् । निजी क्षेत्रलाई महत्त्व दिनुपर्ने विषयमा कोष सदैव सकारात्मक रहेको पनि उनको भनाइ छ ।

प्रकाशित : भाद्र ३०, २०८१ ०७:२५
x
×