कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

नाडा अटो सोमा स्किम : जोन्सेनको मोटरसाइकल र स्कुटरमा पाँच हजार छुट

भाद्र १३, २०८१
नाडा अटो सोमा स्किम : जोन्सेनको मोटरसाइकल र स्कुटरमा पाँच हजार छुट

काठमाडौँ — नेपालमा जोन्सेन मोटरसाइकलको आधिकारिक बिक्रेता स्यामुकापु ट्रेडिङले जोन्सेन ब्रान्डका दुईपांग्रे सवारीमा पाँच हजार रुपैयाँ छुट दिने भएको छ । मंगलबारदेखि प्रदर्शनमा रहेको ‘नाडा अटो सो २०२४’ लाई लक्ष्य पार्दै कम्पनीले जोन्सेन ब्रान्डका मोडल बुकिङ गर्ने ग्राहकलाई उक्त छुट उपलब्ध गराउने भएको हो । 

अटो सो अवधिभरमा जोन्सेनका मोटरसाइकल र स्कुटर बुकिङ गर्ने ग्राहकका लागि मात्र छुट योजना रहेको कम्पनीका सिनियर म्यानेजर दिनेशरत्न बज्राचार्यले जनाए । ‘नगद छुटको अफर भने अटो सोमा आएर बुकिङ गर्ने ग्राहकलाई मात्र उपलब्ध छ । यसका लागि हामीसँग नाम टिपाएपछि क्यास छुटको कुपन दिन्छौं र त्यही किन्न आउँदा देखाएपछि छुट पाइन्छ,’ उनले भने, ‘यो नगद छुट भने बुकिङ गरेको मितिदेखि १५ दिनसम्मका लागि मात्र मान्य रहन्छ । तर हामीले मोटरसाइकल किनेपछि भने हेल्मेट, निःशुल्क एक वर्षको सवारी कर, दुई वर्षको वारेन्टी र छ पटकसम्म निःशुल्क सर्भिसिङको सुविधा उपलब्ध गराउँछौं ।’

कम्पनीले अटो सोमा जोन्सेनको आठ वटा उत्पादन (प्रडक्ट) प्रदर्शनीमा राखेको छ । यसमा २१६.५ सीसी इन्जिनको करेरा (जेटएस २०० जीवाई–५) छ । नेपाली बजारमा उक्त मोटरसाइकलको मूल्य पाँच लाख ६० हजार पाँच सय रुपैयाँ छ । यसैगरी ४ लाख ९९ हजार रुपैयाँको २१७ सीसीको विक ९ (जेटएस२५०–९ ए), छ लाख पचार हजार रुपैयाँको २५० सीसीको जेटएस २०० जीवाई–४, तीन लाख ३० हजार रुपैयाँको १४९.४ सीसीको भीआई (जेटएस १२५ जीवाई–३), तीन लाख ७५ हजार रुपैयाँको १९६.४ सीसीको जेटएस १५० जीवाई–८ र चार लाख ७० हजार रुपैयाँको २३० सीसीको भीआई (जेटएस१२५ जीवाई–३) मोटरसाइकल प्रदर्शनीमा छन् ।

ज्योति ग्रुपअन्तर्गतको स्यामुकापु कम्पनीले नेपालमा पहिलो पटक जोन्सनको उत्पादन लन्च गरेको हो । कम्पनीले अफ रोड (कच्ची सडक) मा कुद्ने मोटरसाइकलका साथै स्कुटर पनि प्रदर्शनीमा राखेको छ, जसमा तीन लाख ३५ हजार रुपैयाँ रहेको १२५ सीसीको जेटएस १२५ टी–३८ र २ लाख ७५ हजार रुपैयाँ रहेको ११९.६ सीसीको स्कुटर येमी (जेटएस१२५–१७ ए) प्रदर्शनीमा छन् ।

प्रकाशित : भाद्र १३, २०८१ ०६:४०
×