जाऊ त्यो इन्द्रेणीसम्म
बादलको गुफाभित्र पस
घामका रेशाहरु पहिल्याउँदै–पहिल्याउँदै
मन र शरीर भेदेर निराकारसम्म पुगेर आऊ
नबिर्सनु फर्कने बाटो
धागोले सुस्तरी–सुस्तरी तान्दा
तिमी उसकै चाल समातेर ओर्लिनुपर्छ
सुन !
चंगाले चंगा भइरहन धागोसँगै बाँधिइरहनुपर्छ
छुस्स छोइदिँदा च्यातिने नरम झिल्लीजस्तै
त्यो कागजको पातलो पाना
स्यााठ र सिरेटो झेल्दै
विराट आकाशमा नाचिरहन्छु भन्छ
छेडेर अझै माऽऽऽथि तारासम्म पुग्छु भन्छ
तर, धागोबिना चंगाको तृष्णा के अर्थ !
बादलको झोक्काले काँप्ने
पानीका बुँदहरुले गलाइदिने चंगा
निस्फिक्री नाच्न र बेपर्वाह उड्न
मसिनो त्यही रेशा चाहिन्छ
आखिर मनजस्तो न हो चंगा पनि !
रुख अड्याउन जराजस्तै
ढुंगा पगाल्न पानीजस्तै
मलाई तिम्रा पखेटाजस्तै
चंगालाई पनि त धागो नै चाहिन्छ ।
प्रकाशित : माघ २७, २०८० ०९:२०