कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

महानगरको एक चिसो रात

भाद्र ९, २०८०
महानगरको एक चिसो रात

Highlights

  • ‘महानगर’ मा छ– सपना पछ्याउँदै सहर पसेकी खुसीको बेखुसी, निराशा र हतास जिन्दगी ।

नाच्दानाच्दै पटुकी खुस्कियो । लेहेंगा मज्जाले कसिएको थियो, पटुकीको वास्ता नगरी नृत्यमै मग्न भएँ । नृत्य प्रतिस्पर्धामा यस्ता झिना कमजोरीले हार्नु पनि त भएन । त्यसमाथि गीतको बोल नै दर्शकलाई नचाउने किसिमको थियो, ‘नाचूँ नाचूँ लाग्यो मलाई ।’ नाचौं–नाचौं लाग्ने गीतमा जोस्सिँदा पटुकी खुस्केर भुइँतिर ।

छेउमा उभिएका स्वयम्सेवक केटोले झट्ट पटुकी छेउ लगाइदियो । दर्शकदीर्घाले गीतको बिटमा ताली बजाउँदै हौसला थपिरह्यो, हामी नाचिरह्यौं । हौसिएर कति नाचिएछ भने नृत्य सकिनेबित्तिकै घाँटी ट्याप्प सुक्यो । स्टेजको पछाडि दौडिएँ, पानी भेटिएन । यति छिटोछिटो सास फेर्दै थिएँ कि ‘पानी’ भनेको कसैले सुनेनन् । रिंगटा चल्यो । इसारामा ‘पानी’ मागें । त्यही पटुकी उठाइदिने केटोले पानी ल्याइदियो, गला भिजाएँ । प्रतिस्पर्धाको नतिजा आयो, हाम्रो समूह प्रतिस्पर्धाबाट बाहिरियो । त्यसपछि घर फर्क्यौं । यो कक्षा ८/९ पढ्दाको कुरा हो ।

घर फर्केपछि त्यही सहयोग गरिदिने केटोको अनुहार दिमागमा घुम्न थाल्यो । प्रतिस्पर्धाबाट बाहिरिनुको पीडाभन्दा उसलाई सहयोगका लागि ‘धन्यवाद’ नभन्नुको छटपटीले सताइरह्यो । सायद मनले उसलाई भेट्ने बहाना खोजिरहेको थियो । तर, साथीले त्यो केटोलाई नोटिस गरेकै रहेनछन् । अब फेसबुकमा खोजौं, उतिबेला अकाउन्ट थिएन । कसैलाई सोधौं, नामै थाहा थिएन । विद्यालयको नाम पनि पो याद गरिएनछ । तर, लामो समय त्यो सानो पलले हृदयमा काउकुती लगाइरह्यो । त्यो मीठो पल मनको कुनै कुनामा अझै सजिएको छ । अहिले त्यो अनुहारको आकृति बिर्सिसकें, केवल मीठो याद मनमै छ । हालै ‘महानगर’ (वान नाइट इन काठमाडौं) फिल्म हेरिसकेपछि म त्यही क्षणमा फर्कें । पक्कै जीवनमा तपाईंले पनि यस्तै मीठो भोगाइ कुनै बेला सँगाल्नुभयो होला, जुन सम्झँदा तपाईंलाई त्यसै खुसी मिल्छ, हृदयमा एक किसिमको आनन्द आउँछ । हो, यस्तै सानो क्षणको कथामा बनेको फिल्म हो– महानगर । मोहन राई निर्देशित ‘महानगर’ ले दुई पात्रका छोटो क्षणको कथा भन्छ, जसले दर्शकको ध्यान फिल्मको अन्तिमसम्म बाँधिरहन्छ । यी दुईलाई हेर्दाहेर्दै ८० मिनेट सकिएको पत्तो हुँदैन ।

मोटरसाइकल दुर्घटनामा परेको एक व्यक्तिलाई सहयोग गर्ने क्रममा खुसी (मेनुका प्रधान) र आशिष (कर्मा) एकअर्कासँग ठोक्किन्छन् । संयोगले भेटिएका यी दुई अपरिचित त्यही घटनाका कारण एक रात सँगै हुन्छन् । यो कुनै हिरो–हिरोइन झरीमा रुझ्दै, पृष्ठभूमिमा बज्ने सुमधुर संगीतमा लिप्सिंक गर्दैर्, एकै ‍ओच्छ्यानमा दुईले बिताउने रात होइन । अप्रत्याशित घटनाका कारण सामान्य मानिसले बिताउनुपरेको क्षणको कथा हो, जहाँ पृष्ठभूमिमा न कुनै संगीत बज्छ न उनीहरू प्रेमिल आलिंगनमा हुन्छन् । फिल्मले खुसी र आशिष कसरी एक रात सँगै बिताउनुपर्ने स्थितिमा पुग्छन् भन्ने देखाउँछ । र, यी पात्रबीच पैदा हुने सुमधुर सम्बन्धको कथा पनि ।

मानवताले जोडिएका यी दुई पात्रले एक रातमा बाँडेका भावना र साटेका अप्ठ्यारा कथा ‘महानगर’ मा देखाइएको छ । फिल्मको कथा सामान्य छ, तर निर्देशक राईले यही सामान्य कथालाई पर्दामा सरल ढंगमै प्रस्तुत गरिदिएका छन् । फिल्ममा देखाइएका घटना यसले ‘लेन्थ’ बढाउन राखिएका अनावश्यक दृश्यजस्ता छैनन्, त्यस समयमा घट्ने घटनालाई नै चलाखीपूर्ण ढंगले पटकथामा लेखिएको छ । ‘महानगर’ को बलियो पक्ष नै यही हो । फिल्म मूल विषयबाट कतै पोखिएको छैन । त्यो एक रातमा ती पात्रका जीवनमा खासै ठूलो धुमधडाका केही हुँदैन । न खुसी कुनै गुन्डाको समूहमा फस्छिन्, न आशिषले एक मुक्काले १० गुन्डालाई ढलाउनुपर्छ । वास्वतिक जीवनमा यस्तो हुँदैन पनि । यस अर्थमा ‘महानगर’ वास्तविक जीवनको अर्गानिक ऐना हो, जहाँ तपाईं सामान्य जीवनका असामान्य जीवनशैली देख्नुहुनेछ ।

फिल्मको कथा खुसीबाट भनिएको छ । सुरुकै एक दृश्यमा क्यामेराले खुसीलाई पच्छ्याइरहन्छ । उनीभित्रको अलमल, छटपटी देखाउन त्यस दृश्यमा क्यामेरा हल्लिन्छ । हजारौं जसरी आफ्नो सपनाको खोजीमा सहर पसेकी खुसीलाई काठमाडौंले बेखुस बनाएको छ, निराश र हताश बनाएको छ । त्यसैले काठमाडौंले दिएको निराशा बोकेर गाउँ फिर्ने तयारीमा छिन् । त्यसै क्रममा घुम्दै काठमाडौं आइपुगेका दार्जिलिङका ‘गाइड’ सँग उनको भेट हुन्छ । आशिषसँगको त्यही भेटले खुसी आफूभित्रको खुसी भेट्छिन् । दुर्घटनामा परेका व्यक्ति निको हुने पर्खाइमा रहेकी खुसी आफ्नो नैराश्यबाट कसरी बिसेक हुन्छिन्, फिल्मको मूल कथा यता बहन्छ ।

दुःख बाँडे घट्छ, खासमा यो फिल्मले यी दुई पात्रमार्फत यही दर्साउन खोजेको छ । नैराश्य र दुःख फ्याँकेर आफूभित्रको आफूलाई हेर्न सुझाउँछ फिल्मले । आशिषजस्तो हुन पनि सिकाउँछ, जो अरूका दुःख सुनिदिन सकोस् । फिल्मले जीवन दर्शनलाई पनि छोएको छ । एक दृश्यमा आशिष खुसीलाई भन्छन्, ‘जीवन जिउने दुई बाटा छन् । सबै मिराकल हुन् भन्ने सोच्ने अथवा केही मिराकल नै होइन भन्ने सोच्ने ।’ खुसीको जीवनमा आशिष ‘मिराकल’ नै बनेर आएका हुन्छन् । कसरी ? त्यो बुझ्न फिल्म हेर्नुपर्छ ।

दुई चरित्रबीचको सम्बन्ध स्थापनामा हतार गरिएको छैन । संवादमा भने राईको मिहिनेत अपुग छ । मध्यान्तरपछि कथा धीमा रूपले अघि बढेको हो कि भन्ने लाग्छ । तर, सुरुदेखि नै द्वन्द्व निर्माण यसरी अघि बढ्छ कि दर्शकको ‍ध्यान ‘महानगर’ ले भड्किन दिँदैन । खुसी र आशिषले त्यो एक रातमा अनुभव गर्ने भावना प्रेम थियो वा मित्रता ? फिल्मले सोझै भन्दैन । तर, प्रेम र मित्रताबीचको त्यही भावना समेटेर फिल्म बनाइएको छ ।

कलाकारद्वय मेनुका प्रधान र कर्माले फिल्मलाई अभिनयमार्फत उम्दा बनाएका छन् । ‘ओपन इन्डिङ’ निर्देशक राईले लिएका अर्को उत्कृष्ट निर्णय हो । यस्तो जटिल सम्बन्धको कथालाई समापन गर्नु चुनौतीपूर्ण हुन्छ । तर, राईले फिल्मलाई जहाँ समापन गरेका छन्, त्यो खुसीको कविता वाचनजस्तै बलियो छ–

म एक्लै यहाँ के गर्न सक्छु र 

यस अँध्यारोमा ?

तिमी अलिकति सोची हेर,

यति विघ्न फोहोर थुपारेर

म कतै पिरामिड त भइनँ ?

प्रकाशित : भाद्र ९, २०८० ०८:४७
x
×