‘कबड्डी’मा रमाइरहेका निर्देशक

फरक कथा पस्कने हुटहुटीमा रामबाबुले थकाली समुदायको सोल्टी र सोल्टिनीको प्रेमकथामा ‘कबड्डी’ तयार गरे, फिल्म व्यावसायिक रूपले हिट मात्रै भएन, सरल शैलीकै कारण नेपाली चलचित्र क्षेत्रमा ‘रामबाबु ब्रान्ड’ पनि स्थापित भयो

भाद्र १३, २०८१

रीना मोक्तान

A director enjoying 'Kabaddi'

काठमाडौँ — मौलिक कथा, परिवेश र पात्रहरू, त्यसमा ‘ह्युमर’ को लेप । निर्देशक रामबाबु गुरुङका फिल्मका विशेषता हुन् यी । उनले टिप्ने विषय अनि कथा भन्ने सरल शैलीकै कारण एक दशकदेखि घरेलु बजारमा ‘रामबाबु ब्रान्ड’ चलिरहेको छ । ‘कबड्डी’ ब्रान्डले स्थापित रामबाबुको निर्देशनमा एक दर्जन फिल्म प्रदर्शन भइसकेका छन् । 

रामबाबुले फिल्मसम्बन्धी विषय पढेका होइनन् । वर्कसप लिए, पुस्तक पढे । जतिबेला फिल्म बनाउँछु भनेर सोचे, लेखनका आधारभूत पक्षमा भिजिसकेका थिए । काठमाडौं आउनेबित्तिकै साहित्यकारहरूसँग संगत बढाए । तर, पहिलो फिल्म लेख्ने आँट नभएकै कारण कवि श्रवण मुकारुङलाई ‘अनागरिक’ लेख्न लगाए । त्यो फिल्मको लेखन, छलफलमा पटकपटक बसिरहँदा स्क्रिप्ट लेखनको आइडिया समाते । 

लघु फिल्म लेखिसकेपछि भने उनलाई आँट आयो । त्यही समयतिर फिल्म गर्छु भनेर उनी मुस्ताङ घुम्न गए । त्यतिबेला मुस्ताङको भिजुअलले तानेको थियो । त्यो भौगोलिक क्षेत्रमा कस्तो कथा भन्न सकिएला त ? खोज्दै जाँदा थकाली समुदायको कथा भेटियो । उनी फरक विषय पस्कन चाहन्थे, बजारमा नौलो केही भन्न चाहन्थे, त्यसैअनुरूप सोल्टी र सोल्टिनीको प्रेमकथामा ‘कबड्डी’ तयार भयो । कबड्डी व्यावसायिक रूपले हिट भएपछि नयाँ फिल्मका लागि नलेखी बस्न सकेनन् ।

A director enjoying 'Kabaddi'लेखनको सुरुवातमा उनी व्यावसायिक दबाब महसुस गर्दैनन् । जस्तै, ‘कबड्डी’को शृंखला लेख्नुपर्‍यो । दर्शकले यो शृंखलामा के पक्षलाई मनपराइरहेका छन्, निर्देशकले ध्यान दिनैपर्‍यो । भयानक कथा भन्छु भनेर अर्थ हुँदैन । त्यसको साटो नयाँ विषयमा अर्को फिल्म बनाए भइहाल्यो । दर्शकको मागकै कारण आफूले कबड्डीका शृंखलाहरू लेख्दै आएको उनी सुनाउँछन् । त्यसमा व्यावसायिक लक्ष्य हुने भइहाल्यो । 

दर्शकको माग नभइदिएको भए कबड्डीको पहिलो र दोस्रो संस्करण मात्रै बनाउने उनले सोचेका थिए । ‘चौथो शृंखलासम्म आइपुग्दा कति तन्काइरहेको भन्लान् । तर, हाम्रो अर्का खाले दर्शक पनि छन् जसले अझै बनाउनुस् हामी हेर्न चाहन्छौं भनिरहन्छन् । त्यसैले कबड्डीको सिरिज बनिरहेको हो,’ उनले भने ।

 १२ औं फिल्म ‘डिग्री माइला’सम्म आइपुग्दा भने यो ब्रान्डको स्वाद अलि खस्कियो । किन ? सिर्जनात्मक पक्ष खोतल्ने हो भने थुप्रै कारण भेटिन्छन् । एक किसिमको ‘कम्फर्ट जोन’ भित्र रमाउँदा ‘डिग्री माइला’ले थुप्रै कुरा सिकाएको उनी बताउँछन् । ‘म सन्तुष्ट छु । हो फिल्ममा केही न केही भूलचुक गरेको छु । तर, यसमा गरेको गल्ती अर्को प्रोजेक्टमा नदोहोर्‍याउने, आफूलाई कसरी सुधार्ने भन्ने सिकें । सधैं उकालो चढेको चढ्यै भयो भने झर्ने पाटो थाहा हुन्न,’ उनी भन्छन् ।

A director enjoying 'Kabaddi'निर्देशक रामबाबु गुरुङ । तस्बिरहरू : दीपक केसी/कान्तिपुर

फिल्मको ‘डिग्री माइला’ आफैंमा रमाइलो र रोचक चरित्र । भएको एउटा डिग्रीकै भरमा गफ लडाइरहने पात्र । राजनीति, शिक्षाबीच देखिएको विकृतिलाई डिग्री माइलामार्फत व्यंग्य गर्न खोजिएको थियो । दर्शकले फिल्मलाई किन मन पराएनन् ? यकिन जवाफ रामबाबुसँग छैन । ‘व्यावसायिक हिसाबले दर्शकले पछ्याइरहेका, मनोरन्जन लिइरहेका विषयमा अनुमान गर्दै फिल्म बनाउने हो । ठ्याक्कै यस्तो बनायो भने दर्शकले मन पराउँछन् भन्ने थाहा भए कोही फिल्मकर्मी पनि असफल हुने थिएनन्,’ उनले भने । उनी भने आफूलाई कस्तो कथामा काम गर्न मन छ, त्यसमा कसरी बढी दर्शक पाउने भन्ने हिसाबले काम गर्छन् । ‘व्यवसायकै लागि के चल्छ भनेर काम गर्न थाले अर्कै नतिजा आउन सक्छ,’ उनले भने । 

रामबाबुले बुझेका छन्, फिल्म भनेको व्यापार हो । नेपालको बजार सानो छ । कम बजेटमै फिल्म बनाउनुपर्ने चुनौती छ । त्यही चुनौतीबीच काम गर्दै आएको उनको अनुभव छ । ‘फिल्मले १५ करोडको व्यापार गर्‍यो, २० करोडको व्यापार गर्‍यो भने खबर आइरहेको हुन्छ । त्यो खुसीकै विषय हो । तर, फिल्म चल्दिएन भने प्रदर्शन खर्चसमेत उठ्दैन । ऋण पनि थपिने सम्भावना हुन्छ,’ उनले भने, ‘अहिले त घरेलु बजारमा हिट भएन भने देशबाहिरको बजारबाट पनि डिमान्ड आउँदैन ।’ 

हरेक फिल्ममा उनी आफूलाई नयाँ फिल्मकर्मीको हिसाबले बजारमा पुर्‍याइरहेका हुन्छन् । नयाँ कथा, नयाँ स्वाद र नयाँ ढंगमा के दिन सकिन्छ ? यही ध्याउन्नमै फिल्म बनाउँछन् । उनका अनुसार बजारले अहिले चरित्र, विषयमा रैथाने स्वाद, सांस्कृतिक र सामुदायिक पक्षहरू खोजिरहेको छ । मूलधारमा बसेर हेर्दा परजस्ता देखिने विषयमा बजारले रुचि राखेको देखिन्छ । पूर्वबाट लिम्बू समुदायको ‘जारी’ आयो, पश्चिमबाट मगरको ‘घरज्वाइँ’ । ती फिल्मले एक किसिमको दर्शक पाइरहेको छ । यो हाम्रो कथा हो, हाम्रो विषय हो भन्ने जमातले पनि मन पराइरहेको छ । आम दर्शकले पनि यस्तै विषय खोजिरहेको उनी पाउँछन् ।

A director enjoying 'Kabaddi'लेखनमा उनको आफ्नै नियम छ । खाका तयार नभएसम्म लेख्न बस्दैनन् । विषय छलफल र अध्ययनमा समय लाग्ला, तर खाका दिमागमा आइसकेपछि खुरुरु लेख्न थाल्छन् । ‘पात्र छ, भन्नुपर्ने के हो भन्ने भइसकेपछि स्क्रिप्ट त जति लेख्दै गयो त्यति माझिँदै जाने हो । त्यसैले मलाई खाका बनाउन समय लाग्दो रहेछ,’ उनी आफ्नो लेखन शैलीबारे सुनाउँछन्, ‘मेरो स्वभाव नै धिमा छ, त्यसैले स्क्रिप्ट लेखनमा समय लागिरहेको हुन्छ ।’ 

अचेल उनी फिल्मका विद्यार्थी होस् या समकालीन फिल्मकर्मी, उनीहरूका स्क्रिप्टमा समेत आफ्नो अनुभव साटिरहेका हुन्छन् । ‘तपाईं लेख्नुस् वा केही बनाउनुस् । सुरुमा तपाईंमा सिर्जनात्मक गुण हुनुपर्छ,’ उनी भन्छन्, ‘फिल्ममै पीएचडी गरेकाहरूले फिल्म लेख्न सकेका छैनन् । त्यसैले लेखनको फर्मुला मात्रै रटेर हुँदैन । कथा वाचनमा ती फर्मुलाले कहाँ सघाउँछन् भन्ने बुझेर प्रयोग गर्नु महत्त्वपूर्ण हो ।’ 

नेपाली फिल्मको स्तर विकासका लागि लेखनमै ध्यान दिनुपर्ने उनी तर्क गर्छन् । नेपाली फिल्म क्षेत्रमा लेखकको अभाव रहेको बताउँदै उनी सुनाउँछन्, ‘अहिलेसम्म फिल्म क्षेत्रका विभिन्न पाटोमा दक्ष जनशक्ति लिएर काम गर्ने वातावरण छ । तर, लेखनमा भने त्यो अभाव देखिन्छ ।’ रामबाबु आफ्नो कम्पनीबाहेक अन्यका लागि खासै फिल्म बनाइरहेका हुँदैनन् । तर, कोभिडबीच ‘फूलबारी’ गर्नुपर्‍यो । कोभिडपछि फिल्मको माहोल कस्तो होला ? फिल्म कसरी बनाउने भन्ने खालका अन्योल थिए । त्यसैबीच कमल किशोर मल्पानीको टोलीले नयाँ फिल्मको अफर लिएर आइपुगे । आफ्नै टिमका लागि भए पनि रामले ‘फूलबारी’ बनाउनुपर्ने भयो । समीक्षात्मक रूपले ‘फूलबारी’लाई नरुचाइए पनि फिल्मले दर्शकको राम्रै साथ पायो । 

‘कबड्डी’ बनाउँदाताका रामबाबु स्वतन्त्र थिए, बजारको दबाबबाट, साथीभाइका प्रभावबाट । तर, ‘फूलबारी’सम्म आइपुग्दा राम्रो कम्पनीले फिल्ममा लगानी गर्दैछ भने त्यसमा आफ्नो जिम्मेवारी ठानेर फिल्म बनाइदिनुपर्छ भन्नेसम्ममा आइपुगे । साथीभाइकै लागि ‘साइँली’ गरे । कोभिडबीच काम थिएन, टिमकै लागि ‘फूलबारी’ बनाइदिए । 

A director enjoying 'Kabaddi'स्वतन्त्र रूपले बनाएको ‘कबड्डी’ चलेसँगै व्यवसाय जोडिँदै आइपुग्यो । त्यसयताका उनका फिल्महरू व्यावसायिक पक्षतिर ढल्किँदै गएको सत्य रामबाबु स्विकार्छन् । व्यावसायिक हिसाबले ‘कबड्डी’को विरासत जोगाउन उनी यसका सिरिजहरूमा काम गरिरहेकै छन् । बीचमा अन्य फिल्म पनि गरिरहेकै छन् । लगानीका हिसाबले साथीभाइका प्रोजेक्टमा पनि जोडिरहेकै हुन्छन् ।

रामबाबुको फिल्म करिअरको मूल नशा ‘कबड्डी’ नै हो । यही फिल्मले उनलाई बजारमा चिनायो । ‘फिल्म नै बनाउन नजान्ने जस्तो के कबड्डीको शृंखला मात्रै बनाइरा’भन्ने साथीहरू पनि छन् । ‘त्यो भन्दैमा दर्शकको मागलाई लतार्न सक्दिनँ । त्यसैले कबड्डीका सिरिज बनाइरहन्छु । म यसरी बाँचिरहेको छु,’ उनले भने । 

A director enjoying 'Kabaddi'जानीनजानी बजारसँग ठोक्किँदै, सम्झौता गर्दै फिल्म बनाइरहेका राम व्यवसायको दबाबबाट कहिले मुक्त होला ? ‘जुन दिन मेरो काम गर्ने शैली, स्वाद दर्शकलाई मन पर्न छाड्छ । तब म विस्थापित हुनैपर्छ ।  बजारको आफ्नै डिमान्ड हुन्छ । त्यसैले मैले समाज, दर्शक बुझेर अपडेट हुँदै अगाडि बढ्नुपर्छ । कबड्डी मात्रै चलिरहेको छ भनेर मैले त्यही मात्रै बनाएर हुँदैन, यसको पनि बजारको निश्चित आयु हुन्छ,’ उनले भने ।

घरेलु बजारमा आफूलाई सावित गरिसकेका रामबाबु अहिले अन्तर्राष्ट्रिय बजार पनि ताक्दै छन् । पछिल्लो समय निर्देशक नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’मा जोडिएका उनले दीपक रौनियारको ‘पूजा सर’मा लगानीसमेत गरेका छन् । यी फिल्ममा उनी मुनाफाका लागि जोडिएका होइनन् ।

‘अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाइसकेको यस्ता फिल्मले मेरो कारणले घरेलु बजारमा सयजना मात्रै दर्शक पाउँछन् भने किन नजोडिने भन्ने हो । अन्तर्राष्ट्रिय बजारमा जान उनीहरूले जुन मिहिनेत गरिरहेका छन्, त्यसमा म पनि सहयात्री बनौं भन्ने मात्र हो । यो हातेमालो हो,’ उनले भने । 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully