कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५
रामकृष्ण ढकालकी आमा

बालक छोराकी गायन सारथि

भाद्र ११, २०८१
बालक छोराकी गायन सारथि

Highlights

  • आमाले गाउने जिन्दगीका गीतमा बालक रामकृष्ण पनि गाइरहेका हुन्थे । आमा गाउँकै भाका गाउँथिन् । लोक, दोहोरी गाउँदै नाच्थिन्, रामकृष्ण पनि आमासँगै दोहोरी गाउँथे । मधुर गायकी भएका रामकृष्णका लागि आमा हौसला, प्रेरणा र सारथि हुन् । 

काठमाडौँ — गायक रामकृष्ण ढकालझैं आवाजमा, श्रोताका मन–मस्तिष्कमा वा किताबका पानाहरूमा त उनकी आमा भेटिन्नन् । तर, उनको हरपल–हरसासमा छिन्– चन्द्रमाया ढकाल । बेलाबखत आउने सपनामा, अनायास बल्झिने यादहरूमा र बाल्यकालीन सम्झनाहरूमा उस्तै जीवन्त बाँचिरहेकी छन् उनकी आमा ।

आमाको न्यानो अँगालोमा बितेका बाल्यकालीन निजी र ‘सामान्य’ सम्झना छन् उनीसँग । उनलाई लाग्छ, सामान्य सम्झना पनि त्यतिबेला साँच्चै अनमोल बन्दारहेछन्, जतिबेला ती सम्झनामा बाँचेका पात्र संसारैबाट हराउँछन् । जस्तो– आमा जब सदाका लागि हराइन्, रामकृष्णका विस्मृतिहरू बिस्तारै उज्यालोमा प्रकट भए ।

आमाको ममता आफैंभन्दा प्यारो

बाबाको माया झन् बिर्सनलाई गाह्रो

स्नेहको त्यो अँगालो छुट्दा–छुट्दा

मेरो संसार नै भयो अँध्यारो

रामकृष्णले गाएको गीतका यी हरफमा छन्– आमा ममताको बयान, आमा गएपछिको बेचैनी र निराशा । आमाको स्नेहको अंकमालबाट टाढिनु परेपछि उनलाई यो सारा संसार अन्धकार लागेको छ । आमाले संसार छाडेपछि स्नेहको त्यो अँगालो सदाका लागि गायब भइगयो– त्यो कोमल, न्यानो र मिठासपूर्ण अँगालो । ती अँगालोका सम्झनाले उसैउसै बर्सिन्छन् उनका आँखा ।

आमाको प्रस्थानपछि गायक ढकाल सोचिबस्छन्– अरूको अंकमाल त कठोर–कठोर हुँदोरहेछ । संसारमा छन् थुप्रै अँगालाहरू– प्रेमको, करूणाको, दयाको, डरको, धोकाको, विश्वासको, अविश्वासको, मिलनको, विछोडको, परायाहरूको... । ‘सबैभन्दा न्यानो, प्यारो अँगालोचाहिँ केवल आमाकै हुँदोरहेछ,’ रामकृष्ण सम्झन्छन् । जिन्दगी भन्नु नै सायद सुख–दुःख–बेचैनी–छटपटी–हतासाका लम्बेतान शृंखला हो । रामकृष्णको अनुभूतिमा ती शृंखलामा सधैं आइरहन्छिन्/गइरहन्छिन् उनकी आमा । र, माथिको उनैको गीतले भनेझैं आमाको स्नेहको अँगालो छुटेपछि उनको संसार अन्धकार–अन्धकार भयो ।

***

रामकृष्णअघि नेपाली गायकका अर्कै–अर्कै नाम थिए, जो विराट स्थानमा विराजमान थिए । तर, दुःखको गहिरो पिँधबाट आएका रामकृष्णको अर्कै र विशिष्ट नाम बन्यो । उनका गीत सुन्नेलाई ‘माया गर्नेको चोखो माया’ को सम्झना कहिल्यै नमेटिने गरी आइरहन्छ । समय र जीवन भोगाइका अन्तरविरोध उनका गीतका शब्द हुन् । उनका असाध्यै ‘हिट’ नम्बर छन्– ‘ओराली लागेको’, ‘हिरा काट्ने, ‘दैव तेरो’, ‘मन पराउने हजार भेटिन्छन्’, ‘माया गर्नेको चोखो माया’, ‘रिसाउँदा नि आफ्नै’, ‘बाँचुञ्जेलीलाई’, ‘बिहान उठ्नेबित्तिकै’, ‘मलाई यो जिन्दगीले’, ‘चरीले त छाडेर गइगयो’, ‘हिउँचुलीमा हिउँ’, ‘मेरो खुकुरीको’, ‘यी त सब भन्ने कुरा न हो’... ।

यी कोमल–भावुक सुनिइने गायक गाइरहन्छन्– ‘दैव तेरो मायाको खेलाले आज मेरो यो गति पार्दियो, जसको निम्ति बाँचेको उसैले आधी बाटो नपुग्दै छाड्दियो’ । जुन सुनेर उनका स्रोताले मानिरहे– यी गायकले मेरै कथा गाए । यसरी नेपाली समाजलाई ३५ वर्षदेखि आफ्नो आवाजले बाँधिरहेका रामकृष्णको गीतमा छ– प्रेम, वियोग, करुणा, पीडा, ममता, निराशा, दिक्दारी, आशा... ।

उनका एल्बमहरू ‘आशीर्वाद (०५०), ‘आशिष’ (०५३), ‘आशा’ (०५५), ‘आरोह’ (०५६) ‘आग्रह’ (०५८), ‘आधार’, (०५९), ‘आश्रय’ (०६१), ‘आगमन’ (०६३) ले नेपाली संगीतलाई सदा आशा बाँडिरहे । त्यसैले यी ब्रान्ड गायक असलमा नेपाली संगीतकै ‘आशा’ हुन् । गीतमा ‘ओराली लागेको हरिणको चाल भो’ भने पनि रामकृष्ण जीवन र गायनमा सधैं उकालो चढिरहेकै छन् ।

***

रामकृष्णकी आमाको जिन्दगी गीत सुन्ने हो भने त्यहाँ बालक रामकृष्ण गाइरहेका भेटिन्छन्– स्वर्ग खोज्दा आमा देख्छु/ईश्वर खोज्दा बाबा भेट्छु/यो मुटुको ढुकढुकीमा/छातीभरि नेपाल देख्छु... । विलक्षण गायकी भएका रामकृष्णका गीतका हौसला, प्रेरणा र सारथि हुन्– उनकी आमा । गाउँमा उनी लोक, दोहोरी गाउँदै नाच्थिन् । रामकृष्ण पनि आमासँगै दोहोरी गाउँथे । चन्द्रमाया गाउँकै भाका गाउँथिन्, जसका विषय आफ्ना दुःख हुन्थे । छोराले गीत गाउँदा चन्द्रमाया निकै खुसी हुन्थिन् ।

गीतहरू गाउँदा अनायास आमा–अनुहार ओहोरदोहोर गरिरहन्थ्यो, रामकृष्णको मानसमा । जुन बेला उनी आमा–आकृति, आमा–दुःख बोध गरिबस्थे । ‘खासै सुखी र आनन्दको जिन्दगी त भएन, दुःखको आँसु नै आमाको जीवन–लय थियो,’ रामकृष्ण भन्छन् । उनी आमाको जीवनको किरिङमिरिङ तस्बिरमा देख्छन्– काम, थकान र पसिनाले निथ्रुक्क र क्लान्त भई गलेकी एक ग्रामीण महिला ।

रामकृष्ण जन्मिए– निजगढमा । ढकाल परिवार बसाइँ सरिरह्यो, निजगढ–परवानीपुर–सिमरा–चितवन । सबै परिवेश ग्रामीण थियो । सधैंको गोधूलिमा खुरले धूलो उडाउँदै घर फर्किरहेका गाई–भैंसी–बाख्राको लस्कर, पछिपछि ठूलो डोकोमा घाँसको भारी बोकेर घर फिरिरहेकी आमा अनि खेती–किसानी परिवेश ! आमा सम्झँदा रामकृष्णको आँखाको बार्दलीमा आउने तस्बिर यिनै हुन् । ‘मेरी आमा एक ग्रामीण परिवेशबाट आएकी हुन्,’ रामकृष्ण भन्छन् । आमा नै सम्हाल्थिन्– घर व्यवहार । ‘घाँस–दाउरादेखि खेती–किसानीमै जीवन बित्यो आमाको,’ ढकाल भन्छन्, ‘संघर्षशील जीवन बाँच्नुभयो ।’

गायक रामकृष्ण ढकाल । तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

बुबा शिवप्रसाद मनमौजी थिए– कता–कता डुलिहिँड्थे, आर्थिक व्यवहारबाट पछि हटे, कहिले घरै नआउने, कहिले हराउने ! ‘बुबाले आफ्ना अभिभारा उस्तो पूरा नगर्दा आमाले निकै दुःख पाउनुभयो,’ उनी भन्छन् । सबै अभिभारा आमा चन्द्रमायाकै काँधमा थियो । जो प्रत्येक शरद, हिउँद, वसन्त, ग्रीष्म वा बर्खामा डोको बोकेर जंगल गइरहन्थिन्, घाँस वा दाउरा बोकेर घर आइरहन्थिन् । चन्द्रमायाका ४ छोरा, १ छोरी छन् । उनी साइँला ।

आमाको एउटै बिम्ब छ रामकृष्णको आँखामा, ‘भारी बोकिरहेकी, दाउरा चिरिरहेकी, जंगलबाट दाउरा बोकेर आइरहेकी आमाको सम्झना चित्र बनेर आउँछन् ।’ सिमरामा थुप्रै जग्गा–जमिन थियो उनीहरूको । ‘बुबाले घर व्यवहारमा रुचि नदेखाएपछि ती सबै आमाले हेर्नुपर्‍यो,’ उनी भन्छन्, ‘त्यसपछि जग्गाजमिन बेच्दै गयौं । एक्ली आमाले सम्हाल्न सक्नुभएन । त्यसपछि हामी बसाइँ सर्नुपर्‍यो ।’ बसाइँसराइले रामकृष्णको पढाइ पनि छुट्दै गयो ।

***

रामकृष्णको भावना र चिन्तनको परिधिलाई उनकी आमाको जीवन भोगाइले डोर्‍यायो । उनको बोध–अनुभूतिलाई तिखार्न मद्दत गर्‍यो । रामकृष्णको ग्राम्य जीवन अनेक रङ र अनुभूतिको मिश्रण थियो । आमाकै सामीप्यमा हुर्किए रामकृष्ण । चन्द्रमाया प्रायः ढिँडो पकाउँथिन्, त्यो उनलाई मन पर्दैनथ्यो । आमा भनिरहन्थिन्–चुपचाप खाऊ । दूध चियामा बेलुकाको बासी भात खान्थे । बासी भातमा तोरीको तेल, नुन–खोर्सानी मिसाएर पनि खान्थे । ‘दिक्कै हुन्थ्यो नि त्यो खाना सम्झेर,’ भन्छन्, ‘म बाख्राको थुनबाटै दूध खान्थें । सधैं लाडप्यारमै रहें आमाको । उबेला असाध्यै छुकछुके थिएँ ।’

रामकृष्ण छुकछुके र जिद्धि कति भने जितपुर परवानीपुरमा बस्दाको एउटा पुरानो घटना उनी कहिल्यै भुल्दैनन् । रामकृष्ण–परिवारको होटल र किराना पसल थियो, जो उनकी आमा सम्हाल्थिन् । त्यो त्यसबेलाको बजारको ठूलै पसल थियो, जहाँ सोमबार हाटबजार लाग्थ्यो । हाटमा ५ रुपियाँमा चन्द्रमायाले रामकृष्णलाई नयाँ हाफ–सर्ट किनिदिएकी थिइन् । उनी कुनै काममा असाध्यै तल्लिन थिइन् । रामकृष्णलाई चिया खान मन थियो । उनले आमासँग चिया मागिरहेका थिए । चन्द्रमाया ‘एकछिन एकछिन’ भन्दै थिइन् । रामकृष्णले भने, ‘चिया दिनु, नत्र यो सर्ट आगोमा हाल्दिन्छु ।’ उनले नसुनेझैं गरिन् । रामकृष्णले भर्खरै खरिद गरेको नयाँ सर्ट आगोमा हालिदिए । चन्द्रमायाले खुब गाली गरिन्, ‘कस्तो जिद्धि गरेको तिमीले ? यो बानी त हुँदै भएन ।’

परवानीपुर हुँदै सिमरा र सिमराबाट चितवन बसाइँ सरेपछि नारायणी नदी छेउमै घर थियो उनीहरूको । रामकृष्ण त्यहाँको नहरमा पौडी खेल्थे । रबरको चप्पल लगाएका एक जना वयोवृद्ध मानिसले रामकृष्णलाई उसै पिटे । उनले रुँदै घर पुगेर आमालाई सुनाए । त्यसपछि आमाले वृद्धसँग झगडा गरिन् । ‘हामी छोराछोरीको खुसीका लागि जीवन उत्सर्ग गर्नुभयो आमाले,’ उनी भन्छन् । रामकृष्णको मनमा आमासँगका धेरै सम्झना छैनन्, तर जति छन् असाध्यै अनमोल छन्, सम्झनायोग्य छन् ।

***

रामकृष्ण गीत गाउँथे, सानैदेखि । रुचि थियो, संगीतमा । आमाले नै गाउन हौसला थपिदिन्थिन् । गीत सुन्न मन पराउने मान्छेको भीडमा हुन्थे उनी, गीत गाउँदा–गाउँदै राति अबेर फर्किन्थे । कहिलेकाहीँ त दुई/चार दिनै हराइदिन्थे । गाउन रहर गर्ने छोरालाई चन्द्रमायाको आशीर्वाद हुन्थ्यो– देशको राम्रो गायक बन्नू ! ‘त्यही आशीर्वाद र प्रेरणाले म गाउन प्रेरित भएँ,’ रामकृष्ण भन्छन्, ‘म पाँच वर्षको उमेरदेखि नै गीत गाउँथें । मान्छेहरू मलाई काखमा लिएर गीत सुन्थे ।’

गायक बन्ने सपनाले डोरिएर काठमाडौं पुगे, ११ वर्षको उमेरमै । ‘त्यसैले धेरैभन्दा धेरै सम्झना छैनन् आमासँगका, धेरै सामीप्य पाइनँ आमाको,’ उनी भन्छन् । ०४३ सालमा काठमाडौं आएका थिए रामकृष्ण । भन्छन्, ‘सानैदेखि परिश्रमी थिएँ, केही पैसा हुन्थ्यो । आमा सम्झेर पनि घर गइरहन्थें । तर, लामो समय गाउँघरको जिन्दगीमा घुलमिल हुन पाइनँ ।’

आरम्भमा गायक बन्न रामकृष्णको भयंकर संघर्ष थियो । उनले गायन यात्रा नारायण गोपालका गीत गाएर सुरु गरे । ०४५ असार २५ मा पहिलो पटक ‘ढकाल सुमधुर एकल साँझ’ मा राष्ट्रिय सभागृहमा उनले २२ वटा हिन्दी–नेपाली गीत गाए, जति बेला उनी १३ वर्षका मात्रै थिए । त्यो शो सोल्ड–आउट भएको थियो । बालखैमा सेलेब्रिटी बने, रामकृष्ण ।

मान्छेहरू भन्छन्– रामकृष्ण सडकबाट उठेको हो । तर, उनी भन्छन्, ‘त्यस्तो होइन, म गाडीमा गीत गाउँथें । खानै नपाएर गाउँदै हिँडेको होइन म । त्यो त मेरो सौख थियो ।’ बरु संघर्ष गर्न काठमाडौं आएपछि चाहिँ कुनै रात सडकमै सुतेका छन् । भन्छन्, ‘सुरुमा काठमाडौं आउँदा म वीर अस्पतालको पेटीमा २ वटा अन्डा खाएर, पुस महिनामा बोरा ओढेर सुतेको छु, तर म गरिब भएर त्यसरी सडकमै सुतेको चाहिँ होइन ।’ आजकल उनी सोचिबस्छन्– तिनै संघर्षले मलाई यहाँसम्म ल्यायो, तिनै बितेका दिनले बाँच्न सिकायो । ती दिन मेरा विश्वविद्यालय थिए । तिनै दिनले सिकाएका हुन्– धैर्य गर्न, नआत्तिन, सहन र उतारचढावबाट निस्कन ।

लामो दूरीका बसमा पनि गीत गाउँथे उनी, बसका ड्राइभरहरूबीच सानै उमेरमा लोकप्रिय गायक भइसकेका थिए । गायक बन्न उनी एक पहलमानसँग घरबाट भागेर भारतसम्म पनि पुगेका थिए– उनी सुगौली पुगे, केही दिन बसे र भागेरै घर फिरे । ‘उसले बम्बई लैजान्छु भनेर लगेको थियो, तर केही गर्लाजस्तो लागेन, त्यसैले फर्कें,’ रामकृष्ण भन्छन् । एक सातापछि रेल चढेर फर्के । रक्सौलमा टिटीले समात्यो, उसलाई पनि गीत सुनाएर छुटे ।

चितवनबाट ठुल्बुबा भेट्छु भनेर काठमाडौं आएका रामकृष्णले उनलाई नभेटेपछि ‘घर फर्किन्छु’ सोचेर फेरि बसपार्क गए । उनलाई चिन्ने ड्राइभरहरू थिए । त्यहाँ गीत सुनाउँदा गोपाल कर्माचार्यले रामकृष्णलाई देखे र भने– म पढाइदिन्छु, संगीत सिकाइदिन्छु मसँगै बस । त्यसपछि रामकृष्ण उनकै घरमा बसे, ३ वर्षजति । आमालाई गाउँमा खबर पठाए– म राम्रोसँग बसेको छु, नआत्तिनु, आफ्नो ख्याल गर्नु । र, त्यसपछि उनी गाउन तल्लीन भइरहे । ०४८ देखि सोल्टीमोडको सुराही गजल रेस्टुरेन्टमा गाउन थाले, घट्टेकुलोमा डेरा बस्न थाले । डेरा मित्र थिए– तबलावादक सुनील अर्याल । रेस्टुराँमा गितार बजाउँथे टीका भण्डारी, मुरलीमा थिए सुशील विश्वकर्मा, किबोर्डमा किरण कँडेल ।

पहिलो एल्बम ‘आशीर्वाद’ ले उनलाई झन् लोकप्रिय बनायो । उनको एल्बम ‘आशा’ ले ५ लाख प्रति बिक्रीको रेकर्ड बनायो । रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गरेपछि आधुनिक गायन प्रतियोगितामा दोस्रो भए, ०४९ सालमा ।

***

काठमाडौंमा घर बनाएर बस्न थालेपछि रामकृष्णकी आमा सहर आइन् । उबेला भनेकी थिइन्, ‘बाबै तैंले राम्रै प्रगति गरिछस्, गीत गाएर ।’ तर, उनी लामो समय सहरमा अडिइनन् । ‘बा–आमालाई सहरभन्दा गाउँ नै प्यारो लाग्दोरहेछ । गाउँका आफन्त, छिमेकी नै रमाइलो लाग्दारहेछन् । आफ्ना कथा सुनाउने साथीहरू गाउँमै हुन्छन् । त्यसैले काठमाडौं आए पनि कुन अत्यासले हो, गाउँ फर्किइहाल्नुहुन्थ्यो,’ रामकृष्ण भन्छन्, ‘एउटा खल्लोपन सधैं रहिरह्यो । सधैं आफूसँगै राख्न पाइनँ ।’

चन्द्रमाया निकै गर्व गर्थिन्– छोरा देशको ठूलो कलाकार भयो, सबै नेपालीले चिन्ने मान्छे भयो । ‘आमाको आशीर्वाद, हौसला र प्रेम हो– म यहाँसम्म हुनु,’ उनी भन्छन् । रामकृष्णलाई लाग्छ– आमा बुझ्न कसैको गीत सुन्नु वा कथा पढ्नु मात्रै काफी छैन । कसैगरी बुझ्न नसकिने एक गहिरो सम्बन्ध रहेछ– आमा ।

७६ वर्षमा बितिन् चन्द्रमाया । रामकृष्णलाई एउटा थकथकी छँदै छ– आमाको अन्तिमकालमा म आमासँगै रहन पाइनँ । ‘त्यो एउटा ग्लानि छ सधैं र सम्झेर मन भारी हुन्छ मेरो,’ उनी भन्छन्, ‘सहरी जीवनले व्यस्त थिएँ । तर, अन्तिम दाहसंस्कार गर्ने सौभाग्य पाएँ ।’

आमाको इच्छा सम्झेर उनलाई पुज्नुमा उनीप्रति सच्चा श्रद्धा हुनेछ भन्ने सोच्छन् उनी । गाउन चाहन्छन् असली गीत आमाबारे । उनलाई लाग्छ– आमा हुनु एक कोमल, भावुक र संघर्षशील जीवन कथा रहेछ । गायनका यी स्वप्नदर्शीलाई हरपल–हरक्षण आमाको अपूरो अनुभव भइरहन्छ ।

प्रकाशित : भाद्र ११, २०८१ ०९:२५
x
×