कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६
लोक सेवा

नेपाली सेनामा भर्ती हुन चाहनुहुन्छ ? यस्तो छ बाटो

भाद्र १०, २०८१
नेपाली सेनामा भर्ती हुन चाहनुहुन्छ ? यस्तो छ बाटो

Highlights

  • सेनामा साधारण, सैनिक प्राड, सैनिक प्राविधिक, सैनिक हवाई र विविध गरी ५ सेवाअन्तर्गत विभिन्न समूहमा १९ पदमा रोजगारी खुलाउने गरिन्छ

काठमाडौँ — नेपालको सबैभन्दा ठूलो संगठनमध्येमा पर्छ, नेपाली सेना । एसियाकै पुरानो सुरक्षा संगठनका रूपमा नेपाली सेनाको परिचय छ । विदेशी सैनिकहरूले समेत नेपाली सेनालाई एसियाकै पुरानो सेना भन्दै प्रशंसा गर्दै आइरहेका छन् । २ सय ५० वर्षभन्दा लामो इतिहास बोकेको नेपाली सैनिक संगठनमा अहिले करिब ९६ हजारको फौज छ । 

नेपालमा २० प्रतिशतभन्दा बढी नागरिक गरिबीको रेखामुनि छन् । हरेक दिन एक हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि निस्कने गर्छन् । यस्तो अवस्थामा आफ्नै देशमा बसेर आफ्नै सुरक्षा संगठनमा काम गर्ने चाहना अधिकांशको हुन्छ । नेपालको महत्त्वपूर्ण संगठन नेपाली सेनामा काम गर्न युवाहरूको भीड नै लाग्ने गर्छ । तर त्यसका लागि नेपाली सेनामा पदपूर्ति प्रक्रियालाई पार गर्नुपर्छ ।

जागिरका लागि अधिकांशको रोजाइमा नेपाली सेना नै पर्ने गरेको देखिन्छ । अवकाश प्राप्त उपरथी विनोज बस्न्यात नेपालभित्र पाइने रोजगारीहरूमध्ये नेपाली सेनाको जागिर अरूमा भन्दा बढी एक्सपोजर भएको र महत्त्वपूर्ण जिम्मेवारीको मान्छन् । ‘नेपालभित्र र बाहिर नेपाली सैनिकले पाउने सम्मान, अन्य मुलुकहरूबाट नेपाली सेनाप्रति हुने सम्मान र संयुक्त राष्ट्रसंघीय मिसनमा हुनेलगायतका सम्मानले गर्दा नेपाली सेनामा काम गर्न पाउनु नेपालीका लागि गर्वको विषय हुने गरेको छ,’ उनी भन्छन् ।

नेपाली सेनाका अनुसार संगठनले ५ सेवाका विभिन्न समूहमा १९ पदमा जागिरको अवसर प्रदान गर्दै आइरहेको छ । ती सेवाहरूमा साधारण, सैनिक प्राड सेवा, सैनिक प्राविधिक सेवा, सैनिक हवाई सेवा र विविध सेवा हुन् । साधारण सेवातर्फ अधिकृत क्याडेट, पदिक तथा बिल्लादार अधिकृत क्याडेट, सैन्य र सबै ट्रेडका फलोअर्स पदहरू छन् । सैनिक प्राड सेवातर्फ उपसेनानी र जमदार पदहरू छन् ।

यस्तै, सैनिक प्राविधिक सेवातर्फ भने चार वटा छुट्टाछुट्टै समूहहरू छन् । ती समूहहरूमा सैनिक स्वास्थ्य समूह, सैनिक इन्जिनियरिङ समूह, पशु विकास तथा पशु स्वास्थ्य समूह र अन्य प्राविधिक समूह हुन् । सैनिक स्वास्थ्य समूहतर्फ मेडिकल, डेन्टल, नर्सिङ र विविध मेडिकल ट्रेड उपसमूहमा दरबन्दी छ भने सैनिक इन्जिनियरिङ समूहमा उत्पादन, मर्मत तथा सम्भार, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि र सर्भे उपसमूहका लागि आवेदन खुल्छ ।

यस्तै, पशु विकास तथा पशु स्वास्थ्य समूहमा पनि रोजगारी पाइन्छ । अन्य प्राविधिक समूहतर्फ जनसम्पर्क तथा मनोविज्ञान, सैनिक ब्यान्ड, असवाव खाना, एम्युनिसन कार्य, प्याराच्युट फोल्डर तथा मर्मत, लाइब्रेरी उपसमूहमा काम गर्ने अवसर पाइन्छ । यी चारै सैनिक प्राविधिक सेवातर्फ उपसेनानी, सुवेदार र अमल्दार पदहरू खुल्छन् ।

सेनामा कामका लागि खुल्ने अर्को महत्त्वपूर्ण सेवा हो, सैनिक हवाई सेवा । यसमा पाइलट समूह, हवाई सम्भार समूह र अन्य हवाई समूह हुन्छन् । जसमा ग्राउन्ड ह्यान्डलिङ, एभिएसन, बन्दोबस्ती तथा प्राप्ति, डिस्प्याचर, एयर ट्राफिक कन्ट्रोलर उपसमूह रहेका छन् । सैनिक हवाई सेवामा उपसेनानी, जमदार र अमल्दार पदहरूमा जागिर खुल्ने गर्छ ।

सेनामा खुल्ने पाँचौं तथा अन्तिम सेवा भनेको विविधि सेवा हो । यसमा पुजारी समूह, सैनिक कर्मचारी समूह, लेखा समूह, बन्दोबस्ती कार्य समूह र ग्यारिजन समूह छन् । यी समूहहरूमा उपसेनानी, जमदार, हुद्दा, अमल्दार र बन्दोबस्ती कार्य सिपाही पदहरूमा जागिरका लागि अवसर हुन्छ ।

नेपाली सेनाले छुट्टाछुट्टै पदहरूका लागि फरक–फरक योग्यता तोकेको छ । पदहरूका लागि आवश्यक मापदण्ड भर्ना छनोटका क्रममा आवश्यक पर्ने शारीरिक मापदण्ड तथा शैक्षिक योग्यताहरू छन् । अधिकृत क्याडेट (उपसेनानी) र सैन्य (जवान) को शारीरिक योग्यतामा पुरुषतर्फ उचाइ न्यूनतम ५ फिट ३ इन्च, छाती नफुलाउँदा न्यूनतम ३२ इन्च र फुलाउँदा न्यूनतम ३४ इन्च तथा वजन न्यूनतम ५० किलो हुनैपर्ने उल्लेख छ ।

यस्तै, महिलातर्फ उचाइ ५ फिट र वजन न्यूनतम ४० किलो हुन आवश्यक छ । विभिन्न ट्रेडका फलोअर्सका लागि पुरुषतर्फ उचाइ न्यूनतम ५ फिट २ इन्च, छाती नफुलाउँदा न्यूनतम ३० इन्च र फुलाउँदा न्यूनतम ३२ इन्च शारीरिक योग्यता हुन आवश्यक छ । महिलातर्फ भने उचाइ न्यूनतम ४ फिट १० इन्च र वजन न्यूनतम ४० किलो आवश्यक छ ।

विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदिक तथा बिल्लादारको शारीरिक योग्यताका लागि पुरुषतर्फ उचाइ न्यूनतम ५ फिट ३ इन्च, छाती नफुलाउँदा न्यूनतम ३२ इन्च र फुलाउँदा न्यूनतम ३४ तथा वजन न्यूनतम ५० किलो हुनुपर्नेछ । महिलातर्फ भने उचाइ न्यूनतम ५ फिट (पाइलट समूहको महिलाको हकमा ५ फिट २ इन्च) र वजन न्यूनतम ४० किलो हुनुपर्छ । ती पदहरूमा बीएमआई (शारीरिक व्यवस्थापन) न्यूनतम १६ देखि अधिकतम २७ सम्म हुनुपर्ने तथा चस्मा प्रयोग गर्ने भएमा आँखा प्लस–माइनस दुईभन्दा बढी कमजोर नभएको हुनुपर्ने तर सैनिक प्राविधिक सेवाअन्तर्गतका बहालवाला उम्मेदवारको हकमा प्लस–माइनस २.५ भन्दा बढी कमजोर नभएको हुनुपर्ने हुन्छ ।

शैक्षिक योग्यतातर्फ अधिकृत क्याडेट (उपसेनानी) मा भर्ना हुन प्रमाणपत्र तह वा सो सरह तथा उमेर हदमा उमेरको हद १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्छ । यस्तै, स्नातक वा सो सरह उत्तीर्ण (स्नातक अधिकृत क्याडेटका लागि) उमेर हदमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुन आवश्यक छ । यस्तै, विभिन्न ट्रेडका प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका अधिकृतको शैक्षिक योग्यता सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुन आवश्यक छ । साथै, उमेर हद पुरुषतर्फ १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको तथा महिलाको हकमा १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्छ ।

यसैगरी, विभिन्न ट्रेडका प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका पदिकको शैक्षिक योग्यता सम्बन्धित विषयमा प्रमाणपत्र तह/डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्छ भने उमेरको हदमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुन आवश्यक छ । विभिन्न ट्रेडका प्राविधिक/हवाई/विविध सेवातर्फका बिल्लादारको शैक्षिक योग्यता एलएलसी वा एसईई उत्तीर्ण गरेको तथा उमेर हद १८ वर्ष पूरा २२ वर्ष ननाघेको हुनुपर्छ । सैन्यको शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण गरेको र उमेरको हद १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुन आवश्यक छ । साथै, विभिन्न ट्रेडको फलोअर्सको शैक्षिक योग्यता साधारण लेखपढ गर्न सक्ने तथा उमेर हदमा १८ वर्ष पूरा भई २६ वर्ष ननाघेको हुन आवश्यक छ ।

नेपाली सेनामा नेपालको संविधानअनुसार खुला तथा समावेशी संख्या पनि निर्धारण गरिएको छ । सेनाका हरेक भर्नामा खुला तथा समावेशीका संख्या निर्धारणअनुसार खुलातर्फ ५५ प्रतिशत, समावेशीतर्फ ४५ प्रतिशत र सैनिक सन्तति ५ प्रतिशत छन् । यस्तै, समावेशीतर्फको ४५ प्रतिशतलाई शतप्रतिशत बनाएर महिला २० प्रतिशत, आदिवासी जनजाति ३२ प्रतिशत, मधेशी २८ प्रतिशत, दलित १५ प्रतिशत र पिछडिएको क्षेत्रका ५ प्रतिशतमा गरी छुट्याइएको छ । त्यहीअनुसार सेनामा भर्ना लिइन्छ ।

अवकाश प्राप्त उपरथी बस्न्यात भने सेनामा समावेशीअनुसार भर्ना गर्दा संगठन कमजोर हुने उल्लेख गर्छन् । उनले भने, ‘सेनामा जुन हिसाबमा गुणस्तर हुनुपर्ने हो, त्यसमा केही फरक परेको छ, केही वर्षपछि यसको प्रभाव देखिन्छ ।’ उनले नेपालको स्थिति र परिस्थितिले गर्दा गुणस्तरीय रूपमा संगठन कमजोर हुँदै जाने खतरा रहने बताए । ‘राजनीतिक निर्णयबाट कोटा सिस्टम आउनुभन्दा अघि गुणस्तरले प्राथमिकता पाउँथ्यो । जुन गुणस्तर नेपाली सेनामा थियो, अहिले कमजोरी भयो,’ बस्न्यातले भने, ‘नेपाली सेनामा राजनीतिक कोटा प्रणाली नराखेको भए हुन्थ्यो, आर्मीलाई चाहिने गुणस्तरमा चाहिँ कमी गर्न हुँदैन थियो ।’

सेनामा जब पद रिक्त हुन्छ, पदपूर्तिका लागि लोक सेवालगायतका आवश्यक निकायसँग स्वीकृति लिएर गरिन्छ । सेनाका अनुसार पदपूर्तिसम्बन्धी जानकारी गराउने व्यवस्था राष्ट्रिय दैनिक पत्रिकामा दरखास्त आह्वानसम्बन्धी सूचना प्रकाश गर्ने गरिएको छ । साथै, अन्य स्थानबाट पनि विज्ञापनको प्रचारप्रसार गरिन्छ । नेपाली सेनाको आधिकारिक वेबसाइट र भर्ना छनोट निर्देशनालयको आधिकारिक पोर्टलहरूमा विज्ञापन र आवश्यकतामा विज्ञापन अपलोड गरिन्छ । साथै, सैनिक रेडियो कार्यक्रम, सिपाही पाक्षिक पत्रिका तथा नेपाली सेनाद्वारा सञ्चालित सामाजिक सञ्जालहरूमा विभिन्न भाषामा प्रचार गर्ने सेनाले जनाएको छ । सैनिक टेलिभिजन कार्यक्रम तथा समाचारमार्फत प्रचार गर्ने गरिन्छ ।

अर्का सेनाका अवकाश प्राप्त उपरथी पूर्ण सिलवाल नेपाली सेनामा जागिरको आकर्षण नघटेको मान्छन् । ‘योग्यता नपुगेकालाई नलिने भएकाले शैक्षिक, शारीरिक, आईक्यूलगायत परीक्षणका कारणले पूर्वतयारी नगरेको जागिर खान आउँदा उम्मेदवारहरू पास नहुने गरेका हुन्,’ उनले भने, ‘धेरै पास हुन्नन् । सिटअनुसार भर्ना हुनका लागि बढी आउँछन् । तर गुणस्तरको नभएका कारणले गर्दा छनोट कमै हुन्छन् ।’ उनले सेनामा आरक्षणको व्यवस्था गरे पनि हरेक उम्मेदवारले न्यूनतम अंक ल्याएर पास हुनैपर्ने प्रस्ट पारे । ‘एक्लै भए पनि न्यूनतम योग्यता हुनैपर्छ । योग्यताअनुसार भएन भने सेनाले फेरि विज्ञापन गर्छ,’ सिलवालले भने ।

उनले लिखित, शारीरिक, आईक्यूलगायत लोक सेवा आयोगले बनाउने प्रश्नको समाधान गर्न सबै उम्मेदवारहरूलाई सहज नभएको मान्छन् । ‘त्यो प्रश्नहरूलाई ट्याकल गर्न नसक्ने पढेका हुन्छन् । प्रतिस्पर्धाका आधारमा छानिनुपर्ने हुन्छ । लिखित र आईक्यूमा पास नै हुँदैनन् । जसले गर्दा म हाम्रो नेपालको समग्र शिक्षाको गुणस्तर राम्रो देख्दिनँ,’ उनले भने, ‘त्यो गुणस्तरको समस्या छ । धेरै फेल भएपछि लोक सेवाले सहज प्रश्नहरू पनि बनाएको छ । सिपाहीमा ८ कक्षा पढेको भन्ने हुन्छ तर १२ कक्षा पास गरेर आएका पनि फेल भएका हुन्छन् ।’ अन्त्यमा सिलवालले नेपाली सेनासहित सुरक्षा निकायमा कम तलब भएको कारणले पनि युवाहरू विदेशमा नयाँ अवसर खोज्न जान थालेको उल्लेख गरे ।

प्रकाशित : भाद्र १०, २०८१ ०९:४९
x
×