अस्ट्रेलियादेखि अमेरिकासम्मको भान्सामा सेन्चुरी

सीमित श्रमिकबाट सुरु भएको उद्योगमा हाल करिब १ हजार हाराहारीमा श्रमिक तथा कर्मचारी छन्, जहाँका उत्पादन पाँच वर्षयता भारत तथा तेस्रो देश पुगेका छन् भने खासगरी स्न्याक्स अमेरिका, अस्ट्रेलिया, मध्यपूर्व, ताइवानसहित २४ देशमा निर्यात भइरहेको छ

भाद्र ९, २०८१

पर्वत पोर्तेल

Century in the kitchen from Australia to America

विराटनगर — राजनीतिक रूपमा सचेत विराटनगर सहर औद्योगिक रूपमा पनि अग्रणी मानिन्छ । ऊ बेला जुट मिल, दि जुद्ध म्याच उद्योग, अशोक टेक्सटायल, मोरङ सुगरमिल, गणपति कटन मिलहरूले विराटनगर गुल्जार थियो । तत्कालीन अर्थतन्त्रलाई चलायमान पार्न ती उद्योगको देन उल्लेख्य थियो ।

तर, यतिबेला पुराना र ठूला उद्योगविहीन छ विराटनगर । देशकै ‘औद्योगिक नगरी’ को चिनारी क्रमशः गुम्दो छ । यद्यपि निराश भइहाल्नुपर्ने अवस्था छैन । औंलामा गन्न मिल्ने सीमित उद्योगहरूले विराटनगरको विरासत बचाइराखेका छन् । विरासत गुम्न नदिन कतिपय उद्योगी, व्यवसायी अहोरात्र सक्रिय छन् । त्यसैमध्ये एक हो, सेन्चुरी स्पाइसेस एन्ड स्न्याक्स । 

करिब २५ वर्षअघि मसला उत्पादनको उद्देश्य राखेर सुरु भएको यो उद्योग अहिले मसलामा खाद्य वस्तुदेखि चियासम्म उत्पादन गरिरहेको छ । मसला, खाद्य उत्पादन र पौस्टिक स्न्याक्स उत्पादन गर्ने यो देशकै अग्रणी ब्रान्डको रूपमा स्थापित भएको छ । ५० वर्षअघि विराटनगर सहर त थियो, तर पूर्णरूपमा सहरीकरण भइसकेको थिएन । औलो र कालाजारको त्रास थियो । विराटनगर टेक्ने दुस्साहस कमैले गर्थे ।

Century in the kitchen from Australia to Americaत्यही बेला हरिसिंह दुगड भने व्यापारमा संलग्न भइसकेका थिए । मूलतः उनी किराना पसले थिए । सँगै उनले आफ्नै बलबुतोमा नयाँ पेय उत्पादन गरेर बेच्थे । उनले तयार पार्ने ‘होम मेड जिन्जर कोला’ उतिबेला निकै लोकप्रिय रहेको पुराना बासिन्दाहरू सम्झिन्छन् । स्थानीय उत्पादनहरूको प्रयोग गरेर बनाइएको पेयको माग त्यो समयमा व्यापक थियो । नेपाली उपभोक्तालाई कोकाकोलाको तिर्सना मेट्ने त्यो पेय सम्भवतः नेपालकै पहिलो घरेलु पेय हो । हरिसिंहका चार भाइ छोरा बाबुको व्यापारका सारथी थिए । चारै भाइ साइकल चढेर ‘जिन्जर कोला’ बेच्न गाउँ–गाउँ डुल्थे । 

Century in the kitchen from Australia to America

हरिसिंहले खनिदिएको त्यही व्यापारिक बाटो पछ्याउँदै सन् १९८० ताका एउटा व्यापारिक कम्पनीको परिकल्पना भयो । त्यो कम्पनीबाट खाद्य पदार्थ, मसला, कन्फेक्सनरी, फलफूल र तरकारीजस्ता वस्तु एकैथलोमा उत्पादन गर्ने परिकल्पना कान्छा छोरा मोतीलाल दुगडको थियो ।

Century in the kitchen from Australia to Americaमोतीलाल दुगड

अन्ततः मोतीलालले सन् १९९९ मा सुरु गरे दुगढ स्पाइसेस एन्ड फुड ब्रान्ड । त्यही ब्रान्ड अन्तर्गत सुरु भयो, सेन्चुरी मसलाको उत्पादन । मसला कारखाना खोल्न लाग्दा मोतीलाई आफन्त र अन्य व्यापारीले खिसिट्युरी गरेका थिए । सबैका घरघरमै बन्ने मसला उद्योग पनि बिक्छ र ? सबैको साझा प्रश्न थियो । तर, मोतीलालले सबैको कुरा सुने, मनन गरे, निर्णय आफैं गरे । ठूलो चुनौती मोलेर मसला उद्योगको जग हाले । मसलालाई पनि प्रिमियम ब्रान्ड बनाउन सकिन्छ भन्ने कुरामा दूरदर्शी मोती निर्धक्क थिए । 

सेन्चुरी मसलाको उत्पादन सुरु हुँदा नेपालमा कहीँकतै मसला उद्योग नै थिएन । नेपालमा मसला पनि बिक्छ र ! भन्ने आम मान्छेको मनोदशालाई मोतीले चिर्ने मात्रै काम गरेनन्, स्थापनाको छोटो समयमै सेन्चुरी ब्रान्ड स्थापित गर्न सफल भए । जब सेन्चुरी मसला बजारमा छ्याप्छ्याप्ती भयो ।तब अन्य व्यापारी त्यसमा लोभिन थाले । अन्ततः मसलाको व्यापार लाभदायक हुने ठानेर देशका अन्य भागबाट पनि यो व्यापारको सिको गर्न थालियो । ‘उद्योगले आम उपभोक्तालाई मसला पिध्ने झन्झटबाट मुक्त गर्‍यो,’ कम्पनीका निर्देशक गौरव दुगडले भने, ‘गुणस्तरीय मसला उत्पादन गरेर हामीले उपभोक्तालाई खुसीसँगै सन्तुष्ट पनि पारिरहेका छौँ ।’ सेन्चुरी मसला यसै वर्ष २५औं वर्षमा टेक्दै छ । रजत जयन्तीको मौकामा कम्पनीले थप नयाँ उत्पादन ल्याउने तयारीमा छ । 

Century in the kitchen from Australia to Americaसंस्थापक मोतीलालको सोच थियो– भान्सामा चाहिने सबै सामान एकैथलोमा उत्पादन गर्ने । नभन्दै मसला मात्रै हैन, बेसारदेखि खुर्सानीको धुलोसम्म उनले उत्पादन गरे । ‘भान्सामा चाहिने सबै सामान सेन्चुरीका हुनुपर्छ भन्ने काकाको सपना थियो,’ गौरवले भने, ‘अहिले त्यो सपना लगभग पूरा भएको छ ।’ आगामी दिनमा भान्सामा अभाव खड्किएका अन्य वस्तुको उत्पादन थप्ने योजनामा कम्पनी छ । नयाँ उत्पादनका लागि सुनसरीको दुहबीमा अर्को प्लान्ट निर्माणाधीन छ, २८ कट्ठा जमिनभित्र ।

सुरुमा विराटनगरकै मध्य भागको सानो र साँघुरो कोठाबाट उद्योग सुरु गर्दा मसला मात्रै उत्पादन हुन्थ्यो । अहिले करिब डेढ बिघा क्षेत्रमा फैलिएको भव्य उद्योग छ सुनसरी–मोरङ औद्योगिक कोरिडोरको टंकीसिन्बारीमा । उद्योगको विस्तार सँगै उत्पादनको पनि विस्तार भएको छ । मसला मात्रै हैन, यतिबेला मरिचको धुलोदेखि अकबरे खुर्सानीको अचारसम्म, अनि कर्नफ्लेक्सदेखि आलु चिप्ससम्म एकै थलोबाट उत्पादन हुन्छ । ‘विगतकै जस्तो गुणस्तर अहिले पनि निरन्तर छ । उपभोक्तालाई क्वालिटी दिनुछ, कमाउने मात्रै उद्देश्य छैन,’ गौरवले भने । 

२५ वर्षे यात्रामा सेन्चुरी ब्रान्डबाट स्पाइसेज, स्न्याक्स, इनर्जी ड्रिंक, सातुलगायतका दर्जनौं खाद्यवस्तु उत्पादन भएका छन् । सँगै हस्पिटालिटीका रूपमा र्‍याडिसन होटल छ । यो विराटनगरकै स्तरीय र महँगो होटलमध्येमा पर्छ । चाँडै क्यासिनोसहितको नयाँ स्टार होटल, व्याङ्वेट र मलसमेत सञ्चालनको तयारी भइरहेको छ । ‘एकै थलोबाट सबै सेवासुविधा उपलब्ध गराउने हाम्रो भावी योजना छ,’ गौरवले सुनाए, ‘यो हाम्रो ड्रिम प्रोजेक्ट हो । नेपालमा यस्तो कुनै पनि प्रोजेक्ट छैन भन्ने हाम्रो दाबी हो ।’ 

Century in the kitchen from Australia to Americaसीमित श्रमिकबाट सुरु भएको उद्योगमा अहिले करिब एक हजार हाराहारीमा श्रमिक/कर्मचारी आबद्ध छन् । कारखानामा साढे ५ सय श्रमिक छन् । कम्पनीमा १ सय २० जना सुपरभाइजर कार्यरत छन् । सेन्चुरीका उत्पादन ५ वर्षयता भारत तथा तेस्रो देश पनि निर्यात हुन्छन् ।

खासगरी स्न्याक्स अमेरिका, अस्ट्रेलिया, मध्यपूर्व, ताइवानसहित २४ देशमा निर्यात भइरहेको छ । ‘हाम्रा उत्पादनलाई विदेशीले स्वाद मानीमानी खाइरहेका छन्’, गौरवले सुनाए, ‘हामीले गुणस्तरीय उत्पादनमा कुनै सम्झौता गरेका छैनौं ।’ गौरवका अनुसार सेन्चुरीका उत्पादनले विश्व बजारमा प्रतिस्पर्धा सँगै देशको पहिचान दिलाइरहेका छन् । नेपालमा पनि गुणस्तरीय उत्पादन हुँदो रहेछ भन्ने सन्देश विश्वमाझ स्थापित भइरहेको छ । 

मसलाको भने युरोप, अमेरिकामा खास माग छैन । मसलाजन्य वस्तुको बढी प्रयोग र माग नेपालसहित दक्षिण एसियाली क्षेत्रका भारत, बंगलादेश, श्रीलंकालगायत देशमा हुन्छ । तेस्रो देशमा खानपिनमा प्रयोग हुने मसला यहाँको भन्दा फरक हुन्छ । जसले गर्दा नेपाली उत्पादनको माग देखिँदैन । मसलाको मुख्य कच्चा पदार्थ भारतबाटै आउँछ । केही वस्तु समुद्रपारिबाट पनि आयात गरिन्छ । जस्तो कि मरिच भियतनामबाट आयात हुन्छ । पाम आयल मलेसिया, दालचिनी श्रीलंकाबाट र भारतको गुजरातबाट बेसारलगायत आउँछ । नेपाली उत्पादन तेजपात, दालचिनी, अदुवालगायत प्रयोग गरिन्छ । ‘नेपालमा मसलाजन्य सामानको उत्पादन पर्याप्त छैन’, गौरवले दुःखेसोपोखे, ‘त्यही कारण भारत तथा तेस्रो देशबाट आयात गरेर मसला उत्पादन गरी बजारमा पठाउन बाध्य छौँ ।’ 

Century in the kitchen from Australia to Americaपछिल्लो समय भने नेपाली मसलालाई कसरी तेस्रो देश निर्यात गर्न सकिन्छ भनेर खोज, अध्ययन तीव्र पारिएको छ । मसलालाई निर्यात गरी विदेशी रकम भित्र्याउने सम्भावित बाटोको खोजीमा कम्पनी सक्रिय छ । ‘मसला पनि तेस्रो देश पठाउन सकेमा देशमा थप रोजगारी सिर्जना गर्न सकिने थियो,’ गौरवले भने, ‘जसले युवाहरूको विदेश पलायनलाई झिनो मात्रामा भए पनि कम गर्ने थियो ।’ 

करिब २ अर्ब ७० करोड बढीको वार्षिक कारोबार गर्दै आएको सेन्चुरीले आफ्ना उत्पादन तेस्रो देशको रूपमा सबैभन्दा बढी अमेरिकामा पठाइरहेको छ । मध्यपूर्वका खाडी मुलुकहरूमा पनि सेन्चुरीका स्न्याक्सको माग उच्च छ । यो वर्ष साढे ३ अर्ब हाराहारीमा कारोबार गर्ने लक्ष्य कम्पनीको छ । उद्योगका निर्देशक गौरवले भने, ‘हाम्रो उद्देश्य व्यवसाय गरेर आर्थिक आम्दानी गर्नु मात्रै हैन, मूल्यवान् ग्राहकलाई सन्तुष्ट पार्नु पनि हो ।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully