कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

मसालेदारदेखि फरक धारसम्मका फिल्ममा जमेकी सुरक्षा

भाद्र ६, २०८१
मसालेदारदेखि फरक धारसम्मका फिल्ममा जमेकी सुरक्षा

Highlights

  • फिल्म क्षेत्रका घटना, गतिविधि र समस्यामाथि बोल्न हिचकिचाउँदिनन् सुरक्षा, कुनै विषयवस्तुमाथि निर्धक्क विचार अभिव्यक्त गरेकै कारण धेरैले उनलाई बौद्धिक अभिनेत्री मानेका छन्, परिपक्व मत र निडर अभिव्यक्तिले यो ट्याग सुरक्षालाई सुहाउँदो पनि देखिन्छ

काठमाडौँ — व्यावसायिक होस् या फरक धार भनिएका फिल्म, जुन विधामा पनि उनले आफूलाई सावित गरिसकिन् । हरर विधाको ‘घर’ होस् या सामाजिक विषय नजिक रहेको ‘आमा’, अथवा आफ्नै देशमा इलम गर्न चाहने कथा बोकेको ‘गोपी’ ।

यस्तै सशक्त मुद्दा र विषयका फिल्ममा अभिनयले सुरक्षा पन्तलाई अभिनेत्रीहरूको भीडमा भिन्नै बनाएको छ । निरन्तरको कर्म, विषयवस्तुप्रतिको संवेदनशीलता र मौलिक अभिनयले हालै उनलाई प्रतिष्ठित फिल्म फेस्टिभल ‘कान्स’सम्म पुर्‍याएको छ ।

उनी प्रस्ट विचार राख्छिन् । पढेलेखेकी छिन्, अभिनयमा अब्बल छिन् । अहिलेसम्म गरेका फिल्म, त्यसमा उठाइएका विषयवस्तुले पनि फिल्मप्रति अभिनेत्री सुरक्षा पन्तको रोजाइ, बुझाइ अनि झुकाव प्रस्ट हुन्छ । सुरक्षा फिल्म क्षेत्रका घटना, गतिविधि र समस्यामाथि बोल्न हिचकिचाउँदिनन् । कुनै विषयवस्तुमाथि निर्धक्क विचार अभिव्यक्त गरेकै कारण धेरैले उनलाई बौद्धिक अभिनेत्री मानेका छन् । हुन त फिल्म क्षेत्रमा कुनै कलाकारलाई ट्याग भिर्‍याइदिनु ठूलो विषय होइन । तर, विषयवस्तुप्रतिको परिपक्व मत र निडर अभिव्यक्तिले यो ट्याग सुरक्षालाई सुहाउँदो देखिन्छ ।

साउन ३२ देखि पुनः प्रदर्शनमा आएको फिल्म ‘बुलाकी’ले भोगेको सो वितरणको विभेदमाथि पनि सुरक्षाले बोल्दै आइन् । गत वैशाख १ मा ‘जारी’ सँगै प्रदर्शनमा आएको यो फिल्मले त्यतिबेला हलमा अपेक्षाअनुसार सो पाएन । एकै मितिमा प्रदर्शनमा आएको फिल्मबीच सो बाँडफाँटमै विभेद भएको भन्दै निर्माण टिमले फिल्म हलबाट निकाल्यो । सुरक्षाको अभिनय रहेको यो फिल्म गत शुक्रबार फेरि प्रदर्शनमा आएको छ ।

सुरक्षालाई थाहा छ कि हलले व्यापार खोज्छ । त्यसैले उनीहरूको प्राथमिकतामा स्थापित भइसकेका ब्रान्ड/कम्पनीका फिल्म नै हुन्छन् । यस्ता फिल्मले बक्स अफिसमा लगानी सुरक्षित गर्छ भन्ने विश्वास हुन्छ । तर, अफबिटका फिल्मलाई हलवालाले विभेद गर्न नहुने उनी धारणा राख्छिन् । ‘नयाँ आउने ब्रान्ड/फिल्मकर्मी अथवा अलिकति अफबिटका फिल्महरू आउँदा हलमा समान सो नपाउने अवस्था छ । यस्तो गर्नु एक हिसाबको विभेद हो । यहाँ ती फिल्मले संघर्ष गर्नुपर्छ । हलमा नराम्रो समयमा सो दिँदा राम्रो गर्ने फिल्महरूको व्यापार खस्केको पनि उदाहरण हामीसँग छ,’ उनी भन्छिन्, ‘एउटा राम्रो फिल्मका लागि त्यसलाई हलमा दिइने समय र सोको संख्याले पनि अर्थ राखिरहेको हुन्छ । त्यसैले यो विभेद अन्त्य हुनुपर्छ । बिदाको समयमा त यस्तो विभेद गर्नु नै हुँदैनजस्तो लाग्छ ।’

हलमा कस्ता फिल्म लगाउने ? हलवालाकै अधिकारको विषय हो । तर, कुनै फिल्म चल्छ/चल्दैन भन्ने पूर्वानुमानमै सो वितरण गर्न नहुने सुरक्षाको मत छ । ‘पहिलो शुक्रबार/शनिबार फिल्म चल्छ/चल्दैन भन्ने हामी को हो र ? हलको सिस्टमले पनि त्यो भन्न मिल्दैनजस्तो लाग्छ । हुन त हलहरू निजी कम्पनी हुन् । निजी कम्पनीसँग व्यवसायको आफ्नै नीति रहन्छ नै,’ उनले भनिन्, ‘तर, फिल्म क्षेत्रकै लागि पनि हलले नयाँ व्यक्ति/फिल्मकर्मी, नयाँ आइडियालाई प्लेटफर्म दिनुपर्छ । भविष्यमा यस्तो विभेद नहोस् । भोलिका दिनमा एकैपटक २/३ फिल्म आउन थाल्यो भने नेपाली फिल्म त मारमा पर्ने भयो ।’

‘बुलाकी’ मात्रै होइन, सो वितरणको समस्यासँग यसबीच थुप्रै फिल्मले लडिरहेका छन् । उनी यो समस्या समाधानका लागि हल निर्माणमा ध्यान दिनुपर्ने बताउँछिन् । ‘फिल्मको संख्या बढ्दै छ, त्यसैले हलको संख्या बढाउन सकियो । ओटीटी प्लेटफर्मको प्रयोग पनि गर्न सक्नुपर्‍यो,’ उनी सुनाउँछिन् ।

‘बुलाकी’ कर्णालीमा खिचिएको फिल्म हो । त्यहाँ विद्यमान जारी प्रथामा यो फिल्म आधारित छ । त्यस्तो प्रथा जसले कर्णालीका महिलालाई अघि बढ्न, प्रगति र उन्नति गर्न रोकिरहेको छ । यस्तो प्रथा रोकिनुपर्छ भन्ने उद्देश्यसहित निर्माण टिमले फिल्म बनाएको हो । उनी त्यही उद्देश्यका कारण फिल्ममा लोभिइन् । ‘अहिले पनि केही स्थानमा यो प्रथा प्रचलनमा रहेछ । जसले महिलाको महत्त्व केवल वस्तुको भन्दा धेरै देखिँदैन । त्यसैले यो कथा भन्नुपर्छ भन्ने लागेर यसमा जोडिएँ,’ उनले भनिन् ।

उनी फिल्ममा ‘हिरा’ नामको चरित्रमा देखिएकी छन्, जो निःसन्तान महिला हुन् । निःसन्तान भएकै कारण महिला पात्रले समाजबाट भोग्नुपर्ने लाञ्छनादेखि दम्पती जीवनमा देखिने प्रेम र द्वन्द्व ‘बुलाकी’मा देखाइएको छ । हिरा चरित्रले कर्णालीकै लवजमा बोल्छ, त्यसैले याो चरित्र निर्माणमा सुरक्षाले भाषामा काम गरिन् ।

‘द एइट माउन्टेन्स’ फिल्मको काम सकिएको एक साताभित्रमा सुरक्षालाई कर्णाली पुग्नु थियो, अनि बन्नु थियो– हिरा । टिम पहिल्यै सुटिङ स्थल पुगिसकेको थियो । कर्णाली पुग्नासाथ सुरक्षाले जतिसक्दो चाँडो स्थानीयसँग समय बिताउन थालिन् । उनीहरूसँग गफिँदै त्यहाँको लवजलाई रेकर्ड गर्न थालिन् । छोटो समयमै यसरी भाषामा आफ्नो पकड राख्न मिहिनेत गरिन् ।

हिरा चरित्र गीत गाउने महिला हुन् । त्यसैले उनले गायकी पक्षलाई समात्दै पात्र विकास गरिन् । यसरी कलाकारले भाषामा काम गर्न पाउनुलाई भाग्यको विषय ठान्छिन्, सुरक्षा । ‘भाषा सबैको संवेदनशीलतासँग जोडिएको विषय हो । त्यसलाई बिगार्ने वा चलाउने अधिकार कसैलाई हुँदैन । कलाकारकै हिसाबले हामी भाग्यमानी छौं किनकि भाषासँग खेल्न पाउँछौं,’ उनले भनिन् ।

हिरा चरित्र गरिरहँदा सुरक्षाले एकसाथ प्रदर्शनमा आएको ‘जारी’ र ‘बुलाकी’मा महिलाको अवस्था फरक पाइन् । ‘जारी’मा सम्पूर्ण निर्णयको अधिकार महिला पात्रलाई दिइएको थियो । तर, कर्णालीतिर जारी प्रथामा पुरुषकै हैकम चल्ने थाहा पाइन् । ‘पश्चिमका विकट क्षेत्रमा महिलाको अवस्था कस्तो छ भनेर थाहा पाउन पनि बुलाकी हेर्न सकिन्छ,’ उनले भनिन् ।

सुरक्षा फिल्मको विषयवस्तुतर्फ मात्र गम्भीर हुँदिनन्, चरित्र निर्माणमा दिलोज्यान लगाउँछिन् । उनको अहिलेकै अवस्था हेरौं । शरीरको तौल घटाएर पहिलेभन्दा फरक देखिएकी छन् । उनको शरीरमा आएको यो परिवर्तन एउटा त फिल्मकै दौडधुपले पनि हो । बुलाकी र ‘द एइट माउन्टेन्स’ गरिरहँदा उनले अलि ज्यादा भागदौड गर्नुपर्‍यो । ‘एइट माउन्टेन्स’ गर्दा १८/२० दिनको ट्रेकिङ भयो । मनाङमा ३० दिन बिताइन् । तर, यसबीच उनी एउटा चरित्रकै लागि यसरी तौल घटाउँदै थिइन् । विडम्बना जुन फिल्मका लागि सुरक्षाले शरीर घटाइन्, त्यही प्रोजेक्ट अर्को मितिलाई सर्‍यो । त्यो फिल्म त बन्छ नि ? प्रश्न गर्दा जवाफमा भनिन्, ‘आशा गरौं ।’

हरेक चरित्रमा उस्तै मिहिनेत गर्नुपर्छ भन्ने हुँदैन । ‘द एइट माउन्टेन्स’को आजमी बन्न सुरक्षाले खासै कसरत गर्नुपरेन । फिल्ममा अभिनेत्री सुरक्षा पन्तको भूमिका निकै छोटो छ, तर निकै महत्त्वपूर्ण देखिन्छ । सानो भूमिकामै पनि सुरक्षाले उक्त पात्रमार्फत दर्शकको मनमा बसिरहने अभिनय गरेकी छन् । फिल्मको प्रमुख पात्रले लिने एउटा ठूलो निर्णयमा यो पात्र सहभागी हुन्छ, उक्त पात्रको जीवनसँग उनी जोडिएकी हुन्छिन् ।

‘आजमी चरित्र ट्राभलर हो । म कताकता आजमीजस्तै छु । मेरो अभिनय र मेरो स्वभाव हेरेर नै निर्माण टिमले फिल्ममा लिनुभएको हो । यो फिल्ममा मैले धेरै प्रिटेन्ड गर्नुपरेन,’ उनी भन्छिन्, ‘यो चरित्रका लागि अभिनयभन्दा पनि म ट्राभलर हो भन्ने कुरालाई आफैंले विश्वास गर्नुपर्‍यो । आजमी बन्न मैले मेरो चरित्रहरू मिसाइदिएँ । त्यसैले यो चरित्र मभन्दा त्यति फरक होइन ।’

आजमी चरित्रकै कारण सुरक्षा कान्सको रेड कार्पेटसम्म पुगिन् । अधिकांश कलाकारले टेक्न चाहने कान्सको त्यो रेड कार्पेटमा हिँड्दै गर्दा एक पटक त सुरक्षा शून्य बनेकी थिइन् । ‘रेड कार्पेट हिँड्दै गर्दा म शून्य भएँ । सबैभन्दा खट्केको त मेरो फोटो खिचिदिने कोही फोटोग्राफर भइदिएको भए । त्यो माहोलमा हेर्न मात्र पाउँ, फोटोतिर ध्यान पुर्‍याउन नपरोस् भन्ने लागिरहेको थियो । त्यहाँ कसैलाई फोन दिने अवस्था थिएन । ५–१० मिनेटको समय थियो रेड कार्पेटमा हिँड्ने । २/३ मिनेट पोज दिन लगाइयो, टिमसँगै सिँढी चढ्दै पोज दियौं,’ कान्सको अनुभव सम्झिन्छिन्, ‘सबैका लागि त्यो नयाँ थिएन होला । तर मेरा लागि बिल्कुलै नयाँ । यहाँको माहोल सबैलाई देखाउन पाएको भए भन्ने लागिरह्यो । त्यसैले रेड कार्पेटमा हिँड्नुभन्दा अगाडि सेल्फी भिडियो खिचें । हिँड्दै गर्दा मैले मेरो राष्ट्र, फिल्म क्षेत्रलाई प्रतिनिधित्व गर्दै छु भन्ने भइरहेको थियो ।’

सुरक्षाले रेड कार्पेट नाप्दै गर्दा निर्देशक तथा लेखक अविनाश विक्रम शाहको ‘लोरी’ ले अफिसियल छनोटमा परेर कान्समा ‘स्पेसल मेन्सन’ जित्यो । एकातर्फ नेपाली फिल्मको यस्तो ऐतिहासिक जित, अर्कोतर्फ नेपाली कलाकारको रेड कार्पेट हिँडाइ ।

सुरक्षाले पहिल्यैदेखि घरेलु बजारमा मात्र आफूलाई सीमित गर्ने सोचिनन् । उनी अभिनयमार्फत विश्वका ठूल्ठूला प्लेटफर्म पुग्न चाहन्छिन् । त्यही अनुरूप फिल्मको छनोटमा ध्यान दिँदै अभिनय यात्रालाई अगाडि बढाइन् । उनी नेपाली फिल्म गरेर विश्वका यस्ता प्लेटफर्ममा सहभागी हुन चाहन्छिन् । ‘नेपाली फिल्मकर्मीले नै बनाएको फिल्ममा अभिनय गरेर यस्ता ठूला प्लेटफर्ममा पुग्ने इच्छा त छँदै छ नि । टिमसहित जानु त सौभाग्य पनि हो,’ उनले भनिन् ।

चरित्रकै हिसाबले हेर्ने हो भने, सुरक्षाले हालै फरक विधाको फिल्ममा अभिनय गरेकी छन्, ‘लाइफ ड्यामेज’ । फेन्टासी/सरिर्यल विधाको यो फिल्ममा पुरुष र महिला पात्रमा अचानक परिवर्तन देखापर्छ । त्यो परिवर्तन कस्तो हो ? कसरी उनीहरूमा त्यो परिवर्तन देखापर्छ ? फिल्मको कथा यसैमा घुमेको छ । मसालेदार फिल्म ‘पीताम्बर’ मा भने सुरक्षाले अतिरञ्जित (लार्जर द्यान लाइफ) चरित्र गरेकी छन् ।

‘पीताम्बर’ र ‘आम’जस्ता फिल्म विधागत हिसाबले फरक हुने नै भए । यी फिल्मको निर्माणमै पनि धेरै फरक देख्छिन्, सुरक्षा । मसालेदार फिल्ममा कलाकारको लुकदेखि, कस्ट्युम र एक्सनलगायत पक्षमा धेरै मिहिनेत भइरहेको हुन्छ भने ‘आमा’जस्ता फिल्ममा स्क्रिप्टकै गहिराइमा बसेर काम गर्ने अभ्यास हुने गरेको सुरक्षा सुनाउँछिन् । ‘एकअर्काको विचार, तर्क लिएर आमाजस्ता फिल्महरूको स्क्रिप्टमाथि छलफल हुन्छ । वर्कसपमै पनि प्रस्तुतिलाई निखार्ने काम हुन्छ,’ उनले भनिन्, ‘आर्ट हाउसका फिल्महरू बजेटमा संघर्षरत हुन्छन् । मसालेदार फिल्ममा कथित स्टारहरू हुन्छन् ।’

सुरक्षा अहिले यस्तो स्थानमा आइपुगेकी छन्, जहाँ उनी आफूलाई चाहिने पारिश्रमिक फिल्मकर्मीसँग माग्न डराउँदिनन् । अनि उनले त्यहीअनुरूपले पारिश्रमिक बुझेकी पनि छन् । तर, नेपाली फिल्म क्षेत्रमा पुरुष र महिला कलाकारबीच पारिश्रमिकमा ठूलो अन्तर भेटिन्छ । उनी यो सत्यसँग पनि जानकार छिन् । ‘पुरुषभन्दा महिला कलाकारले पाइरहेको पारिश्रमिक कम नै छ । कम त हुने नै भयो, तर पैसा डिमान्ड गर्न नै महिला कलाकारलाई संघर्ष गर्नुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘पुरुष कलाकारले खासै डिमान्ड नै गर्नुपर्दैन, उनीहरूलाई त मागेभन्दा धेरै दिन पनि तयार हुन्छन् । तर, अभिनेत्रीहरूले धेरै बार्गेनिङ गर्नुपर्छ, त्यसैले हामी बार्गेनिङमै संघर्ष गर्दै छौं ।’

उनी महिला कलाकारले मागेअनुसारको पारिश्रमिक नै फिल्मकर्मीले दिएको देख्न चाहन्छिन् । उनी स्क्रिप्टलाई मूल्यांकन गरेर पारिश्रमिक मागिरहेकी हुन्छिन् । कुनै प्रोजेक्टमा कलाकारले धेरै नै समय दिनुपर्ने हुन्छ, कुनैमा भावनात्मक रूपले धेरै नै पोखिनुपर्ने हुन्छ । त्यस्ता विविध पक्षको लगानी हेर्दै पारिश्रमिक माग्ने गरेको उनी सुनाउँछिन् ।

सुरक्षा विचारमा मात्रै सुन्दर छैनन्, उनी सौन्दर्य मापदण्ड भत्काएकी सुन्दर अभिनेत्री पनि हुन् । तर, यही मापदण्डले कहिलेकाहीं उनी आफैंलाई असुरक्षित बनाएको छ । ‘हो, फिल्म क्षेत्रमा सौन्दर्य मापदण्ड छ । केही सीमित पक्षलाई सुन्दर भन्ने केहीलाई नभन्ने चलन छ । जसको म सिकार हुँ, यो मापदण्डका कारण म आफैं पनि दुर्व्यवहारमा परेको छु,’ सुरक्षा सुनाउँछिन् । उनी सौन्दर्यलाई केवल विचारधारा ठान्छिन् ।

कुनै समुदायका लागि कुनै कुरा सुन्दर हुन सक्ला अर्को समुदायमा त्यो नहुन सक्छ । उनी युरोप पुग्दा कान्समा धेरैले भने ‘यु आर सो प्रिटी’ । सिक्किम र दार्जिलिङमा पनि धेरैले उनको सौन्दर्यको चर्चा गरे । तर, नेपालमै भने उनलाई सुन्दर नठानिदिएको अनुभव सुरक्षासँग छ । ‘नेपाल चाहिँ क्या भया हो मकुना थाहा नाईं,’ कर्णालीतिरको लवज समात्दै उनले भनिन्, ‘म त आफैंलाई राम्री छु भन्ने सत्य लिएर अगाडि बढिरहेको हुन्छु । तर, बारम्बार मलाई बाहुनी भनिदिने, नाक, शरीर र उचाइलाई लिएर कमेन्ट गरिदिन्छन् ।’

उनी आफूलाई नराम्रो भन्ने कमेन्ट आउँदा साथीहरूलाई सोध्छिन्, ‘ओइ म राम्री छैन भन त’ । साथीहरू भनिदिन्छन्, ‘तँ दामी छस् त यार ।’

प्रकाशित : भाद्र ६, २०८१ ०८:५५
x
×