कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८
मोहना अन्सारीकी आमा

बुर्काबाहिरको संसार देखाउने जमुना बेगम

भाद्र ४, २०८१
बुर्काबाहिरको संसार देखाउने जमुना बेगम

Highlights

  • जमुना आफूले नपढे पनि छोराछोरीका लागि जीवन उत्सर्ग गरिन्, शिक्षित बनाउन अहोरात्र खटिइन् । तर, उनको जीवनमा केवल अभाव थियो, उति पढ्न–लेख्न आउँदैन । तर, नमाज र कुरान पढ्थिन् । मोहनाले सानै छँदा कोसिस गरिन् आमालाई अक्षर चिनाउने । ‘उर्दु–अरबिक चिन्नुपर्छ’ सोचेर बरु जमुनाले घरमै मौलाना राखेर अरबिक पढिन् ।

नेपालगन्जको भदौरे गर्मीमा प्रेमललवाको टाँगा कता होला ? आख्यानकार नयनराज पाण्डेको उपन्यास ‘उलार’ मा झैं सहरको कुनै चोकमा उलार भई सडकमै अलपत्र होला कि ठीकठाक नै होला ? मोहना अन्सारीका सम्झनामा नेपालगन्जका ठीकठाक कथा छैनन्, टाँगाझैं जीवन नै उलार भएका दुर्दान्त कथा छन्– आँखैअघि घर जलेका असाध्यै पीडादायी साँझ, जमिनदारले सामान सडकमा फालेर घरनिकाला गरेका दिन । केही अनुभूति, केही ज्ञानसहित अनेक कोलाजको मिश्रण हो, मोहनाका लागि नेपालगन्ज । 

केही स्मृति छन्, केही विस्मृति– नेपालगन्जका । मोहना चाहन्छिन्– केही सम्झना मधुर भई बसिराखुन् मस्तिष्क–कोषमा र हटिजाउन् बिझाउने केही सम्झनाहरू । अत्यास लाग्ने गर्मी, मुटु थर्थराउने शीत–लहर...! तर थियो न्यानो, प्यारो काख पनि– आमा जमुना बेगम अन्सारी (६८) को ।

मोहना आफ्नै अतीतसँग वार्तालापमा मग्न छिन् । बितेको त्यो समय उनलाई अर्थपूर्ण लाग्छ, जसले साक्षात्कार गराउँछ त्यो पुरानो समयको सामाजिक र राजनीतिक परिवेशसँग । त्यो सुदूर ऐनामा देखिन्छ– समाजको उसबेलाको मनोदशा र संघर्ष । मोहना आमाका त्यही अत्याउने अतीत खोतलिरहेकी छन् । आमा जमुना र नेपालगन्जको संघर्ष उस्तै लाग्छ मोहनालाई । उनको हृदय–पटमा आमाको एउटै आकृति छ– संघर्षको । आमाको अनुहारमा मोहनाले कहिल्यै खुसी देखिनन् । त्यसो त सहर र मान्छेको जिन्दगी उस्तै–उस्तै लाग्छ मोहनालाई– कहिले उज्यालो, कहिले अँध्यारो, कहिले गुलजार, कहिले सुनसान, कहिले खुसी अनि कहिले दुःख ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

अब नेपालगन्ज आधुनिक भएको छ, बदलिएका छन्– चोक, सडक, देहात र गल्लीहरू । आफ्नो पुरानो सहर जति बदलियोस्, मोहनाको स्मृतिलोकमा थपक्क बसेकै छन् केही विम्ब– सहरको आवाज–बास्ना र स्वाद, गुनिला र अत्याचारी मान्छेका कथा ! तिनमा छन्– स्वप्न–दुःस्वप्नको धरातलमा उभिएका र अन्धकारमय स्मृति पनि ।

***

मुस्लिम समुदायमा जन्मेकी जमुनासँग न थियो कुनै छनोटको अधिकार, न आत्मनिर्णयको । ठडिएका थिए– केही पर्खाल यथास्थितिका, परम्पराका । र, थियो विसंगतिपूर्ण परिवेश जिन्दगीको अनि आमा भएर निभाउनुपर्ने परम्परित मान्यता समाजको । मोहनाको बुझाइ छ– मुस्लिम समाज खुला पनि छ, बन्द र कट्टर पनि । त्यो कट्टर समाज छ– पुरुषकै अधीनमा, जसले महिलालाई दायरा निर्माण गरिदिन्छन्, भन्छन्– तिम्रो जिन्दगी यही घेराभित्र हो ।

मोहना हुर्केको टोल मिश्रित संस्कृतिको थियो । मदिरा उद्योग भएको त्यो भट्टीटोलमा दुई थरी मान्छे बस्थे– काहार, जो विवाहमा डोली बोक्थे अनि वाल्मीकि, जो सहरको फोहोर सफा गर्थे । त्यहाँ मुस्लिम पनि थिए, जो चुरा र कपडा बेच्थे । पसलमा मुस्लिम महिला बस्थे, महिलालाई चुरा लगाइदिन्थे । ‘त्यसैले मेरो समुदायमा महिलाहरू परिवार, बच्चा वा आफ्नै जिन्दगीबारे कुनै निर्णय लिन सक्दैनन्,’ मोहना भन्छिन्, ‘तर, पढालिखा महिलाको जिन्दगीचाहिँ फरक छ ।’

मोहनाको जिन्दगी–ग्राफ पनि फरक छ । उनी राष्ट्रिय मानव अधिकार आयोगको पूर्वसदस्य हुन् । र, एक परिचित मानव अधिकारकर्मी । नेपालमा मुस्लिम समुदायको पहिलो महिला वकिल हुन् उनी, महिला आयोगको पूर्वआयुक्त र सामाजिक अभियन्ता पनि । तर, सबै मुस्लिम महिलाको जिन्दगी उस्तै छ त ? ‘छैन,’ मोहना भन्छिन्, ‘केही परिवर्तन हुँदै छ मुस्लिम महिलाको संसार । छोरीलाई पनि पढाउनुपर्छ भन्न थालेका छन् आजकलका मुस्लिम अभिभावक ।’

पुराना स्मृतिले लखेटिरहन्छ मोहनालाई । नेपालगन्जमा मोहना जन्मेको बागेश्वरी नजिकको भट्टीटोलमा थियो– ठूलो मदिरा उद्योग, कबाब दोकानका टिक्की अनि हलबाई–दोकानका जिलेबी, तर जिन्दगी जिलेबीजस्तै गुलियो थिएन । सहरमा थिए प्यारा मान्छेसँगै फलामका मन भएका केही निर्दयी पनि । ०३९ सालतिर तिनै डरलाग्दा मानिस मोहनाको घर आएका थिए– घरबाटै बेदखल गर्न, घरै खोस्न । त्यो सम्झना उनको मस्तिष्कमा भयंकर डरमर्दो स्मृति–तरंग भएर बसेको छ ।

मोहना–परिवार बसेको त्यो जमिन थियो– बहाल बिठौरीको अर्थात् ऐंलानीको । मोहनाका बुबा अहमद अली अन्सारी त्यो जग्गाको कर तिर्थे । जग्गा रेखदेख गर्नेको नाममा लालपुर्जा बन्यो, ०२१ सालको नापीपछि ‘अब बन्छ’ भन्दाभन्दै सदरलाइनको त्यो जग्गाको लालपुर्जा अहमदको नाममा बनेन । ०३३ सालमा अहमदविरुद्ध मुद्दा चल्यो, जतिबेलासम्म उनले जग्गा–कर तिरिरहेकै थिए । एक स्थानीय जमिनदार आइपुगे र दाबी गरे, ‘सबै सम्पत्ति मेरो हो’ । त्यसपछि ? हो त्यसपछि मोहना–परिवार घरबाट निकालिए । र, उनीहरू बेघर भए ।

मोहनाको सम्झनामा त्यो दिनको घटना ताजै छ । उनी ३ कक्षा पढ्थिन् । स्कुलबाट फिर्दा घरको आँगनमा बाँसका ठुल्ठूला लट्ठी लिएका १५/१६ जना ‘लठैतहरू’ थिए । र, तिनले सामान बाहिरफेर हुत्याइरहेका थिए, घर खाली गरिरहेका थिए । सामानहरू सडकमा छरपस्ट थिए । ‘फिल्महरूमा जस्तो दृश्य देखाइन्छ, त्यस्तै दृश्यको साक्षी हुनुपर्‍यो,’ मोहना भन्छिन्, ‘अचानक त्यो दृश्य देखेर असाध्यै तर्सिएको थिएँ म र आमाको काखमा लुक्न गएकी थिएँ । मान्छेलाई लाग्ला– यो कुनै कल्पनालोकको कथा हो, तर त्यो त मैले भोगेकै कथा थियो ।’

अदालतबाट पुर्जी गएको थियो– घर खाली गर्नु । अहमद काठमान्डु गएका थिए, सर्वोच्चमा पुनरावेदन गर्न । मोहनाकी आमा घरमा एक्लै थिइन् । छत खोसिनुले तनाव त दियो जमुनालाई, तर कुन आँटले हो, उनी सम्हालिइन् ।

मोहनालाई सम्झना छ– त्यस्तो समयमा पनि उनकी आमाको आँखामा आँसु थिएन । उनी पटक्कै रोइनन्, बरु ती लट्ठीवालसँग डटेर संघर्ष गरिन्, बाझिन्, लडिन् । असलमा उनी थिइन्– निडर र प्रतिरोधी महिला । त्योबेला पनि निरीह लागिनन् जमुना । जमुना छोराछोरीलाई अघिपछि लगाएर बास खोसिएको घरबाट हिँडिन् । घरछेउमै तत्कालीन श्री ५ को सरकारले बनाएको थियो, सब्जी–मण्डी । जमुनाले छोराछोरीलाई त्यहीं राखिन् ।

त्यो खाली घरमा केवल छत र भित्ता थियो, झ्याल–ढोका बनिसकेको थिएन । जमुनाले ढोकामा पर्दा झुन्ड्याइन् । उनीहरूसँग खानेकुरा थिएन, थियो त सडकमा फालिएका केही थोत्रा भाँडाकुँडा । जमुनाले त्यो सबै तनाव र पीडा व्यवस्थापन कसरी गरिन् ? त्यो समय सम्झेर अचम्म लाग्छ मोहनालाई । अनि लाग्छ, आमा त साँच्चै एक स्वाभिमानी लडाकु रहिछन् । डेढ महिनाजति उनीहरू त्यही रित्तो सब्जी–मण्डीमा बसे । आफन्तबाट जुन सहयोगको अपेक्षा थियो जमुनासँग, त्यो नपाएको दुःख अझै छ उनलाई । केही समयपछि अहमद फर्केर आए काठमान्डुबाट र डेरा लिए, जहाँ उनीहरू लामै समय बसे ।

अहमद काठको काम गर्थे । फर्निचरको पसल थियो उनको । उनी आफ्नै सुन्दर डिजाइनमा दराज, ढोका, झ्याल बनाउँथे । पछि त्यसलाई काठ–कारखानाकै स्वरूप दिए उनले । पसल रेखदेखदेखि फर्निचरमा काम गर्ने १५ कामदारलाई पकाएर खुवाउनेसम्मको काम आमा गर्थिन् । उनी प्रायः चुपचाप नै बस्थिन्, जसले कहिल्यै खुलेर बोलिनन् ।

डेरा जिन्दगी सहज थिएन नै, उनीहरूको डेरा–जीवन निरन्तर रह्यो– अस्पताल रोड, धम्बोझी, बाँके गाउँ...। सायद तिनको जिन्दगीमा अर्को आपत्तिले कुरिरहेको थियो । तेस्रो डेरामा पुगिसकेपछि त्यो घरमा ठूलो आगो लाग्यो । घरका सबै सामान खरानी भए । जमुनाका आँखैअघि जल्यो सबै सम्पत्ति । जमुना एक्लैले निभाइन् त्यो आगो । खरानी रंगको धूवाँका घना गुच्छा आकाशतिर बढिरहेका थिए । मानौं त्यो खैरो अर्थात् हलुका सिलेटी रङ मृत्युको रङ थियो । र, त्यो अग्निदोहनको रङको लामो तनावबाट गुज्रिइरहिन् जमुना । नेपालगन्जका गल्ली, सडक, मस्जिद अरूबेला अद्भुत–मनोरम हुन्थे जमुनाका लागि । घर जलेपछिका ती दिन विरक्तलाग्दा थिए । आफ्नो बालापनमा आमा खुसी भएको उति देखिनन् मोहनाले ।

बिहे हुँदा जमुना १२ वर्षकी थिइन्, अहमद २२ का । त्यसबखत अहमद ज्याला–मजदुरी गर्थे । उनको परिवार ठूलो थियो– सासू, ससुरा, देवर, नन्द सबै थिए । जमुनाका ५ सन्तान भए– २ छोरा, ३ छोरी । माइली हुन्– मोहना ।

मोहनालाई जमुनाले आफ्नो समयको श्यामश्वेत कथा कहिल्यै सुनाइनन्, ‘आफ्ना कुरा भन्नुहुन्न, आफैंलाई लाज हुन्छ’ भन्ने बोधले सायद । मोहनाको विचारमा खुम्चिएको थियो– जमुनाको जिन्दगी । घरमा बेलाबेला आमाको झगडा पर्थ्यो बुबासँग । मोहनालाई लाग्छ, त्यो थियो– अभावको झगडा, छोराछोरीको इच्छा पूरा गर्न नसक्दाको झगडा । जमुनालाई मस्त्राइन् भनी चिन्थे टोलका मान्छेहरू, काठ–मिस्त्रीको श्रीमती भएकाले । घरमा हिंसा हुन्थ्यो, सासू–बुहारीबीच झगडा हुन्थ्यो । ‘आमा खुम्चिनुको कारण त्यही हो सायद, उनले भोगेको परिवेश,’ मोहना भन्छिन् ।

जमुना आफूले नपढे पनि छोराछोरीका लागि जीवन उत्सर्ग गरिन्, सन्तानको संरक्षण गरिन्, शिक्षित बनाउन अहोरात्र तल्लीन भइन्, तिनका इच्छा पूरा गर्न अग्रसर भइन् । तर, जमुनाको जीवनमा त केवल अभाव थिए । जमुनालाई उति पढ्न–लेख्न आउँदैन । तर, भट्टीटोल नेपालगन्जमा उनी नमाज र कुरान पढ्थिन् । मोहनाले सानै छँदा कोसिस गरिन् आमालाई अक्षर चिनाउने । ‘उर्दु–अरबिक चिन्नुपर्छ’ सोचेर जमुनाले घरमै मौलाना राखेर अरबिक पढिन् ।

***

जमुनाको घरमा बुर्का लगाउने चलन थिएन । बिहेपछि उनलाई कालो रङको बुर्का त दिइएको थियो तर, लगाइनन् । श्रीमान् अहमदले लगाउने अनुमति दिएनन्, त्यसैले सामान्य साडी लगाउँथिन् । आमा पछ्याउँदै मोहनाले पनि कहिल्यै बुर्का लगाइनन् । जमुनाले पनि छोरीहरूलाई ‘बुर्का लगाउ’ भनिनन् । ‘कपडा लगाउने मामलामा हामीलाई सधैं स्वतन्त्र छाडिदिनुभयो आमाले । तर घरगृहस्थी सिकोस् भन्ने चाहना थियो । पढ्न पनि प्रोत्साहन नै गर्नुभयो,’ मोहना भन्छिन् ।

टोलमा पुरुषहरू मस्जिद जान्थे, जो अजानको आवाजसँगै नमाज पढ्न उत्साहित हुन्थे । महिलाहरू मजार जान्थे र घरमै पूजा गर्थे । पर्वहरूमा जमुना नमाज पढ्थिन्, खाना बनाउँथिन्, त्यसैको पूजा गर्थिन्, त्यो पूजालाई फातिहा भनिन्थ्यो । ‘आमा त्यो बेला साह्रै मिठो खाना पकाउनुहुन्थ्यो । हातले नबेली रोटी बनाउनुहुन्थ्यो । बिर्यानी, कोर्मा पनि । माछा खानुहुन्न, तर अति मिठो पकाउनुहुन्थ्यो ।’

घरबारी टोलबाट निस्केर अस्पताल रोडमा डेरा गरी बस्दा अहमद स्थानीय सरकारी अड्डाका मान्छेलाई घरमा खान निम्ता गर्थे । उच्च प्रहरी, न्यायाधीश उनको खानाको प्रशंसा गरेर फर्किन्थे ।

जमुना चाहन्थिन्– छोरीहरू पनि घरायसी काममा सिपालु बनुन् । छोरीलाई शिक्षादीक्षा दिनुपर्छ भन्थिन् जमुना । अहमदचाहिँ ‘छोरीलाई सक्षम बनाउनुपर्छ’ भन्थे । मोहनालाई घरबाहिर डुल्न–घुम्न रोक्थिन् आमा । भन्थिन्– ‘बाहिरफेर डुल्दै नडुल, यो राम्रो बानी हुँदै होइन, घरमै बस, घरको काम गर ।’ अनि बुबाचाहिँ भन्थे, ‘पर्दैन घरको काम गर्न, पढ्नुपर्छ तिमीले र घुम्नु पनि ।’ मोहनाको विचारमा उबेला जमुना सोच्थिन्– ‘मैले जे गरिरहेको छु, त्यसैगरी छोरीहरूलाई हुर्काउनुपर्छ ।’ जस्तो भाँडा माझ्नेदेखि चुल्हो लिप्नसम्म उनी अह्राउँथिन् । काम नगरे सजाय पनि दिन्थिन्– बेलाबेला पिट्थिन्, बेलाबेला खटियामा बाँधिदिन्थिन् । अह्राइएका काम गर्ने मन पटक्कै हुँदैनथ्यो मोहनालाई ।

लु लाग्ने डरले पनि ‘बाहिरफेर डुल्न हुन्न’ भन्थिन् जमुना छोरीहरूलाई । ‘डुलुवाई भनेर निकै पटक खटियामा बाँधिएका छौं हामी । घरबाहिर त जानै दिनुहुन्नथ्यो, बिग्रिन्छन् भन्नुहुन्थ्यो । त्यो बिग्रिनुको परिभाषा के हो ? मैले कहिल्यै बुझिनँ,’ मोहना सम्झिन्छिन्, ‘म चाहिँ बाहिरतिर डुलिहिँड्न चाहन्थें । त्यसैले सधैं झगडा परिरहन्थ्यो आमासँग ।’

***

जमुनाको कोमल मुहारमा खुसीका रेखा दौडेको बेलाबेला अनुभूति छ, मोहनालाई । आफूहरूलाई कथा सुनाएको समय आमा खुसी भएको देख्थिन् । अन्धकार राति, खुला आकाशमुनि, टुकीको मधुरो उज्यालोमा, खटियामा पल्टेर जमुना कथा सुनाउँथिन्– मधेशका डाँकुका, ‘अलिबाबा और चालिस’ चोरका । कालाम्मे रातमा उनले ‘खुल्जा सिमसिम’ भन्दा छोराछोरीको आङ जिरिङ्ग हुन्थ्यो । नीरव अन्धकारमा रोचक ढंगले आत्माको कथा भन्थिन्– मान्छे राति सुत्नेबेला भोकैप्यासै नसुत्नु । उनको कथा हुन्थ्यो– निद्रामा आत्मा यदि तिर्खाएको छ भने त्यो पानीको खोजमा निस्किन्छ । अनि ? आत्मा घैंटोमा पानी खान छिर्दा कसैले घैंटोको बिर्को लगाइदियो भने त्यो सधैं त्यहीं कैद हुन्छ र शरीरमा फर्किंदैन ।

छोराछोरीलाई वरिपरि राखेर जमुना आकाशको तारा चिनाउँथिन्– यो तारा यो हो, यो तारा यो । सबैभन्दा टल्किएको तारा देखाउँदै मोहनालाई भन्थिन्– ऊ त्यो ताराचाहिँ तिम्रो बहिनी हो । मोहनापछिकी २ वर्षकी बहिनी बिरामी भएर बितेकी थिइन् । मोहनालाई पछिसम्मै लागिरह्यो– टल्केको तारा साँच्चै मेरी बहिनी नै हो । उनी अन्धकार रातमा आँगनको खटियामा एक्लै आकाशको तारा हेरेर टोलाइबस्थिन् ।

जमुनाको जमानामा नेपालगन्ज अहिलेझैं भव्य थिएन । त्यो पुरानो सहरका केही बिम्ब–सम्झना सुनाइबस्छिन् जमुना– रङ र स्वादको सम्झना । कसरी बजारका पसलमा लालटिन झुन्डिएका हुन्थे ? लालटिनमा नगर पञ्चायतका मान्छेहरू कसरी तेल हाल्थे ? मोहनाको परिवार मुद्दा–मामिलाको झमेलामा परिरह्यो । जमुना आफैं पनि मुद्दा लड्न हिँडिन् । कागजमा ल्याप्चे लगाउँदा निकै पटक सोच्थिन् । मोहनालाई भन्थिन्– ध्यान दिएर पढ् त, यहाँ के लेखिएको छ ? अनि मात्रै म ल्याप्चे लाउँछु । मोहनालाई लाग्छ, व्यावहारिक रूपमा आमा खारिएकी छन् ।

नेपालगन्जकै मंगलप्रसाद माध्यमिक विद्यालयबाट एसएलसी पास गरिन् मोहनाले । एसएलसी दिने बेलासम्म ‘बिहे गर्नुपर्छ’ भन्ने वातावरण बन्दै गयो, जतिबेला उनी १५ वर्षकी थिइन् । बिहे गर्न आमा जमुनाकै दबाब थियो, तर बुबा अहमदले मानेनन्, ‘पढ्नुपर्छ’ भनिरहे । जमुनाचाहिँ ‘पढ्ली नि बिहेपछि’ भन्थिन् । निकै पछि भनिन्– पढाइ निरन्तर होस् । यसरी मोहनाको विवाह रोकियो र १८ वर्षमा नेपालगन्जमै भयो । टीभी स्क्रिनमा छोरी देखेपछि आजकल जमुना भन्छिन्– ए तँ त वकिल पो होस् है ! महिला आयोग र मानव अधिकार आयोगमा छोरीले काम गरेको उनलाई हेक्कै छैन । अहिले त मोहनाकै दुई हुर्केका छोरी छन् । उनलाई लाग्छ, आमा हुनु संसारकै भव्य अनुभूति रहेछ ।

बाल्यकालदेखि युवाकालसम्मै मोहनाको संघर्ष रह्यो– पढाइको, ३५/४०/१०० रुपैयाँ फि तिर्न नसकेकाले कैयौं पटक स्कुलबाट निकालिएकी छन् । त्यसबेला जमुना भन्थिन्– ‘निराश नहुनु, बाबाले जसरी पनि तिर्नुहुन्छ फि ।’ स्कुलमा उबेला दिइएको सजाय अहिले उनलाई ‘हिंसा थियो’ भन्ने लाग्छ, जस्तो घाममा घण्टौं उभ्याइदिन्थे शिक्षकहरू ।

मोहनाको अर्को संघर्ष थियो– समुदायसँग । उनी प्रायः समाजका केही लाञ्छनाहरूबाट घेरिइरहिन् ।

मान्छेहरू भन्थे– यो छाडा भई, यसले समाज बिगार्छे, अहिले तिनीहरू नै आफ्ना नानीहरूलाई भन्छन्, ‘मोहनाजस्तो पो बन्नु छोरी त !’

आमाको जिन्दगीको ग्राफ ‘सुन्दर’ लाग्दैन मोहनालाई । ‘पूरै जीवन घरभित्रै खुम्चिएर बित्यो आमाको,’ उनी भन्छिन् । आजकल छोरासँग नेपालगन्जमा बस्छिन् जमुना । श्रीमान् बितेपछि दुई वटा इलेक्ट्रिक रिक्सा किनेकी छन्, त्यो चलाउने ड्राइभर छ, हातमा पैसा भएपछि आत्मविश्वास बढेको छ । मोहना आजकल काठमान्डुमा छिन्, तर नेपालगन्ज उनका लागि सबथोक हो । उनको मस्तिष्कमा सुरक्षित भोगाइ र सपनाहरूको सहर हो– नेपालगन्ज, जसको रङ र स्वादको सम्झनाले उनी सधैं आमा बस्ने त्यही सहर पुगिरहन्छिन् ।

प्रकाशित : भाद्र ४, २०८१ १०:३८
x
×