कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८
लोक सेवा

६ छोरीको  कथा

भाद्र ३, २०८१
६ छोरीको  कथा

Highlights

  • वंश धान्ने एउटा छोरा त चाहिन्छ भन्दाभन्दै सुन्दास दम्पतीले ६ छोरी जन्माए पनि शिक्षादीक्षाको कर्तव्य बिर्सेनन् । अहिले जेठी ललिता बुढानीलकण्ठ नगरपालिकामा सिनियर अनमी, माइली अनिता तिलोत्तमा–१७ रूपन्देहीको बरबलिया माविमा शिक्षक, साइँली देवीमाया सुनसरी जिल्ला अदालतकी डिट्ठा, काइँली गंगा म्यानमारस्थित नेपाली दूतावासमा नियोग उपप्रमुख, ठाहिँली प्रतिमा दन्त चिकित्सक तथा कान्छी मुना स्नातक तहमा अध्ययनरत छिन्

विराटनगर — झापा, भद्रपुर–९ का टेकबहादुर र दुर्गा सुन्दास दम्पती यतिबेला फुरुङ्ग छन् । दुःखजिलो गरी पढाएका छोरीहरूको प्रगतिले उनीहरूको हर्षको सीमा नै छैन । परिवारका ६ छोरीमध्ये चार जना लोक सेवा भिडेरै सरकारी सेवामा कार्यरत छन् । एक छोरी सरकारी छात्रवृत्तिमा दन्त चिकित्सक बनेकी छन् । सुन्दास परिवारका छोरीहरूको सफलता देखेर गाउँलेहरू पनि खुसी छन् । 

छोरीहरूको यति ठूलो सफलतामा सुन्दास दम्पती खुसी नहुने कुरै भएन । कान्छी छोरी स्नातक तहमा अध्ययनरत छिन् । उनलाई पनि लोक सेवामा प्रतिस्पर्धा गर्न पारिवारिक सल्लाह छ । ‘आफूले भनेजति पढ्न पाइएन,’ पुर्ख्यौली सीप र पेसाबाटै गुजारा गर्दै सबै छोरी पढाएका टेकबहादुरले भने, ‘आफ्नो साटो पनि छोरीहरूले पढिदिए, सरकारी जागिरे भए । त्योभन्दा ठूलो खुसी हाम्रा लागि के होला ?’

२०२४ सालमा भोजपुरमा जन्मिएका टेकबहादुरले सानैमा बाआमा गुमाए । पाँच वर्षकै उमेरमा टुहुरो बनेका उनी २०२९ सालमा मधेश झरे । दमक नजिकैको लगनपुर क्षेत्रमा रहेकी सानिमाले उनलाई हुर्काइन् । कक्षा ४ सम्म त्यहीं बसेर पढे । दाजु सदरमुकाम चन्द्रगढी नजिकै बस्थे । सानिमाको घर छाडेर उनी दाजुकहाँ सरे । यतै बसे, यतै पढे । पारिवारिक अवस्था नाजुक थियो । दलित त्यसमाथि गरिब । अवस्था दयनीय थियो । नाजुक आर्थिक अवस्थाकै कारण उनले ९ कक्षाभन्दा माथि पढ्न पाएनन् । त्यसपछि उनी पैसा कमाउन मेची तरेर हान्निए, दार्जिलिङ । कपडा सिलाउने पुर्ख्यौली सीप उनमा बच्चैदेखि थियो । कपडा सिलाइबुनाइ गरेरै उनी दार्जिलिङमा २ वर्ष जति टिके । तर, त्यो चिसो सहरमा धेरै समय उनको मन अडिएन ।

दार्जिलिङबाट फिरेपछि सिलाइ पेसालाई निरन्तरता दिए । २०४३ सालताका बिहे गरे, राजगढकी दुर्गा शिवासँग । दुर्गा र उनी साइनोले सोल्टासोल्टिनी हुन् । ‘चाहना त पढ्ने नै थियो, तर सोचेजस्तो भएन,’ उनले भने, ‘अनि त्यसपछि घरजम तिरै लागैं ।’ दुर्गा पनि २०२८ सालमै झापा छिरेकी थिइन्, सीमानापारिबाट । उनी करिब ७ महिनाकी हुँदा आमाले पिठ्युँमा बोकेर पुर्ख्यौली थलो नेपाल ल्याएकी थिइन् रे ।

आफूले पढ्न नसकेका कारण छोरीलाई पढाउँछु भन्ने उनको अठोट थियो । पढ्ने वातावरण उनले मिलाए, छोरीहरूले पनि सोचेझैं पढिदिए । ‘श्रम, मिहिनेत गरेर पढाएको फल बल्ल पाएका छौं,’ दुर्गाले भनिन्, ‘हामी त ढुक्क छौं । अचेल आफूलाई संसारकै खुसी मान्छे झैं ठान्छौं ।’ २०५४ सालदेखि व्यावसायिक रूपमा सिलाइ पेसा अँगालेका उनको पसल अहिले घरमै छ । अहिले पनि उनी विगतमा झैं काम गरेर आफूलाई सक्रिय राख्छन् ।

***

ठूली छोरी ललिताले २०६२ मा एसएलसी पास गरिन्, स्थानीय पुँहातु जनज्योति माविबाट । माइली अनिता, साइँली देवीमाया र ठाहिँली प्रतिमाले पनि त्यही स्कुल नै पढे । त्यहींबाट एसएसली पास गरे । कोही सरकारी कर्मचारी, कोही अनमी त कोही शिक्षक भए । प्रतिमा डाक्टर बनिन् । विलक्षण क्षमताकी काइँली गंगा भने छात्रवृत्ति पाएर कक्षा ४ देखि देशकै चर्चित र महँगो बुढानीलकण्ठ स्कुल पढेकी हुन् । हाल उनी म्यानमारस्थित नेपाली दूतावासमा नियोग उपप्रमुख पदमा कार्यरत छिन् ।

एसएलसीपछि ललिताले अनमी पढ्ने निधो गरेकी थिइन् । दलित र गरिब समुदायका सर्वसाधारण समयमै स्वास्थ्य सेवा नपाएर मृत्युवरण गर्नुपरेका केही घटनाबाट उनी प्रभावित भएकी थिइन् । जसले उनलाई स्वास्थ्यकर्मी बन्न प्रेरित गरेको थियो । आम्दा दमकमा अनमी अध्ययनका लागि खुलेको सीमित संख्यामा उनको नाम पनि अट्यो । त्यसपछि उनी भर्ना भइन् । अनमीको कोर्स पूरा गरेर आएपछि घर नजिकैको एक स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीका रूपमा अस्थायी जागिरे भइन् । त्यहाँ दुई वर्ष जति काम गरेपछि लोक सेवा परीक्षा दिइन् । लिखित परीक्षामा उनी पास भइन् ।

धनकुटामा थियो, अन्तर्वार्ता । अन्तर्वार्ताकारले सोधे, ‘तपाईं यो क्षेत्रमा किन आउनुभयो ?’ उनले सहज उत्तर दिइन्, ‘रोगीको सेवा गर्न ।’ २०७१ वैशाखमा उनी अनमी चौथोमा नाम निकाल्न सफल भइन् । २०७६ मा सिनियर अनमीका रूपमा बढुवा भइन् । जेठी छोरीको सफलताले टेकबहादुर हौसिए । त्यसपछि अरू छोरीहरूलाई पनि लोक सेवा भिड्न प्रेरित गरे । ‘मिहिनेत गरेर पढ्यो भने सहजै पास भइने रैछ अनि त ओहदामा पुग्न कुनै पहुँच वा कसैको भनसुन चाहिने रैनछ,’ टेकबहादुरले सुनाए, ‘म जस्ता पहुँचविहीनका छोरीहरूको सफलताले त्यो पुष्टि गर्‍यो ।’

जेठी ललितापछि माइली अनिता, साइँली देवीमाया र काइँली गंगाले पनि लगालग लोक सेवामा नाम निकाले । गंगाले त वर्ष दिनभित्रैमा नायब सुब्बा र अधिकृतमा एकैपटक नाम निकालिन् परराष्ट्र सेवाअन्तर्गत ।

जेठी ललिता हाल बुढानीलकण्ठ नगरपालिका, काठमाडौंमा सिनियर अनमी पदमा कार्यरत छिन् । उनका श्रीमान् खगेन्द्र बर्देवा पनि शाखा अधिकृत हुन् ।

माइली अनिताले पनि दिदी ललितासँगै एसएलसी पास गरेकी हुन् । लोक सेवामा नाम पनि लगभग सँगै निकाले । उनले २०७१ मा निमावि तहमा शिक्षकमा नाम निकालिन् । तिलोत्तमा नगरपालिका–१७ रूपन्देहीको बरबलिया माविमा स्थायी शिक्षकका रूपमा अध्यापनरत अनिताले भनिन्, ‘हामी दिदीबहिनीले लोक सेवामा नाम निकालेपछि अरू बहिनीहरूलाई पनि सजिलो भयो ।’

अनिताका श्रीमान् दिनेश दर्नाल हाल देवदह मेडिकल कलेज भैरहवामा चिकित्सा पेसामा कार्यरत छन् । साइँली देवीमाया सुनसरी जिल्ला अदालत, इनरुवामा डिट्ठा पदमा कार्यरत छिन् । २०६४ को एसएलसीपछि उनले पनि दिदीहरूले कोरेकै लोक सेवाको बाटो पछ्याइन् । कडा मिहिनेतसहितको अध्ययनपछि लोक सेवा भिडिन् । अन्ततः २०७४ मा न्याय सेवाअन्तर्गतमा नाम निकालिन् ।

‘बाआमा र दिदीहरूकै प्रेरणाबाट सरकारी सेवाको बाटो रोजें,’ देवीमायाले सुनाइन् । उनका श्रीमान् वसन्त मोते आईटी इन्जिनियर हुन् । उनी पनि सरकारी सेवामै छन् ।

परराष्ट्रकी अधिकृत गंगा म्यानमारमा र दन्त चिकित्सक प्रतिमा हाल झापामै कार्यरत छिन् । उनी पाँच वर्ष वीरगन्ज बसेर पढेपछि डाक्टर भइन् । केही समय भद्रपुर प्रादेशिक अस्पतालमा ‘इन्टर्न’ गरेकी उनी हाल एउटा निजी क्लिनिकमा कार्यरत छिन् ।

लोक सेवा पास भएपछि मात्रै बिहे गरिदिने टेकबहादुरको योजना थियो । तीन छोरीले त्यसै गरे । छोरीलाई सक्षम बनाउन पाउँदा आमा दुर्गा पनि मक्ख छिन् । ‘हामीले दुःख गरेर पढायौं, अहिले छोरीहरूले खुसी दिए,’ दुर्गाले भनिन्, ‘मिहिनेतको फल एक दिन पाइने रैछ ।’

कुनै बेला यी दम्पतीलाई लाग्थ्यो, वंश धान्ने एक छोरा त चाहिन्छ । त्यही लहडमा ६ बहिनी छोरी जन्मिए । तर, छोरा जन्मिएनन् । अहिले भने उनीहरूको विचार नै फेरियो, ‘छोरा हुनैपर्छ भन्ने रहेनछ । राम्रो शिक्षादीक्षा दिन सक्दा छोरीले संसार जित्ने रहेछन् । पहिले छोरा भइदियोस् भनेर देवीदेउता भाकेर हिँडियो,’ टेकबहादुरले भने, ‘छोराका लागि गरेको त्यो हर्कत सम्झिएर ल्याउँदा अहिले पछुतो लाग्छ ।’

छोरीहरूलाई मान्छे बनाउँछु भन्ने अठोट लिएर अघि बढेका उनलाई अहिले छोरीहरूबाटै धेरै आत्मसन्तुष्टि मिलेको छ । वंश धान्न छोरा चाहिन्छ भन्ने भ्रम टुटिसकेको उनी बताउँछन् ।

सबै दिदीहरू जागिरे भएपछि जन्मिएकी कान्छी मुनालाई पढाइमा सबैले सहयोग गरे । उनलाई पनि अन्य छोरीलाई झैं लोक सेवाबाटै सरकारी जागिरे बनाउने टेकबहादुरको इच्छा छ । ‘उनी लोक सेवा भिड्छिन् कि विदेश जान्छिन्, टुंगो लागिसकेको छैन,’ उनले भने, ‘छोरी विदेश नगइदियोस्, यतै जागिरे बनोस् भन्ने हाम्रो मनसाय छ ।’

टेकबहादुरले झापामा रहँदा बस्दा चार कट्ठा जति ऐलानी जमिन जोडेका थिए । पछि त्यो नम्बरी भयो । ३ कट्ठा जमिन त छोरीहरू पढाउन बेचे । अब घरसहित डेढ कट्ठा र बाँकी एक कट्ठा जमिन उनीहरूको जेथाका रूपमा छ । जागिरे दिदीबहिनी जुटेर पक्की घर बनाइदिएका छन् ।

प्रकाशित : भाद्र ३, २०८१ १०:२३
x
×