कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८
मेड इन नेपाल

५ दशकदेखि देशलाई जोड्दै लिटमस केबल

भाद्र २, २०८१
५ दशकदेखि देशलाई जोड्दै लिटमस केबल

Highlights

  • बिजुलीको तार निर्माण गर्ने पहिलो पब्लिक कम्पनी ‘लिटमस इन्डस्ट्रिज’ ले निरन्तर विद्युत् प्राधिकरणलाई कन्डक्टर, केबल र तार उपलब्ध गराएसँगै आयात प्रतिस्थापन भई ठूलो धनराशि विदेशिनबाट जोगाएको छ, थप उच्चस्तरीय मेसिनसहित पश्चिम नवलपरासीको हकुईमा नयाँ कारखाना सञ्चालनमा ल्याउने तयारी छ

भैरहवा — मुलुकको पूर्वी क्षेत्रबाट लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवल प्रवेश गर्ने नाकामा औद्योगिक क्षेत्र छ । व्यस्त सहरभन्दा टाढा जंगलछेउमा रहेको बुटवल औद्योगिक क्षेत्रमा विभिन्न खालका धेरै उद्योग सञ्चालनमा छन् । त्यही औद्योगिक क्षेत्रमा छ, ‘लिटमस इन्डस्ट्रिज लिमिटेड’ उद्योग पनि ।

उक्त उद्योग सुरुवातदेखि लामो समयसम्म लुम्बिनी विद्युत् उद्योगका नामले चल्यो । यो बिजुलीका कन्डक्टर (विद्युत् उत्पादन केन्द्रबाट सबस्टेसनसम्म ल्याउन प्रयोग गरिने विशेष प्रकृतिको तार) सब, केबल र सामान्य तार निर्माण गर्ने देशको पहिलो पब्लिक कम्पनी पनि हो । औद्योगिक क्षेत्रभित्र २३ रोपनी क्षेत्रफलमा फैलिएको यस उद्योगले विद्युतीकरणका लागि आवश्यक आल्मुनियम कन्डक्टर स्टिल रिइन्फोर्स (एसीएसआर) कन्डक्टर निर्माण गरेर ४६ वर्षअघि उत्पादन यात्रा सुरु गरेको थियो ।

उद्योग व्यवस्थापनका अनुसार सन् २०१४ बाट ‘रमेश कर्प’ ले यसको व्यवस्थापकीय नेतृत्व सम्हालेपछि उद्योगले आफ्ना उत्पादनमा उल्लेखनीय बढोत्तरी गरिरहेको छ । यस अवधिमा उत्पादन सामग्रीमा विविधता कायम गर्न पनि सफल भएको उद्योगले जनाएको छ । एसीएसआर कन्डक्टरबाट उत्पादनलाई विस्तार गर्दै एबीसी (एरियल बन्च केबल), पावर केबल, मल्टिस्ट्रान्ड केबल र इनामेल तारसम्म पुर्‍याइसकिएको व्यवस्थापनको भनाइ छ । पछिल्लो पाँच वर्षयता भने परिवर्तित नाम ‘लिटमस इन्डस्ट्रिज लिमिटेड’ बाट यो उद्योग सञ्चालनमा छ । अहिले लटिमस इन्डस्ट्रिजको व्यवस्थापन सम्हालिरहेको रमेश कर्पका प्रबन्ध निर्देशक हुन्, रोहित गुप्ता । उनका बुबा रमेश गुप्ता लुम्बिनी विद्युत् उद्योगका संस्थापकमध्येका एक थिए । बुबाकै सम्झनामा खोलिएको रमेश कर्पमार्फत रोहितले अहिले यस उद्योगको एकल व्यवस्थापन सम्हालिरहेका छन् ।

उद्योगका प्रमुख उत्पादनमध्ये एसीएसआर कन्डक्टर ट्रान्समिसन लाइनमा प्रयोग गरिने तार हो । विद्युत् उत्पादन केन्द्रबाट सबस्टेसनसम्म यसको उपयोग गरिन्छ । ‘एरियल बन्च केबल’ भनेको ‘लो–भोल्टेज’ विद्युत् वितरण गर्ने तार हो । यसको उपयोग सबस्टेसनबाट विद्युत् विस्तारका लागि गरिन्छ । त्यसपछि उद्योगले घरायसी प्रयोजन (हाउस वायरिङ) र व्यावसायिक भवनको वायरिङमा प्रयोग गरिने बिजुलीका तार निर्माण गर्दै आएको छ । ‘त्यसपछि औद्योगिक वा धेरै भोल्टेज बिजुली प्रयोग हुने क्षेत्रका लागि पावर केबलको निर्माण गरिन्छ,’ उद्योगका एक कर्मचारीले भने, ‘विद्युतीय मोटर र ट्रान्सफर्मर निर्माणमा प्रयोग गरिने इनामेल वायर पनि हामीले बनाइरहेका छौं ।’ यसका साथै ट्रान्सफर्मर निर्माणमा प्रयोग गरिने ‘पेपर स्ट्रिप’समेत निर्माण गरिरहेको ती कर्मचारीले बताए । उद्योगले घरायसी प्रयोजनका तारलाई ‘लिटमस’ र इनामेल तारका लागि ‘लोटस’ नाममा आफ्ना ब्रान्ड बजारमा पुर्‍याइरहेको छ ।

चार दशकदेखि नेपाल विद्युत् प्राधिकरणका लागि आवश्यक केबल र कन्डक्टर यसै उद्योगले नै आपूर्ति गरिरहेको जनरल म्यानेजर प्रकाश रायपुरेले जनाए । ‘विद्युत् प्राधिकरणका लागि लुम्बिनी विद्युत् उद्योग मुख्य सप्लायर हो,’ उनले भने, ‘पाँच वर्षअघि रोहित गुप्ताले व्यवस्थापन सम्हालेपछि उद्योगका उत्पादन विस्तार गरिएको छ ।’ विद्युत् प्राधिकरणको आवश्यकतालाई पूर्ति गर्न उद्योगले आधुनिक जर्मन प्रविधि भित्र्याएर उत्पादन विस्तार गरिरहेको उनले बताए । विद्युत् प्राधिकरणसँग लिटमस इन्डस्ट्रिजको मुख्य सहकार्य रहेको उनले बताए । रायपुरेका अनुसार प्राधिकरणका लागि साढे २ वर्षमा १६ हजार किलोमिटर कन्डक्टर र केबल आपूर्ति गरिएको छ । ‘गत वर्ष ६६ केभीदेखि ४०० केभीका लागि चाहिने कन्डक्टर प्राधिकरणलाई उपलब्ध गरायौं,’ रायपुरेले भने, ‘पहिले यस्तो कन्डक्टर विदेशबाट आयात गरिन्थ्यो, अहिले हामीले आयातलाई पूर्णरूपमा प्रतिस्थापन गर्‍यौं ।’

रोहित गुप्ता, प्रबन्ध निर्देशक-लिटमस इन्डस्ट्रिज लिमिटेड

विद्युत् प्राधिकरणले विस्तार गरेको हेटौंडा–ढल्केवर–इनरुवा ट्रान्समिसन लाइनमा उद्योगले उत्पादन गरेको ४०० केभी ‘मुज कन्डक्टर’ प्रयोग गरिएको छ । उक्त कन्डक्टर यसअघि भारत र चीनबाट आयात गर्ने गरिएको थियो । आगामी दिनमा एक्सएलपीई कभर्ड कन्डक्टर उत्पादनको तयारी रहेको उद्योगले जनाएको छ । गत वर्ष प्राधिकरणबाट माग भएको १ हजार ८ सय किमि एसीएसआर कन्डक्टर आपूर्ति गरिएको उनले बताए । ‘लिटमसका कारण मुलुकको धनराशि बिदेसिनबाट जोगिएको छ,’ रायपुरेले भने, ‘स्वदेशी उत्पादनको प्रयोग बढेको छ ।’ मुलुकलाई आवश्यक केबल र कन्डक्टर निर्माणका लागि उच्चस्तरीय प्रविधि भित्र्याउन कन्जुस्याइँ नगर्ने व्यवस्थापनले जनाएको छ ।

रायपुरेका अनुसार लिटमस इन्डस्ट्रिजको वार्षिक ३६ हजार किमि एसीएसआर कन्डक्टर उत्पादन गर्ने क्षमता छ । अहिले मुलुकमा हाइड्रोपावरको संख्या दिनप्रतिदिन बढिरहेको छ । होइड्रपावरका उत्पादनलाई बजारमा पुर्‍याउन कन्डक्टर र केबलको खाँचो पर्छ । ‘त्यसका लागि स्वदेशी उद्योगलाई प्राथमिकता दिनुपर्‍यो,’ रायपुरेले भने, ‘सम्भावित बजारलाई ख्याल गरेर हामी उत्पादनका लागि तयार छौं ।’ अहिले उद्योगले अत्याधुनिक जर्मन प्रविधिबाट प्रतिवर्ष हाउस वायरिङ केबल २५ लाख क्वाइल उत्पादन गरिरहेको छ ।

एसीएसआर कन्डक्टर प्रतिवर्ष १ लाख १८ हजार किमि उत्पादन गरिरहेको छ । रायपुरेका अनुसार एसीएआर कन्डक्टरको उक्त उत्पादन मुलुकमा अहिले भइरहेको ट्रान्समिसन लाइन विस्तारका लागि पर्याप्त हो । उद्योगले आयात प्रतिस्थापनमा जोड दिने गरी उत्पादन बढाइरहेको छ । स्वदेशी उत्पादनलाई गुणस्तरीय बनाउन सन् २०२० मा उच्चस्तरीय जर्मन प्रविधि भित्र्याइएको रायपुरेले जनाए । ‘जर्मन प्रविधि जडान गरेपछि उत्पादनको गुणस्तर वृद्धि भयो,’ उनले भने, ‘स्वदेशमै गुणस्तरीय तार पाउन थालियो ।’ यसले गर्दा विदेशी उत्पादन विस्थापित हुने वातावरण बनेको उनले बताए । अहिले उद्योगमा जर्मनको उच्चस्तरीय नियोहफ (एनईआईएचईओडब्लूएफ) प्रविधि जडान गरिएको छ । यसले आवश्यकता र मागअनुसारका उत्पादनका लागि सहज भएको छ । ‘एक पटक सेट गरेपछि मेसिनले नै आवश्यकताअनुसारको तार निकाल्छ,’ उनले भने, ‘प्रोसेर कन्ट्रोलिङलाई सहज हुन्छ ।’

उद्योगभित्र स्वचालित मेसिन भएकाले धेरै जनशक्तिको खटनपटन देखिँदैन । प्रत्येक मेसिन सञ्चालनका लागि प्राविधिक मात्र देखिन्छन् । उनीहरूले एक ठाउँमा उभिएर मेसिन सञ्चालन र कन्ट्रोल गरिरहेका हुन्छन् । उत्पादनको गुणस्तर कायम राख्न उद्योगभित्रै आधुनिक ल्याब (प्रयोगशाला) स्थापना गरिएको छ । कच्चा पदार्थ र उत्पादनको गुणस्तर परीक्षणपछि मात्रै उत्पादनलाई बजारमा पठाउने गरिएको छ । अहिले उक्त ल्याबमा ६ जना इलेक्ट्रिकल इन्जिनियरले काम गरिरहेका छन् । ‘उत्पादनको गुणस्तर जाँच्न र लिटमसको स्तरीयता कायम राख्न उहाँहरू खटिनुभएको छ,’ उद्योगका महाप्रबन्धक रायपुरेले भने, ‘नेपालकै जनशक्तिलाई अनुभवी तुल्याउन कम्पनीले पुल्चोक र थापाथली इन्जिनियरिङ क्याम्पससँग इन्टर्नसिपका लागि सम्झौता गरेको छ, त्यहाँ अध्ययन गरिरहेका विद्यार्थीले उद्योगको ल्याबमा खटिएर सीप निखार्ने गरेका छन् ।’ अहिले पनि उद्योगमा ती इन्जिनियरिङ क्याम्पसबाट आएका दुई जना विद्यार्थीले काम गरिरहेका छन् । यसले मुलुकमै आवश्यक जनशक्तिको सिर्जना गर्ने उनले बताए ।

अहिले उद्योगमा एउटा उच्चस्तरीय मेसिन जडान गरिएको छ । उक्त मेसिन सञ्चालनका लागि जनशक्तिको खोजी भइरहेको छ । ‘एक महिनादेखि हामी मेसिन चलाउने प्राविधिक खोजिरहेका छौं,’ रायपुरेले भने, ‘तर, पाइरहेका छैनौं, अब मेसिन चलाउनका लागि विदेशबाट जनशक्ति आपूर्ति गर्नुपर्ने बाध्यता छ ।’ मुलुकबाट दक्ष जनशक्ति बाहिरिरहेका बेला यहाँ अभाव खट्किएको उनले बताए । यसबाहेक नियमित विद्युत् आपूर्ति नहुँदा पटकपटक उत्पादनमा अवरोध आइरहेको गुनासो गर्दै रायपुरे भन्छन्, ‘दक्ष जनशक्तिको अभाव र विद्युत् नियमित आपूर्ति नहुँदा समस्या भइरहेको छ, तर उद्योगले मुलुकमा विद्युत् कन्डक्टर, केबल र तारको आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको छ ।’ त्यसका लागि बजारको आवश्यकता बुझेर उत्पादन र गुणस्तर वृद्धि गर्न लागिपरेको उनले जनाए ।

स्तरीय उत्पादनका कारण लिटमसले विभिन्न गुणस्तरीय चिह्न र प्रमाणपत्र प्राप्त गरेको छ । उद्योगका प्रबन्ध निर्देशक गुप्ताले उत्पादनको गुणस्तर कायम राख्न उद्योगले कुनै सम्झौता नगर्ने दाबी गरे । उत्पादित सामग्रीको स्तरीयता कायम राखेकै कारण उद्योगले सन् २०१५ मा आईएसओ ९००१ र आईएसओ १४००१ अन्तर्राष्ट्रिय गुणस्तरीय चिह्न प्रमाणपत्र प्राप्त गरिसकेको छ । त्यसैगरी, सन् २०१० मा उद्योगले एनएस क्वालिटी अवार्ड प्राप्त गरेको थियो । ‘लिटमसलाई चिनाउने नै यसको गुणस्तरले हो,’ उनले भने, ‘एडभान्स मेसिन छन्, कच्चा पदार्थमा सम्झौता गर्दैनौं ।’ उनका अनुसार आईएस (इन्डियन स्ट्यान्डर्ड) प्रमाणपत्र प्राप्त गर्ने उद्योगमा लिटमस मुलुकको पहिलो र एकमात्र कम्पनी हो । यसबाहेक विश्वका उच्चस्तरीय प्रयोगशालाबाट केईएमए, सीपीआरई, टीएजी र ईआरडीए टाइप परीक्षण प्रमाणपत्र प्राप्त गरेको छ ।

उद्योगमा अहिले ५ सय जना कर्मचारी कार्यरत छन् । उच्च प्रविधि र दक्ष जनशक्तिका कारण लिटमस अन्य उद्योगभन्दा फरक रहेको प्रबन्ध निर्देशक गुप्ताको भनाइ छ । ‘आधुनिक प्रयोगशालामा परीक्षण गरेर बजारमा उपलब्ध अन्य तारभन्दा फरक उत्पादन गरिरहेका छौं,’ उनले भने, ‘हाम्रा उत्पादन अन्तर्राष्ट्रिय मापदण्डका छन् ।’ गुप्ताका अनुसार उद्योगमा अहिलेसम्म एक अर्ब रुपैयाँ लगानी भइसकेको छ भने वार्षिक ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भइरहेको छ । अहिले लिटमसले घरेलु बजारलाई नै प्राथमिकता दिएर व्यापार गरिरहेको छ । उद्योगका देशभर २ सय डिस्ट्रिब्युटर र २ हजार ‘रिटेल प्वाइन्ट’ रहेका छन् । ‘अब हाम्रा उत्पादनलाई छिट्टै विश्व बजारमा पुर्‍याउने तयारी गरिरहेका छौं,’ गुप्ताले भने, ‘भारत, बंगलादेश, भुटानका साथै मध्यपूर्वका मुलुकमा निर्यात गर्ने योजनासाथ काम गरिरहेका छौं ।’

उद्योग र उत्पादन विस्तार हुँदै

अहिलेसम्म मुलुकभित्रको माग पूरा गरिरहेको यस उद्योगले निकट भविष्यमा आफ्ना उत्पादन निर्यातको तयारी गरेको छ । विदेशबाट आयात गरिने तार विस्थापन गर्न कन्डक्टर, केबल र तारहरूलाई पीभीसी पाइपले कभर गरेर उत्पादन गरिरहेको छ । यसरी पीभीसी पाइपले छोपेर तार निर्माण गर्दा दुर्घटनामा कमी आउने उद्योगको भनाइ छ । थप उच्चस्तरीय मेसिन आयात गरेर उत्पादन निर्यातका लागि पश्चिम नवलपरासी सदरमुकाम परासी नजिकै हकुईमा १४ बिघा क्षेत्रफलमा नयाँ कारखाना निर्माणाधीन छ । आगामी डिसेम्बरबाट उक्त कारखाना सञ्चालन गर्नेगरी काम भइरहेको व्यवस्थापनले जनायो । उक्त कारखाना सञ्चालनमा आएपछि उद्योगले अहिले भारतबाट आयात गरिरहेको कच्चा पदार्थ यहीं उत्पादन गरिने जनाएको छ ।

नयाँ कारखानामा क्वाइल निर्माण गर्ने सीसीआर प्लान्ट जडान गरिँदै छ । नयाँ कारखाना सञ्चालनमा आएपछि एसीएसआर कन्डक्टरका लागि आल्मुनियम यहीं उत्पादन गरिने व्यवस्थापनले जनाएको छ । नयाँ उद्योग सञ्चालनमा आएपछि थप ५ सय जनाले रोजगारी पाउने उद्योगले जनाएको छ । आगामी डेढ वर्षभित्र नयाँ कारखाना पूर्णरूपमा निर्माण भएर सञ्चालनमा आउनेछ । उद्योगले ‘एक्सएलपीई कभर्ड कन्डक्टर’को उत्पादन थालेपछि अहिले प्रयोगमा रहेका ओभरहेड र अन्डर ग्राउन्ड कन्डक्टर विस्थापित हुने जनाइएको छ । व्यवस्थापनका अनुसार परासीको हकुईमा जडान गरिने प्रविधि मुलुकमा पहिलो हुनेछ । त्यसपछि हाई भोल्टेजका लागि पीभीसी पाइपले कभर गरिएको एचटीएलएस कन्डक्टर पनि उत्पादन गरिने जनाइएको छ ।

नयाँ कारखाना सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको रमेश कर्पले जनाएको छ । ‘हजारौं माइलको यात्रा पनि सानो पाइलाबाट सुरु हुन्छ,’ प्रबन्ध निर्देशक गुप्ता भन्छन्, ‘लिटमसको यात्रा पनि सहज पक्कै छैन, कर्मचारी, प्राविधिक, डिलर र उपभोक्ताको अनवरत सहयोगले हाम्रा उत्पादन बजारमा नम्बर एक सावित भएका छन् ।’ व्यवस्थापन र कर्मचारीको ‘टिम वर्क’ र उत्पादनको गुणस्तरीयता कम्पनीको बलियो शक्ति भएको उनले बताए ।

प्रकाशित : भाद्र २, २०८१ ०९:४७
x
×