कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९
अन्वेषण

चीन : नवीकरणीय ऊर्जामा लगानी बढाउँदै, कोइलाप्रतिको मोह पनि उस्तै

श्रावण १८, २०८१
चीन : नवीकरणीय ऊर्जामा लगानी बढाउँदै, कोइलाप्रतिको मोह पनि उस्तै

Highlights

  • पछिल्लो समय चीनले ‘न्यु थ्री’ का रूपमा सौर्य ऊर्जा, वायु ऊर्जा तथा विद्युतीय सवारीसाधनमा अत्यधिक लगानी बढाएको छ, विद्युतीय सवारीको उत्पादन २०२३ मा ३६ प्रतिशतले बढेको थियो, २०२३ मा ९.६ मिलियन युनिट विद्युतीय सवारी उत्पादन गरिएको थियो

काठमाडौँ — बितेका दुई दशकमा पृथ्वीलाई तताउन प्रमुख भूमिका खेल्ने हरितगृह ग्यास उत्सर्जन गर्ने सबैभन्दा ठूलो देश चीन हो । तर, पछिल्लो समय चीनले हरितगृह ग्यासको उत्सर्जनलाई तीव्र गतिमा घटाउँदै लगेको छ । जुन रूपमा उत्सर्जनको तथ्यांकले पहाडको चुचुरो बनाएको थियो, त्यो अब समथर पठार बन्न थालेको छ । 

जलवायु परिवर्तनका प्रभावहरू ठूला–ठूला हुन सक्छन् । सन् २००६ मा चीनको उत्सर्जनले अमेरिकालाई उछिनेसँगै विश्वव्यापी हिस्सा बढेर झन्डै एकतिहाइ पुगेको थियो । जनसंख्याको भिन्नतालाई संज्ञानमा लिएर हिसाब लगाउँदा पनि उत्सर्जनको संख्या ठूलो थियो । चीन सरकारद्वारा हालै सार्वजनिक तथ्यांकका साथै ऊर्जा विश्लेषकहरूको रिपोर्टका अनुसार चीनको उत्सर्जनमा उल्लेखनीय कमी नआउने देखिए पनि त्यो वृद्धि नहुने संकेत प्राप्त भएको छ । यसलाई पनि ठूलो सफलताका रूपमा हेरिएको छ । चीनका राष्ट्रपति सी चिनफिङले २०३० सम्ममा उक्त अवस्थामा पुग्ने वाचा गरेका थिए ।

चीनले हरित गृह ग्यासको उत्सर्जन कम गर्न बिजुली उत्पादनमा सबैभन्दा ठूलो परिवर्तन गरेको छ । छोटकरीमा भन्नुपर्दा चीनमा नवीकरणीय स्रोतहरूले कोइलालाई प्रतिस्थापन गर्दै छन् । कोइला सबैभन्दा बढी प्रदूषण फैलाउनले जीवाश्म इन्धन हो । चीनले गत वर्ष मात्रै अमेरिकाले हालसम्म स्थापना गरेको भन्दा धेरै सौर्य प्यानलहरू स्थापना गरेको थियो । र, तीमध्ये अधिकांशलाई चीनले आफ्नो बिजुली ग्रिडमा जोडेको थियो ।

ग्लोबल इनर्जी मनिटरले गत साता सार्वजनिक गरेको प्रतिवेदनअनुसार अहिले विश्वमा निर्माणाधीन ठूला वायु र सौर्य प्लान्टहरूमध्ये लगभग दुईतिहाइ चीनमा छन् । यो अमेरिकामा योजना गरिएको वायु र सौर्य क्षमताभन्दा आठ गुणा बढी हो । गत मे महिनामा चीनले कोइलाबाट ५३ प्रतिशत बिजुली उत्पादन गरेको थियो । चीन सरकारले दशकहरू अघि ऊर्जाको तथ्यांक प्रकाशित गर्न थालेयताको यो सबैभन्दा कम हो । ऊर्जा र स्वच्छ वायुमा अनुसन्धान केन्द्रका चीन विश्लेषक बेलिन्डा स्केपका अनुसार यो तथ्यांकले चीनले हरितगृह ग्यासको उत्सर्जनको शिखर पार गरेको रूपमा पनि बुझ्न सकिन्छ ।

यद्यपि, केही पर्यवेक्षकहरूका अनुसार चीनको वर्तमान अवस्थालाई ‘शिखर’ शब्द प्रयोग गर्नु गलत हुन्छ । ‘हामीले करिब एक दशकदेखि शिखरमा छ कि छैन भनेर कुरा गरिरहेका छौं,’ एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटस्थित चाइना क्लाइमेट हबका निर्देशक ली सुओले भने । लीका अनुसार चीनको उत्सर्जन पठार हुने सम्भावना भने बढी छ । उनका अनुसार विद्युत् उत्पादनमा कोइलालाई नवीकरणीय ऊर्जाले प्रतिस्थापन गरेका कारण यो सम्भव भएको हो । यसका साथै अन्य कारकहरूमा चीनको घरजग्गा व्यापारमा देखिएको संकट र कोरोना महामारीपछि सुस्ताएको अर्थतन्त्रका कारण समग्रमा ऊर्जाको खपत नै पनि घटेको छ । यसका कारण पनि उत्सर्जनको तथ्यांक स्थिर भएको हुन सक्छ र केवल अस्थायी पनि हुन सक्छ ।

‘यदि हामीले विगत दुई दशकको चीनको उत्सर्जन परिमाण हेर्‍यौं भने घर तथा ठूला पूर्वाधारहरूको निर्माण तीव्र गतिमा भइरहेको थियो र त्यसका लागि आवश्यक सामग्रीहरूको आपूर्ति शृंखला नै सबै उत्सर्जनको एकतिहाइ हुन जान्छ,’ उनले भने, ‘त्यो घटेको छ ।’ उनका अनुसार हाल भएका नीतिगत परिवर्तनबाट भने थप भरपर्दो संकेतहरू प्राप्त भएका छन् । विशेष गरेर कोइला प्रयोग गर्ने ब्लास्ट फर्नेसहरू सञ्चालन गर्ने स्टिल कारखानाहरूका लागि अनुमतिमा लगाइएका नयाँ प्रतिबन्धले दूरगामी प्रभाव पार्न सक्छन् । विद्युतीय सवारीसाधनको उत्पादनमा ठूलो वृद्धिले पनि तेलको माग घटाएको छ ।

तर, अन्ततः चीनले कोइलाबाट हुने बिजुली उत्पादनलाई कति चाँडो विस्थापित गर्न सक्छ भन्नेले नै उत्सर्जन प्रक्षेपणमा कति कमी आउँछ भन्ने यकिन हुन्छ । कोइलाको प्रयोग घट्दै गए पनि चीनले ऊर्जाको स्रोतका रूपमा यसमा लगानी भने गरी नै रहेको छ । गत वर्ष मात्रै विश्वमा सञ्चालनमा आएका नयाँ कोइलाखानीहरूको दुईतिहाइ हिस्सा चीनले मात्रै ओगटेको थियो । २०२३ मा, आठ वर्षयताकै उच्च संख्यामा चीनमा नयाँ कोइला–प्लान्टहरू निर्माण भए । यदि चीनले प्रस्ताव गरेका अन्य सबै पनि निर्माण गर्ने हो भने यसले आफ्नो हालको सञ्चालनमा रहेकाको एकतिहाइ बराबर थप्नेछ । आज, चीनले विश्वको कोइलाको खपतको लगभग ६० प्रतिशत हिस्सा ओगटेको छ ।

चीनले कोइलाखानीमा वायु र सौर्य उत्पादन घटेमा विकल्प प्रदान गर्नका लागि लगानी गरेको हो । यसका साथै चीनले ‘पम्प्ड हाइड्रो’ जलविद्युत्मा पनि ठूलो लगानी गरिरहेको छ । पम्प्ड हाइड्रो भनेको बिजुलीको माग कम भएको समयमा जलाशयमा पानी पम्प गरेर भण्डारण गर्ने र माग बढेमा थप बिजुली उत्पादन गर्ने विधि हो । ती प्रणालीहरूले ऊर्जाको माग उच्च भएको समयमा कोइला ऊर्जाको माग घटाउन मद्दत गर्न सक्छ । चिनियाँ उद्योगमा तेल र ग्यास पनि ऊर्जा स्रोतका रूपमा प्रयोग गरिन्छ । लीका अनुसार चीनमा पेट्रोकेमिकलको उत्पादनका साथै त्यसको आयात दुवै बढिरहेको छ । तर, चीनको उत्सर्जन प्रक्षेपणमा निर्णायक कारक कोइलाको प्रयोगमा गिरावट भएमा सम्भव हुनेछ ।

स्वच्छ प्रविधिमा चिनियाँ लगानी

२०२३ मा चीनको स्वच्छ ऊर्जा लगानीको मुख्य केन्द्रबिन्दु सौर्य ऊर्जाका साथै सोलार प्यानल, विद्युतीय गाडी र ब्याट्रीहरूको उत्पादन रहेको थियो । चीनको घरजग्गा क्षेत्र लगातार दोस्रो वर्ष संकुचित भएपछि स्वच्छ ऊर्जा लगानीमा वृद्धि भएको हो । यो परिवर्तनले स्वच्छ–ऊर्जा उद्योगलाई चीनको ऊर्जा र जलवायु प्रयासका साथै फराकिलो आर्थिक र औद्योगिक नीतिको प्रमुख भागका रूपमा राखेको छ । यद्यपि, चीनको लगानीमा आधारित आर्थिक मोडेलमा स्वच्छ ऊर्जामा लगानी अनिश्चितकालसम्म जारी रहन सक्दैन । तर, यी नयाँ उद्योगहरूको बढ्दो महत्त्वले विश्वव्यापी रूपमा नै चीनलाई स्वच्छ ऊर्जा प्रविधिमा महत्त्वपूर्ण आर्थिक भूमिका खेल्ने अवसर प्रदान गर्छ ।

तैपनि यसले विदेशी नीति निर्माताहरूका लागि आफ्नै जलवायु रणनीतिलाई घरेलु औद्योगिक वृद्धिसँग जोड्ने प्रयासमा प्रश्न खडा गर्छ । चीनको स्वच्छ ऊर्जा लगानी वृद्धिले गर्दा २०२३ मा देशको समग्र अर्थतन्त्रमा नै वृद्धिका लागि जिम्मेवार छ । चीनले २०२३ मा स्वच्छ ऊर्जा क्षेत्रमा ६.३ ट्रिलियन युआन (करिब ८९० बिलियन अमेरिकी डलर) लगानी गरेको अनुमान गरिएको छ । २०२२ मा गरिएको ४.६ ट्रिलियन युआन लगानीको तुलनामा यो ४० प्रतिशतको वृद्धि गरेको थियो । स्वच्छ ऊर्जाले २०२३ मा चीनको अचल सम्पत्तिमा भएको ठूलो लगानीको १३ प्रतिशत ओगटेको छ, जुन अघिल्लो वर्ष जम्मा ९ प्रतिशत थियो । समग्रमा २०२३ मा चिनियाँ लगानी १.५ ट्रिलियन युआनले मात्र बढेको विश्लेषणले देखाउँछ । त्यसमा स्वच्छ ऊर्जाले सबै वृद्धिमा योगदान गरेको छ । जबकि घरजग्गा जस्ता क्षेत्रमा लगानी घटेको छ ।

चीनको समग्र आर्थिक वृद्धिमा स्वच्छ ऊर्जा पनि शीर्ष योगदानकर्ता रहेको छ । जसले सबै क्षेत्रहरूमा कुल ग्राहस्थ्य उत्पादनमा वार्षिक वृद्धिको ४० प्रतिशत योगदान गरेको छ । वस्तु र सेवाहरूको मूल्यसहित, स्वच्छ ऊर्जा क्षेत्रले २०२३ मा चीनको अर्थतन्त्रमा अनुमानित ११.४ ट्रिलियन युआन (करिब १.६ ट्रिलियन अमेरिकी डलर) योगदान गरेको थियो । जुन वार्षिक रूपमा ३० प्रतिशतले बढेको हो । यसको मतलब स्वच्छ ऊर्जाले २०२३ मा चीनको जीडीपीको ९.० प्रतिशत ओगटेको थियो, जुन २०२२ मा ७.२ प्रतिशत मात्रै थियो ।

२०२३ मा चीनको आर्थिक वृद्धिमा स्वच्छ ऊर्जा क्षेत्रको योगदान नभएको भएमा चीनको जीडीपी ५.२ प्रतिशतको सट्टामा ३.० प्रतिशतले मात्रै बढ्ने थियो । यसले देशको आर्थिक सम्भावनामाथि चिन्ता बढेको समयमा, घरजग्गाको व्यापार संकटमा परेका बेला र घट्दो जनसंख्याको बीचमा सरकारी वृद्धि लक्ष्यहरू गुमाउने थियो । २०२३ मा वृद्धिलाई बढावा दिन स्वच्छ ऊर्जाले खेलेको प्रमुख भूमिकाका कारण अब यो चीनको आर्थिक र औद्योगिक विकासको मुख्य अंग बनेको छ । यसले चीनको जलवायु र ऊर्जा नीतिहरूका साथै आर्थिक र राजनीतिक सान्दर्भिकता बढाएर २०३० र २०६० का लागि ‘दोहोरो कार्बन’ लक्ष्य प्राप्तिलाई बलियो बनाउने सम्भावना छ ।

२०२३ मा चीनको स्वच्छ–प्रविधि अर्थतन्त्रको वृद्धिमा सौर्य ऊर्जाको सबैभन्दा ठूलो योगदान थियो । यसले नयाँ लगानी, वस्तु र सेवा गरेर संयुक्त रूपमा एक ट्रिलियन युआन बराबरको वृद्धि गरेको थियो । किनकि यसको मूल्य २०२२ मा १.५ ट्रिलियन युआनबाट बढेर २०२३ मा २.५ ट्रिलियन युआन पुगेको थियो । यो भनेको ६३ प्रतिशतको वार्षिक वृद्धि हो । चीनले वर्षौंदेखि सौर्य प्यानलको निर्माण र स्थापनामा प्रभुत्व जमाएको छ । तर २०२३ मा यो उद्योगको वृद्धि अभूतपूर्व थियो । संघीय सरकारको ‘पूरै वडामा सौर्य ऊर्जा वितरण’ र ‘स्वच्छ ऊर्जा आधार’ नामका दुई कार्यक्रमले सौर्य ऊर्जा स्थापनामा ठूलो योगदान दिएको छ ।

घरजग्गा क्षेत्रको व्यापारमा मन्दी आएका कारण त्यसको प्रतिक्रियामा केन्द्र सरकारले प्रयोगविहीन भएका जग्गाहरूमा सौर्य ऊर्जा उद्योगहरूको विकासलाई प्रोत्साहित गर्न २०२३ को सुरुमा नै नयाँ नीति ल्याएको थियो । यसैबीच, २०२३ को वसन्तमा वार्षिक विधायिकी बैठकहरूमा, १५ प्रदेशहरूले उनीहरूको सरकारी एजेन्डामा नै सौर्य ऊर्जा उद्योगको विकासलाई प्राथमिकता दिएका थिए । अनुमानित रूपमा २०२३ मा २०० गिगावाट सौर्य ऊर्जा थपिएको थियो । जुन २०२२ मा ८७ गिगावाट मात्रै थियो ।

२०२३ मा चीनले सौर्य ऊर्जा उत्पादन गर्ने वस्तुको निर्यातमा उल्लेख्य वृद्धि गरेको थियो । यसले वर्षको पहिलो १० महिनामा ५६ गिगावाट सोलार वेफर, ३२ गिगावाट सेल र १७८ गिगावाट मोड्युलहरू निर्यात गरेको थियो । जुन क्रमशः ९०, ७२ र ३४ प्रतिशतको वार्षिक वृद्धि हो । तर, लागत घटेका कारण यी सौर्य उत्पादनको निर्यात मूल्य तीन प्रतिशतले मात्रै बढेको छ । यसका साथै चीनले वायु ऊर्जामा पनि उल्लेख्य लगानी गरेको छ । चीनले २०२३ को पहिलो ११ महिनामा ४१ गिगावाट वायु ऊर्जा क्षमता स्थापना गरेको थियो । जुन वार्षिक रूपमा ८४ प्रतिशतले बढेको हो । चीन ग्यालेक्सी सेक्युरिटिजका अनुसार अघिल्लो वर्षको तुलनाका आधारमा २०२३ मा जमिनमा स्थापना गरिने वायु ऊर्जाका प्लान्टबाट ६ गिगावाट ऊर्जा प्राप्त भएको थियो ।

चीनले ‘न्यु थ्री’ का रूपमा सौर्य ऊर्जा, वायु ऊर्जा तथा विद्युतीय सवारीसाधनमा अत्यधिक लगानी बढाएको छ । विद्युतीय सवारीको उत्पादन २०२३ मा ३६ प्रतिशतले बढेको थियो । २०२३ मा ९.६ मिलियन युनिट विद्युतीय सवारी उत्पादन गरिएको थियो । जुन चीनमा उत्पादन हुने सबै सवारीसाधनको कुल ३२ प्रतिशत हो । चीनमा उत्पादन हुने विद्युतीय सवारीमध्ये ठूलो हिस्सा चीनमा नै बेचिन्छ । २०२० मा विद्युतीय सवारीसाधनको खरिदमा दिइएको अनुदान २०२२ मा समाप्त भए पनि त्यसको उपभोगमा गिरावट भने आएको छैन । चीनको ईभी बजार अत्यधिक प्रतिस्पर्धी छ । त्यहाँ कम्तीमा ९४ ब्रान्डका ३०० भन्दा बढी मोडेलहरू उपलब्ध छन् । घरेलु ब्रान्डहरूले ईभी बजारको ८१ प्रतिशत हिस्सा ओगटेका छन् । जसमा बीवाईडी, बुलिङ, चेरी, चाङगान र जीएसी शीर्ष उत्पादक हुन् ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : श्रावण १८, २०८१ ०९:११
x
×