कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

जागिर छाडेर मूर्तिमा व्यस्त

असार २६, २०८०
जागिर छाडेर मूर्तिमा व्यस्त

सल्यान — बाग्चौर नगरपालिका–९ कोटमौलाका टापेन्द्र डीसीलाई बाल्यकालदेखि नै चित्रकलामा रुचि थियो । विद्यालय समयमा शिक्षकले पढारहेकै बेला कक्षाकोठामा उनले सिसाकलमले कापीमा इच्छाअनुसारका चित्र कोर्थे ।

बाबुआमाले पढाइमै ध्यान दिन दबाब दिएपछि उनी पढ्नभन्दा चित्र कोर्नेमै व्यस्त हुन्थे । त्यतिबेलादेखि नै चित्र कोर्न लागिपर्ने डीसी हाल भने सफल मूर्तिकार बनेका छन् ।

बालापनको रुचि हाल भने ३५ वर्षीय डीसीका लागि पेसा बनेको छ । हाल बाग्चौर–२ मा बस्दै आएका डीसीले मूर्ति तथा सालिक बनाएरै वार्षिक २० लाख हाराहारीको आम्दानी गर्छन् । उनकै कमाइमा ६ जनाको परिवार आश्रित छ । यही कामले नै सानोतिनो घरजग्गा जोड्नसमेत सफल भएका छन् । ‘पाठ्यपुस्तकका चित्र देख्दा कसले, कसरी बनाएको होला भन्ने जिज्ञासा उत्पन्न हुन्थ्यो । त्यतिबेलादेखि नै जानीनजानी कापीमा चित्र कोर्न थाल्थे,’ पछिल्लो समय जिल्लामा सफल मूर्तिकारको परिचय बनाएका डीसीले भने, ‘त्यसपछि पेन्टिङ, मूर्ति तथा मानव सालिक बनाउन थाले ।’

लामो समयदेखि मूर्ति तथा मानव सालिक बनाउँदै आएका डीसीलाई अहिले सल्यानबाट मात्र नभई अन्य जिल्लाहरूबाट समेत काम आउन थालेको छ । ‘न त मलाई कसैले तालिम दियो, न कसैले सिकायो । जे गरें मैले आफ्नै सीप र लगनले गरें,’ उनी भन्छन् । स्नातकोत्तरसम्मको अध्ययन सकेका उनले तीन वर्ष घर नजिकैको सूर्यप्रकाश आधारभूत विद्यालयमा शिक्षकका रूपमा पनि काम गरे । ‘तर बालापनको रुचिकै कारण शिक्षण पेसालाई निरन्तरता दिन सकिनँ,’ उनले भने । शिक्षण पेसा छाडेर अहिले आफ्नो इच्छाअनुसारकै काममा रमाउँदै आएका डीसी हातमा सीप भएपछि रोजगारीका लागि बिदेसिनु नपर्ने बताउँछन् ।

सुरुसुरुमा माटोका सालिक तथा मूर्ति बनाउने उनले अहिले भने सिमेन्ट प्रयोग गर्छन् । एउटा मूर्ति तथा सालिक बनाएको उनले दस हजार रुपैयाँदेखि एक लाखसम्म लिने गरेका छन् । अर्धकदको सालिकका लागि भने कम्तीमा तीन/चार हजार लाग्ने उनको भनाइ छ । टोपेन्द्र कला केन्द्र नामको उद्योग दर्ता गरेरै व्यवसाय अगाडि बढाएका उनले अहिलेसम्म झन्डै चार सय मूर्ति तथा सालिक बनाएको बताउँछन् । पछिल्लो समय कामको चाप बढेपछि भने उनले दुई जना सहयोगी पनि राखेका छन् । आफूले बनाएका देवीदेवताका मूर्ति सल्यान, रुकुम, रोल्पा, जाजरकोट, दाङसम्म बिक्री भएको उनले बताए ।

प्रकाशित : असार २६, २०८० ०७:४८
×