कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

लन्डनमा नेपाली मेला

भाद्र १०, २०८१
लन्डनमा नेपाली मेला

लन्डन — लन्डनमा आइतबार १५ औँ नेपाली मेला सम्पन्न भयो । तमुधि यूकेले विगतजस्तै केम्पटन पार्क रेस कोर्समा मेला गरेको हो ।  हजारौँ नेपाली सहभागी मेलामा बेलायतका ४० नेपाली संघ संस्थाले प्रस्तुत गरेका विभिन्न मौलिक झाँकी र नृत्यले लन्डन नेपालमय बन्यो।

नेपाली मेलाको मुख्य आकर्षण सांस्कृतिक झाँकी नै रह्यो । मेलामा पूर्व मेचीदेखि पश्चिम महाकाली र हिमालदेखि तराईसम्मका विभिन्न जातजाति, भूगोल, धर्म प्रतिनिधित्व गर्दै विभिन्न संघसंस्थाले झाँकी प्रस्तुत गरेका थिए ।

सिली साकेला, लाखे, सालैजो जस्ता विभिन्न १८ वटा नृत्य देखाइएको थियो । गायन, नृत्य, विभिन्न च्यारिटी र जनचेतनामूलक स्टलहरुमा पनि सहभागी झुम्मिएका देखिन्थ्यो । मेलामा कलाकारहरु राजन गुरुङ, शिवदास गुरुङ, नेसन पुन, आरुषी मगर लगायतले आ–आफ्नो प्रस्तुति दिए ।

मेलामा झाँकी र नृत्य दुवैमा उत्कृष्ट प्रदर्शन गरी पासा पुच गुथि यूकेले एम्बासडर तथा एनआरएनए कप जितेको छ भने फष्ट रनर अप किरात याक्थुङ चुम्लुङ यूके घोषित भयो। सेकेन्ड रनर अप र सान्त्वना पुरस्कार क्रमशः किरात राई यायोख्या यूके र शेर्पा एसोसिएसन यूकेले जिते ।

प्रेसिडेन्ट च्वाइस अवार्ड किरात राई यायोख्या यूकेले प्राप्त गरेको छ । उत्कृष्ट झाँकी र नृत्य प्रस्तुत गर्ने पासा पुचलाई लन्डन दूतावासले प्रायोजन गर्ने ११०० पाउण्डको एम्बासडर कप प्रदान गरियो भने रनरअपले ७०० र सेकेन्ड रनरअपले ५०० पाउण्ड, सर्टिफिकेट एवं मेडल पाए ।

प्रकाशित : भाद्र १०, २०८१ २०:३४
x
×