कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

अस्ट्रेलियाका नेपालीलाई लाग्याे तीज

भाद्र ९, २०८१
अस्ट्रेलियाका नेपालीलाई लाग्याे तीज

Highlights

  • करिब डेढ दर्जन नेपाली कलाकार अस्ट्रेलियामा 

अस्ट्रेलिया — नेपाली महिलाहरूको महान् चाड तीज आउन करिब दुई साता बाँकी छ । तर अस्ट्रेलियामा भने तीजको लहर सुरू भइसकेको छ । तीजलाई अझ रमाइलो र सांगीतिक बनाउन करिब डेढ दर्जन कलाकार नेपालबाट आएपछि त अस्ट्रेलियाका हरेक सहरका नेपालीलाई तीजले छपक्कै छोपेको छ । 

अहिले सिड्नी, मेलबर्न, एडिलेड, ब्रिसबनलगायतका सहर मात्र हो । यहाँका ग्रामीण भेगमा रहेका नेपाली महिलामा तीजको लहर छाएको छ । हरेक दिनजसो हुने सांगीतिक माहोल सहितको तीज कार्यक्रम होस् वा साथीभाई मिलेर एकआपसमा मनाउने कार्यक्रम, अस्ट्रेलियाको तीज नेपालमा मनाइने भन्दा कम छैन ।

खासगरी नेपालबाट आफ्ना बालबच्चा भेट्न आउने अभिभावक र दोस्रो पुस्ताका बालबालिकाको सहभागिताले तीजलाई उल्लासमय बनाउने गरेको छ । तीजको कार्यक्रममा भेटिएकी चितवनकी अभिभावक धनमाया श्रेष्ठले नेपालमाभन्दा अस्ट्रेलियामा मनाइने तीज मौलिक लागेको बताइन् । नेपालमा मनाइने तीजमा अस्ट्रेलियाका महिलाले मनाउने तीजभन्दा धेरै आधुनिकता थपिएको उनले भनिन् ।

अस्ट्रेलियामा हुने विभिन्न तीज कार्यक्रमलाई सांगीतिक बनाउन गायिका कोमल वलीदेखि बद्री पंगेनी, चन्दा अर्यालदेखि अञ्जिला रेग्मीलगायतका कैयौं चर्चित र नयाँ गायक/गायिका अस्ट्रेलिया आइपुगेका छन् । एकातिर अस्ट्रेलियामा रहेका नेपालीसँग तीज मनाउन पाईने अर्कोतिर आफुलाई आम्दानी पनि हुने भएकाले पछिल्लो समयमा कलाकारको संख्या समेत ह्वात्तै बढेको हो । कलाकारसहितको कार्यक्रम भए पनि कतिपय आयोजकले कार्यक्रममा सहभागी हुन शुल्क नलिने भएकाले पनि सहभागी हुने नेपाली महिलाको संख्या बढी हुने गरेको छ ।

‘हामीले तीज कार्यक्रमलाई नि:शुल्क गर्नुको मुख्य उद्देश्य नै उहाँहरुको आफ्नो पर्व खुलेर मनाउन पाउनुहोस् भन्ने नै हो,’ गायक बद्री पंगेनी सहितका कलाकार ल्याएर भर्खरै एडिलेडमा कार्यक्रम सकेका नेपाली पाठशालाका कपिल पाण्डेले भने । यहाँका कतिपय स्थानमा हुने कार्यक्रममा त सहभागी चेलीलाई आयोजकले निःशुल्क दर खुवाउने चलन समेत छ ।

तीज नाचगान तथा खानपिन गर्ने मात्र नभएर आफ्नो कला संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यका साथ समेत मनाइने गरिएको आयोजक बताउँछन् । त्यसमाथि अस्ट्रेलियाका हरेक राज्यमा हजारौंको संख्यामा हुर्कंदै गरेका दोस्रो पुस्तालाई आफ्नो चाडपर्व र संस्कृति चिनाउन यस्ता कार्यक्रम प्रभावकारी देखिएको अभिभावकहरूको भनाइ छ ।

प्रकाशित : भाद्र ९, २०८१ २१:४६
x
×