कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

नेपालमा भेला हुँदै १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्थाका प्रतिनिधि

आश्विन ४, २०८१
नेपालमा भेला हुँदै १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्थाका प्रतिनिधि

काठमाडौँ — नेपालमा एसियाका विभिन्न १६ वटा देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायहरूको भेला हुने भएको छ । शुक्रबारदेखि काठमाडौंमा सुरु हुने एसियाली देशका सुरक्षण संस्थाहरूको सम्मेलन (एसिक कन्फरेन्स) मा ती देशका सरकारी निकाय सहभागी हुने भएका हुन् । ३६ औं एसिक सम्मेलन नेपालले ३० वर्षपछि गर्न लागेको हो । 

निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१औं वार्षिकोत्सव एवं एसिक सम्मेलनको एकैपटक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलन आगामी सोमबारसम्म सञ्चालन हुनेछ ।

सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण निकायहरूले आ–आफ्ना देशको अनुभवसहित यस क्षेत्रका समसामयिक विषयमा सरोकारवालाबीच छलफल गर्ने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जनाए । यसपटक सम्मेलनमा नवप्रवर्तनको विषयलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । ‘आफ्नो नयाँ सोचलाई समेत धितोमा राखेर कर्जा लिन सकिन्छ भन्ने सन्देश दिने कोषको प्रयास छ,’ उनले भने ।

सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ मुलुकका सुरक्षण संस्थाको सहभागिता रहनेछ । सम्मेलनका छलफल सत्रलाई नेपालमा बहस गर्ने परम्परागत शैलीमा प्रदर्शन गर्ने कोषको तयारी छ ।


प्रकाशित : आश्विन ४, २०८१ ०६:२३
×