कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

थप ३० वस्तुमा भन्साररहित सुविधा दिन अमेरिकासँग आग्रह

आश्विन १, २०८१
थप ३० वस्तुमा भन्साररहित सुविधा दिन अमेरिकासँग आग्रह

Highlights

  • नेपालको प्रस्ताव- ‘७७ वस्तुको भन्साररहित बजार पहुँच सुविधालाई पनि निरन्तरता’

काठमाडौँ — नेपालले थप ३० वस्तुमा भन्साररहित बजार पहुँच सुविधा दिन अमेरिकासँग प्रस्ताव गरेको छ । नेपाल–अमेरिकाबीचको व्यापार तथ लगानीसम्बन्धी सम्झौता परिषद् (टिफा) बैठकमा नेपालले यस्तो प्रस्ताव गरेको हो ।

नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीले नेतृत्व गरेको बैठकमा अमेरिकाले ७७ वस्तुमा उपलब्ध गराउँदै आएको भन्सार सुविधालाई निरन्तरता दिन आग्रह गरेको छ । ७७ बाहेक थप ३० वस्तुमा पनि सुविधा दिन माग गरिएको छ ।

०७२ वैशाखमा नेपालमा भूकम्प गएपछि अमेरिकाले ७७ वस्तुलाई भन्साररहित बजार पहुँच सुविधा दिँदै आएको छ । नयाँ देश केन्द्रित ग्राह्यता कार्यक्रम स्थापित गरी अमेरिकाले हार्मोनाइज्ड ट्यारिफ सेड्युअलअन्तर्गतका ७७ वस्तुमा समेटिएका नेपाली वस्तुलाई भन्सार छुट सुविधा दिएको छ । यसअन्तर्गत हस्तकला, सल, भ्रमण सामग्रीलगायत वस्तु पर्छन् । यी ७७ वस्तुमा दिइएको सुविधा सन् २०२५ डिसेम्बरमा सकिँदै छ । त्यही सुविधालाई यथावत् राख्न नेपालले अमेरिकासमक्ष प्रस्ताव गरेको हो ।

‘बैठकमा पहिलो एजेन्डा भन्साररहित बजार पहुँचको सुविधा थियो । अमेरिकाले दिँदै आएको सुविधा २०२५ डिसेम्बर ३० मा सकिँदै छ, सुविधा थप गरिदिन आग्रह गरेका छौं । दोस्रो एजेन्डा ७७ वस्तुबाहेक थप ३० वस्तु (जुत्ता, गार्मेन्टलगायत) मा भन्सार सुविधा दिन प्रस्ताव गरेका छौं,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले भने, ‘नेपालको प्रस्तावमा अमेरिकी अधिकारीले ‘लबिइङ’ र सहजीकरण गरिदिने प्रतिबद्धता जनाएका छन ।’

भन्सार सुविधा दिने वा हटाउने विषयमा अमेरिकी संसद्ले निर्णय गर्छ । अमेरिकी पक्षले सुविधाका लागि नेपालले विभिन्न तहबाट अमेरिकी संसद्मा ‘लबिइङ’ गरिदिनसमेत आग्रह गरेको छ । ‘दूतावासमार्फत संसद्मा ‘लबिइङ’ गर्न सकिन्छ,’ अमेरिकी अधिकारीको भनाइ उद्धृत गर्दै अधिकारीले भने, ‘त्यस क्रममा अमेरिकी प्रतिनिधिहरूले सिफारिस र सहजीकरण गरिदिने बताएका छन् ।’

अमेरिकाले सुविधा दिएका ७७ वस्तुको निर्यात करोडमा छ । सुरुका वर्ष ०७२/७३ मा सुविधा पाएका ७७ वस्तुको निर्यात ८७ करोड ४४ लाख बराबरको भएको थियो । त्यसपछि भने यी वस्तुको निर्यात निरन्तर घटेर ०७६/७७ मा ३५ करोड १५ लाख रुपैयाँमा सीमित भयो । त्यसपछि फेरि बढ्न थालेको निर्यात ०८०/८१ मा ७४ करोड ६३ लाख रुपैयाँमा पुगेको छ ।

सुविधा पाएका ७७ वस्तुबाट निर्यात बढ्ने सम्भावना भए पनि उत्पादनकै कारण समस्या भएको छ । मागअनुसार करिब ०.०५ प्रतिशत पनि निर्यात गर्न नसकिएको पूर्ववाणिज्य सहसचिव रवि सैंजू बताउँछन् । ‘गत आर्थिक वर्षमा अमेरिकामा १७ अर्ब ३१ करोडको निर्यात भयो । सुविधा पाएको ७७ वस्तुको निर्यात ७४ करोड ६३ लाख थियो,’ उनले भने, ‘सुविधा पाएको वस्तुबाट अझै निर्यात बढाउन सकिन्छ । तर त्यसको सदुपयोग हुन सकेन । साना उद्यमीका लागि अमेरिकामा बजार छ । तर निर्यात कसरी गर्ने भनेर सिकाउनै सकेनौं ।’ सरकार र निजी क्षेत्रबाट पनि सहयोग हुन नसकेको उनको भनाइ छ ।

अमेरिकाले दिएको सुविधा साना उद्यमीले उत्पादन गर्ने वस्तुमा छ । तर उत्पादनले बजार पहुँच पाएका छैनन् । सोमबार भएको टिफा बैठकमा भने सुविधालाई निरन्तरता दिन माग गरिएको हो । बैठकमा प्राविधिक सहायता विस्तार गरिदिन पनि नेपालले आग्रह गरेको छ । निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न पनि एजेन्डा राखिएको प्रवक्ता अधिकारीले जनाए । प्राविधिक सहायता र क्षमता अभिवृद्धिमा पनि अमेरिकी प्रतिनिधिले सकारात्मक सहयोग गर्ने आश्वासन दिएको मन्त्रालयले बताएको छ ।

बैठकमा अमेरिकाका तर्फबाट दक्षिण तथा मध्य एसियाका लागि सहायक अमेरिकी व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चले अमेरिकी टोलीको नेतृत्व गरेका थिए । नेपालका लागि अमेरिकी दूतावासले पनि आपसी व्यापार वृद्धि र नेपालको अर्थतन्त्रलाई सशक्त बनाउन निरन्तर सहकार्य गर्दै आएको जनाएको छ । दूतावासले नेपालको आर्थिक वृद्धिको समर्थन गर्दै आपसी समृद्धि प्रमुख प्राथमिकता राखेको जनाएको छ । यो टिफाको सातौं बैठक हो ।

प्रकाशित : आश्विन १, २०८१ ०६:५४
x
×