कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

काठमाडौं उपत्यकामा असोज १० देखि मेलम्चीको पानी

भाद्र ३०, २०८१
काठमाडौं उपत्यकामा असोज १० देखि मेलम्चीको पानी

Highlights

  • यसअघि १७ करोड लिटर ल्याइएकोमा अब मेलम्ची खोलाबाट दैनिक २० करोड लिटर पानी ल्याइँदै
  • बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गत असार १० मा पानी ल्याउन बन्द गरिएको थियो
  • मनसुन थप सक्रिय नभए र प्राविधिक रूपमा समस्या आइनपरे असोज १० देखि पानी वितरण गर्न समस्या छैन, रत्न लामिछाने : कार्यकारी निर्देशक, मेलम्ची खानेपानी विकास समिति

काठमाडौँ — काठमाडौं उपत्यकामा असोज १० देखि मेलम्चीको पानी वितरण गरिने भएको छ । बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गत असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो ।

उपत्यकामा पानीको माग दैनिक ४७ करोड लिटर छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक करिब २० करोड लिटर पानी ल्याउन लागिएको हो । असार १० अघिसम्म मेलम्चीबाट १७ करोड ल्याइएको थियो र अन्य स्रोतबाट समेत गरी करिब २३ करोड लिटर पानी वितरण हुँदै आएको थियो ।

मेलम्चीको पानी बन्द भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको छ । अहिले सुन्दरीजलबाट मात्र करिब ६ करोड लिटर पानी ल्याइएको छ । बाँकी पानी आन्तरिक स्रोतहरूबाट व्यवस्थापन गरिएको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जनाए ।

‘पानीको उपलब्धता हेरेर कतै दिन बिराएर, कतै आवश्यकताअनुसार वितरण गरिएको छ,’ उनले भने, ‘पानी एकदमै कम छ, जसले गर्दा नियमित रूपमा वितरण गर्न सकिएको छैन, मेलम्चीको पानी आउन थालेपछि अहिलेको वितरण तालिका परिवर्तन गर्छौं ।’ मेलम्चीको पानी आएपछि नियमित वितरणमा समस्या नहुने उनको भनाइ छ ।

०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौं उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन । काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा ८ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी छ । दोस्रो र तेस्रो चरणमा यांग्री र लार्के खोलाबाट थप १७/१७ करोड लिटर पानी ल्याइनेछ । तीन चरण गरेर दैनिक ५१ करोड लिटर पानी काठमाडौं ल्याउने भनिए पनि निर्माणको काम सुरु भएको छैन ।

मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा १ हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरिसकिएको छ । स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानीपोखरी, मन्डिखाटार र चाबहिल क्षेत्रमा ७ सय ६० किमिमध्ये करिब ७ सय किमि पाइप बिछ्याइएको मेलम्ची उपआयोजना–२ ले जनाएको छ । आगामी पुस दोस्रो सातासम्म सबै पाइपलाइन विस्तार गरेर उपत्यकामा नयाँ नेटवर्कबाट पानी वितरण गर्ने योजना रहेको मेलम्ची उपआयोजना–२ ले जनाएको छ ।

मनसुन फेरि सक्रिय नभए र कुनै प्राविधिक समस्या आइनपरे असोज १० देखि पानी वितरणमा समस्या नहुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए । ‘अहिले नै वितरण गर्न पनि प्राविधिक रूपमा तयार थियौं,’ लामिछानेले भने, ‘तर मनसुन नरोकिएकाले ढिलो गरिएको हो ।’

स्थानीय सप्लायर्सले आफ्नो रकम भुक्तानी नदिएसम्म काठमाडौं पानी लग्न नदिने अडान लिँदै आएका छन् । सुरुङ निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनी सीएमसीले मेलम्ची खानेपानी आयोजनासँगको सम्झौता तोडेको ६ वर्ष बिते पनि स्थानीय सप्लायर्स र कामदारले २७ करोडभन्दा बढी रकम भुक्तानी पाउन सकेका छैनन् ।

इटालियन कम्पनीले सन् २०१८ मा मेलम्चीको इन्टेक र बाँध बनाउने ठेक्का एकतर्फी रूपमा तोडेको थियो । निर्माणका क्रममा स्थानीय व्यवसायीसँग गरिएको सम्झौताबमोजिम खरिद गरेको निर्माण सामग्री र ढुवानी सेवाबापतको रकम बाँकी छाडी सीएमसी भागेको थियो । लामिछाने भन्छन्, ‘सीएमसी भागेर गएपछि पैसा नपाएकाले पानी पठाउन नदिने कुरा आएको हो, भुक्तानी दिन मन्त्रिपरिषद्बाट निर्णय भई अर्थ मन्त्रालयसँग कुरा गर्दा कानुनी रूपमा अप्ठ्यारो हुने देखियो । अन्य विकल्प खोज्ने काम भइरहेको छ ।’ यो समस्या टुंग्याएर काठमाडौंमा पानी ल्याउने तयारी भइरहेको उनको दाबी छ ।

पानी ल्याउने सुरुङ भने खाली गरिएको छैन । ‘सुरुङ खाली गरेको भए मुहानबाट पानी पठाएर यता आउन समय लाग्थ्यो,’ लामिछानेले भने, ‘यस पटक त्यो गरिएन, त्यसैले मुहानबाट पानी पठाएपछि काठमाडौं आउन समय लाग्दैन ।’ अहिले खोलाबाट बाटो नभएकाले हेलम्बु गाउँपालिकाको क्युलबाट सर्कथली हुँदै प्राविधिक टोलीले मुहान पुगेर पानी पठाउने लामिछानेले सुनाए । ‘मनसुन कम भएपछि पानी ल्याउन समस्या छैन,’ उनले भने, ‘उपत्यकामा पानीको समस्या ठूलो छ, पानी ल्याउनेमा ढिलाइ गर्नु हुँदैन ।’

मुहानसम्म पुग्ने अस्थायी रूपमा बनाएको बाटो बाढीले बगाए पनि बनाइएको छैन । बाटो बनाउन बर्खाअघि नै एस्क्काभेटर लगेर मुहान नजिकैको सुरक्षित ठाउँमा राखिएको लामिछानेले बताए । ‘मनसुन कम भएपछि फेरि खोलाबाटै अस्थायी रूपमा बाटो बनाएर मुहानसम्म पुर्‍याउँछौं,’ उनले भने ।

प्रकाशित : भाद्र ३०, २०८१ २२:४७
x
×