कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

सुनका गहना तोलाकै पौने २ लाख

भाद्र २९, २०८१
सुनका गहना तोलाकै पौने २ लाख

काठमाडौँ — सुनको मूल्यले एकपछि अर्को गरी नयाँ–नयाँ कीर्तिमान बनाउन थालेको छ । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) ले सेप्टेम्बरदेखि ब्याजदर घटाउने चर्चासँगै त्यसको प्रत्यक्ष प्रभाव सुनमा परेको हो । ब्याजदर घट्ने हल्लाले मुनाफा कमाउन अन्तर्राष्ट्रिय लगानीकर्ताले सुनमा लगानी बढाएका छन् । यसले एकातिर सुनको माग बढाएको छ भने मूल्यले पनि कीर्तिमान बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रतितोला मूल्य १ लाख ५६ हजार ३ सय रुपैयाँ तोकेको छ । बिहीबारको तुलनामा यो प्रतितोला ३ हजारले बढी हो । महासंघले बिहीबार तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँ मूल्य तोकेको थियो । शुक्रबारको मूल्य अहिलेसम्मकै उच्च हो । तयारी गहनाको मूल्य भने कम्तीमा पौने २ लाख पुगेको छ ।

‘मूल्य बढ्नुको मुख्य कारण फेडरल रिजर्भ बैंकको ब्याजदर घटाउने चर्चा हो । ब्याजदर घट्ने विषयले विश्वका शक्तिसम्पन्न मुलुकले सुनको मौज्दात बढाउन थाले,’ महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले भने, ‘यही कारण अन्तर्राष्ट्रिय बजारमा एकै दिन मूल्य प्रतिऔंस ४९ अमेरिकी डलरले बढेको छ । त्यसको प्रभाव नेपालमा पनि परेको छ ।’ महासंघले बिहीबार मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २५ सय १९ डलर थियो । शुक्रबार बिहान भने प्रतिऔंस २५ सय ७० रुपैयाँ पुगेको थियो ।

यसै दिन राति पौने १० बजेसम्म युरोपको बजार खुल्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर प्रतिऔंस २५ सय ८० डलर पुगेको थियो । त्यति बेला न्युयोर्क, जापान र सिंगापुरको बजार खुलिसकेको थिएन । भारतीय बजारले पनि मूल्यमा केही प्रभाव पार्छ । यसरी हेर्दा मूल्य अझै बढ्ने सम्भावना देखिएको वज्राचार्यले बताए ।

मुख्यतः अमेरिकी बजारले सुनको मूल्य निर्धारण गर्छ । भारतीय बजारले पनि यसमा प्रभुत्व जमाउँदै आएको छ । ‘यी सबै बजारको मूल्यलाई विश्लेषण गरेर नेपालमा मूल्य तोकिन्छ,’ प्रथम उपाध्यक्ष वज्राचार्यले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा मूल्य बढ्नै नै देखिन्छ । तर बजार अझै अस्थिर नै छ ।’

साताको तेस्रो दिन अर्थात् मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ थियो । चौथो दिन बुधबार भने नयाँ कीर्तिमानी बनेको महासंघका महासचिव किरणभाइ वज्राचार्य बताउँछन् । यस दिन महासंघले प्रतितोला मूल्य १ लाख ५३ हजार ४ सय रुपैयाँ तोकेको थियो । बिहीबार भने मूल्यमा सामान्य गिरावट आयो । यस दिन प्रतितोला १ सय रुपैयाँ घटेर १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भयो । शुक्रबार भने प्रतितोला ३ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान बन्यो । ‘रुस–युक्रेन युद्ध, कच्चा तेलको मूल्यमा भएको वृद्धि र डलरको विनिमय दरमा देखिएको अस्थिरता सुनको मूल्य बढ्नुका कारण हुन्,’ महासचिव वज्रचार्यले भने ।

महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य र त्यसमा थप २० प्रतिशत भन्सार शुल्क जोड्छ । बैंक र गहना व्यवसायीको नाफा शीर्षकमा १ प्रतिशत छुट्याइन्छ । त्यसपछि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । तर उक्त मूल्यमा सर्वसाधारणले गहना पाउँदैनन् । गहनामा व्यवसायीले ज्याला र जर्तीका नाममा थप १२ देखि १८ प्रतिशत शुल्क जोड्छन् ।

औसतमा १२ प्रतिशतकै कुरा गर्दा शुक्रबार गहनाको उपभोक्ता मूल्य १ लाख ७५ हजार रुपैयाँभन्दा बढी पर्छ । शनिबार सार्वजनिक बिदा भएकाले सर्वसाधारणले यही मूल्यमा गहना किन्नुपर्छ ।

आखिर किन बढ्दै छ मूल्य ? महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य भन्छन्, ‘ब्याजदर घट्ने चर्चासँगै मूल्य बढ्नुको प्रमुख कारण भूराजनीतिक द्वन्द्व पनि हो । चीन र अमेरिकाबीचको व्यापारिक युद्ध, युक्रेन र रसिया अनि इजरायल र प्यालेस्टाइनबीचको युद्ध पनि कारक हुन् ।’ यसका अतिरिक्त विश्व अर्थतन्त्रमा देखिएको शिथिलताले रोजगारी गुमेको छ । त्यही कारण विश्वका केही मुलुकले पनि सुन सञ्चय गर्न थालेका छन् ।

पछिल्लो समय चीनले पनि सुनको सञ्चय बढाएको छ । ‘विश्व अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने चीन सरकारले डलरको विकल्पमा सुनको मौज्दात बढाएको छ । त्यसको प्रभाव पनि मूल्यमा परेको छ,’ पूर्वअध्यक्ष शाक्यले भने । यीबाहेक केही आन्तरिक कारणले पनि मूल्य बढेको व्यवसायी बताउँछन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटबाट भन्सार दर थप ५ प्रतिशत बढाएपछि सुनको मूल्य केही महँगो भएको छ । यसअघि सुन आयातमा १५ प्रतिशत भन्सार लाग्थ्यो । अब २० प्रतिशत बनाइएको छ । यसरी सुनको मूल्यले बजार तातेपछि गहना बजार सुनसान रहेको व्यवसायी बताउँछन् । सुनको भाउ उकालो लागेपछि सुन किन्नेभन्दा पनि बेच्न आउने सर्वसाधारण बढेका छन् ।

‘मूल्यमा भएको उत्तारचढावले तीजमा भने जस्तो सुनको व्यापार भएन । दसैं–तिहार पनि आउँदै छन्, यही अवस्था रहे गहना बजार ध्वस्त हुन्छ,’ उपाध्यक्ष वज्राचार्यले भने । अहिले कोटा प्रणालीअनुसार वाणिज्य बैंकले दिनको २० किलो सुन बिक्री गर्न पाउने व्यवस्था छ । गत आर्थिक वर्षमा २३ अर्ब ६५ करोडको सुन आयात भएको भन्सार विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको साउनमा १ अर्ब ४२ करोडको सुन आयात भएको विभागले जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०८१ ०५:१४
×