कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

सहकारीको रकम अपचलन गरी विदेश फरारको खोजबिन गर्न संसदीय समितिको निर्देशन

भाद्र २८, २०८१
सहकारीको रकम अपचलन गरी विदेश फरारको खोजबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ — सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २५ जनाको खोजबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले विदेशमा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई), भरत महर्जनसहितका २५ जनाको खोजबिनमा आवश्यक जनशक्ति परिचालन गरी अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो ।

बैठकको बारेमा जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले आजको पहिलो बैठकमा प्रतिवेदनलाई अन्तिम रुप दिनेबारेमा महत्वपूर्ण छलफल गरेर छलफल प्रक्रियाको कार्यसूची, योजना, वित्तीय विश्लेषणको बारेमा जानकारी, त्यसउपर छलफल, प्रस्तुत तथ्य तथ्यांकमा छलफल र प्रस्तुतीकरणको शैली ढाँचामा गर्ने छलफललाई व्यवस्थित गर्ने निर्णय भएको बताए ।

उनले दोस्रो बैठकमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी नायव महानिरीक्षक जनक भट्टराईलाई आमन्त्रित गरिएको र विदेशमा फरार रहेका जीबी राई, भरत महर्जनसहितका २५ जना व्यक्तिहरुको बारेमा सरकारले खोजबिनका सन्दर्भमा के-के प्रगति हासिल भयो भनेर जानकारी लिएको बताए ।

उनले गृह मन्त्रालयले पहल गरेर नेपाल प्रहरीका दुई जना अधिकृतलाई मलेसिया पठाएको र त्यहाँ आवश्यक समन्वय र कोसिस गरेको जानकारी पाएको पनि बताए । उनले राजनीतिक नेतृत्व तहमा कुरा भइसकेको विषय भएकाले प्रहरी र इन्टरपोलको माध्यमबाट गरिने विषयभन्दा फरक स्थितिमा रहेको भन्ने जानकारी गृह मन्त्रालयले दिएको बताए ।

विदेश फरार हुनेमा २५ जना रहेकोमा आज पुनः दुई जनालाई थप गरी (सूर्यदर्शन सहकारीको लेखा प्रमुख बुद्धि गुरुङ, आर्जन वचत तथा ऋण सहकारीको फरार सचिव विदेशमा रहेको भनिएको दीपक थापा) गृह मन्त्रालयलाई पत्राचार गरिएको बताए ।

प्रकाशित : भाद्र २८, २०८१ १९:१९
×