कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पर्यटनमन्त्रीद्वारा दिल्लीमा साइडलाइन वार्ता : नेपाल-भारतका विभिन्न शहरबीच हवाई सेवा सञ्चालन गर्न पहल

भाद्र २७, २०८१
पर्यटनमन्त्रीद्वारा दिल्लीमा साइडलाइन वार्ता : नेपाल-भारतका विभिन्न शहरबीच हवाई सेवा सञ्चालन गर्न पहल

काठमाडौँ — भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गरेका छन् ।

भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ( आईकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटघाटका क्रममा बिहीबार मन्त्री पाण्डेले भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँग छलफल गरेका छन् ।

भेटका क्रममा मन्त्री पाण्डेले नेपालमा हाल थप सञ्चालनमा आएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटा अन्तर्राष्ट्रिय विमान सञ्चलनमा रहेकाले नेपाल र भारतका विभिन्न शहरबीच सिधा उडान तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट सिधै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न आग्रह गरे ।

मन्त्री पाण्डेले पोखरा नेपालको पर्यटकीय राजधानीका रुपमा विकसित भइरहेको र विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेपछि अहिले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन गर्न जाने थालेको स्मरण भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न शहरबाट सिधा उडान भर्न भारतीय उड्डयन कम्पनीहरुलाई प्रोत्साहित गनुपर्ने ध्यानाकर्षण गराए ।

मन्त्री पाण्डेले बुधबार नै भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग नयाँ दिल्लीमा भेट गरेका थिए । उक्त भेटमा समेत मन्त्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरुबाट सिधा हवाई उडान गर्न भारतीय पक्षसँग आग्रह गरेका थिए ।

सो क्रममा भारतीय संस्कृति तथा पर्यटनमन्त्री शिखावतले नेपाल र भारतबीचको प्रभावकारी अपासी सम्पर्क स्थापना तथा सहज आवतजावतको माध्यमबाट दुई देशबीचको संस्कृति तथा सभ्यतागत सम्पर्कलाई थप मजबुत बनाउन सकिने कुरामा जोड दिएका थिए ।

भेटमा विगतमा दुई देशका संस्कृति तथा पर्यटनमन्त्रीहरुबीच सांस्कृतिक सम्बन्ध मजबुत बनाउने विषयमा एक समझदारी पत्रमा हस्ताक्षर भएको र अहिले त्यसको म्याद सकिएकाले त्यसलाई थप परिमार्जन सहित पुन: नवीकरण गर्ने विषयमा छलफल भएको थियो ।

भेटका क्रममा मन्त्री पाण्डेले नेपाल र भारतबीच रहेका नाट्य प्रतिष्ठान कला प्रतिष्ठान जस्ता निकायबीच सांस्कृतिक तथा प्राज्ञिक ज्ञान आदानप्रदान गर्ने जस्ता विषयमा पनि स्मरण गराएका थिए ।

भारत र नेपालबीच मानवीय तथा सांस्कृतिक विषयसँग सम्बन्धित स्रोतहरु कतै न कतै एक अर्कासँग जोडिएको हुँदा ती विषयमा थप खोज अनुसन्धान गरी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा दुबै देशका संस्कृतिमन्त्रीबीच छलफल भएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

मन्त्री पाण्डेले बिहीबार नै दक्षिण कोरियाका नागरिक उड्डयन, भूमि, पूर्वाधार उपमन्त्री जो जोङओनसँग पनि भेटवार्ता गरेका छन् । भेटमा नेपाल वायुसेवा निगमका विमानले सिधै कोरियामा उडान गर्ने लगायतका विषयमा छलफल भएको थियो । मन्त्री पाण्डेले भियतनामका यातायाता उपमन्त्री ली आन ट्वानसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए ।

मन्त्री पाण्डेले जापानका भूमि, पूर्वाधार, यातायात तथा पर्यटन राज्यमन्त्री कोनोसुकी कोकुबासँग पनि भेटवार्ता गरेका थिए। भेटका अवसरमा दुई देशबीच नागरिक उड्डयन, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र मानवीय संसाधन विकास लगायतका विषयमा थप सहयोग अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

प्रकाशित : भाद्र २७, २०८१ १५:२८
×