कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

कुट्की खोज्न जंगल लागेपछि रित्तियो गाउँ

भाद्र २७, २०८१
कुट्की खोज्न जंगल लागेपछि रित्तियो गाउँ

ताप्लेजुङ — कोरोना संक्रमणपछि जंगलको आम्दानी लिन नपाएका फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका बासिन्दा कुट्की खोज्न जंगल पसेका छन् । टिप्ताला सामुदायिक वन उपभोक्ता समितिले एक महिनाका लागि कुट्की संकलन खुला गरेपछि खाने बस्ने बन्दोबस्तीका सामानसहित कुटोकोदालो बोकेर हिमाली क्षेत्रको जंगलमा पसेका हुन् । कुट्की हिउँले ढाकिरहने क्षेत्रमा बढी पाइन्छ । 

जनही दुई सय रुपैयाँ शुल्क लिएर कुट्की संकलन खुला गरिएको सामुदायिक वन उपभोक्ता समूहका सचिव अङचुक शेर्पाले बताए । ‘गाउँलेहरू चार–पाँच वर्षदेखि जंगल पस्न पाएका थिएनन्,’ उनले भने, ‘यो वर्ष संकलन त खुलाएका छौं । तर कुट्की पनि प्रशस्त छैन भन्दै छन्, मूल्य पनि छैन ।’ अहिले कुट्की बजार मूल्य प्रतिकिलो एक सय रुपैयाँ मात्रै रहेको शेर्पाको भनाइ छ । कोरोना संक्रमणअघिसम्म वन प्रवेश शुल्क तीन सय रुपैयाँ थियो । कोरोना संक्रमणपछि पनि चीनले नाका नखोलेका कारण स्थानीयले संकलन गर्न पाएका थिएनन् ।

कुट्की निकाल्दा निकाल्दै बिक्री गर्न पाए राम्रो हुने स्थानीय बताउँछन् । घरमा ल्याएर राख्नुपरे सुकेर ५० प्रतिशत जति तौल घट्छ । तौल घटेपछि बिक्री गर्दा भने फाइदा नहुने उनीहरूको भनाइ छ । ‘पहिला चिनियाँ व्यापारी टिप्दाटिप्दै जंगलमै आएर लान्थे,’ ओलाङ्चुङगोलाका नुपु शेर्पाले भने, ‘खै यो वर्ष लाने कुरा गरेका छैनन् ।’

चिनियाँ आएर लैजाने आशमा संकलनका लागि भने गाउँभरिका मानिस गएको नुपुले जनाए । ‘गाउँमा त अहिले बुढापाका मात्रै छौं, तर पैसाचाहिँ कत्तिको आउँछ भन्ने अन्योल नै छ ।’ चीन जोड्ने ओलाङ्चुङगोलाको टिप्ताला भन्ज्याङ नाका खुले पनि चीनले नेपालीलाई केही दिन नआउनू भनेर खबर पठाएको छ ।

समुद्री सहतबाट ३५ सयदेखि ५ हजार मिटर उचाइसम्म पाइने जडीबुटी कुट्की भुइँभित्रबाट खनेर निकाल्नुपर्छ । ४ हजारदेखि ४५ सय मिटर क्षेत्रमा राम्रो खालको कुट्की पाइने स्थानीय बताउँछन् । ‘धेरै वर्ष संकलन नगर्दा प्रशस्त होला भन्ने लागेको थियो । तर खन्नेहरूले पातलो रहेछ भनिरहेका छन्,’ सचिव शेर्पाले भने । सामुदायिक वनका अध्यक्षको नेतृत्वमा गाउँलेहरू जंगल पसेको पनि उनको भनाइ छ ।

नेपाल सरकारले हिमालय क्षेत्रमा पाइने ३० महत्त्वपूर्ण र अनुसन्धान गर्नुपर्ने जडीबुटीको सूचीमा कुट्कीलाई राखेको छ । हिमालय क्षेत्रमा पाइने चिराइतो, यार्सागुम्बु, कुट्कीलगायत जडीबुटी औषधीय वस्तु निर्माणका लागि विदेश निर्यात हुने गरेका छन् ।

स्थानीयले रुघाखोकी लाग्दा, ज्वरो आउँदा र आउँमासी पर्दा घरेलु औषधीका रूपमा कुट्की प्रयोग गर्दै आएका छन् । नेपालसहित भारत, चीन, भुटान र पाकिस्तानमा पाइने यस्ता जडीबुटीको उपयोगिताका विषयमा वनस्पतिविद्ले अध्ययन गर्ने बताएका थिए । ०७८ सालमा खुम्बु क्षेत्रमा नमुना संकलन गरेर यसको फैलावट, टिस्यु कल्चरलगायत विषयमा अध्ययन गर्ने उनीहरूको भनाइ थियो ।

जमिनभित्र फैलने कुट्की उपयुक्त स्थानमा जमीन बाहिरसमेत फैलने भएकाले वनस्पतिविद्ले यसलाई ‘गुरिल्ला वनस्पति’ भन्ने गरेका छन् । चीनसँगको नाका खुलेपछि थोरै मात्रामा चिराइतो र पहिला रहेको केही कुट्की निर्यात भए पनि अहिले बिक्री नभएको फक्ताङलुङ–७ का निवर्तमान वडाध्यक्ष छेतेन शेर्पा भोटेले जनाए ।

‘गाउँमा अरु आम्दानीको स्रोत छैन, तै एक/दुई पैसा भए पनि हुन्छ कि भनेर गाउँले सबै जंगल पसेका छन्,’ छेतेनले भने, ‘एक जनाले एक दिनमा १० देखि १५ किलोसम्म संकलन गर्न सक्छन् ।’ कुनै ठाउँमा झ्याप्पै भेटिने र कतै ठप्पै नहुने हुन्छ । त्रिपालसहित ओढ्ने, ओछ्याउने लिएर जाने स्थानीय कुट्की राम्रै भेटे लामै समय बस्छन् ।

अहिले तत्काललाई एक महिना मात्रै छाड्ने र मूल्य बढेपछि फेरि खुलाउने सचिव अङचुकको भनाइ छ । मंसिरसम्म यसलाई संकलन गर्न सकिन्छ । यो क्षेत्रमा विदेशी पर्यटक नआउने भएकाले जुन समय खुलाए पनि स्थानीय खाली हुने छेतेन बताउँछन् ।

प्रकाशित : भाद्र २७, २०८१ ०६:०३
×